Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ढुकढुकीमा अम्बर - Himalkhabar.com

टिप्पणीबुधबार, आषाढ १, २०७३

ढुकढुकीमा अम्बर

शेखर खरेल

तस्वीर: पलेटी

तस्वीर: पलेटी

नेपाली जाति जहाँ रहून्, ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ बज्दा देब्रे छातीमा हत्केला राखेर अम्बर गुरुङलाई छाम्नेछन्।

२५ जेठ २०७३ को एकाबिहानै नेपाली संगीत फाँटमा एउटा वटवृक्ष ढल्यो। आधा शताब्दीभन्दा लामो समयदेखि नेपाली गीत–संगीतको छहारी बनेको त्यो विशाल वृक्ष अब नरहँदा महफिलमा अकस्मात् सितारको तार चुँडिएपछिको जस्तो सन्नाटा अनुभूत गरिंदैछ। १५ फागुन १९९४ मा पश्चिमी बङ्गालको दार्जीलिङ पहाडमा अम्बर गुरुङको नामबाट अंकुराएको बिरुवा कालक्रममा यसरी झाँङ्गियो र फैलियो; जसका लागि भूगोल र जात–जातिको सीमा गौण बनिदियो। बङ्गालकै कविगुरु रवीन्द्रनाथ टेगोर जस्तै अम्बर गुरुङले पनि सीमा वारि–पारि सर्वत्र आलोक फैलाए।

सैनिक परिवारमा जन्मिएका अम्बर संगीततर्फ तानिए। २०४४ मा प्रकाशित ‘त्रिवेणीका लहरहरू’ मा उनले भनेका छन्, “म प्राकृतिक रूपले नै प्रेरित थिएँ। संगीत क्षेत्रमा कोही थिएनन्। मैले पिताजीले कुनै दिन गुन्गुनाएको वा सुसेलेको सम्म पनि सुनेको छैन। त्यस्तो बाबुको छोरो म कसरी संगीत भनेपछि मरिमेट्ने भएँ मलाई नै आश्चर्य लाग्छ। यसरी म आफ्नो परम्परालाई वा भनौं मेरा पुर्खाहरूले चलाइआएका सिलसिलालाई तोड्न पुगें।”

अम्बरको सामर्थ्य
अम्बर दार्जीलिङमा उदाउँदा उदाउँदै गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरुणा लामा, रनजीत गजमेर आदि नेपाली संगीतका मानक स्रष्टाहरूका गुरु बनिसकेका थिए। सन् ५० को दशकमा दार्जीलिङमा उनकै नेतृत्वमा कला एकेडेमी स्थापना भयो, जुन नेपाली सुगम संगीतमा स्वर्ण युगको प्रादुर्भाव थियो। सन् ६० को शुरूआतबाट अम्बर पश्चिम बङ्गाल सरकारको लोक–मनोरञ्जन विभागमा रहेर नेपाली गीत–संगीतको प्रवर्द्धनमा सक्रिय भए।

सन् १९६१ मा कोलकातामा रेकर्ड भएको नेपाली जातिको अस्तित्व, चिनारी र प्रवास पीडाको भाव बोकेको ‘नौलाख तारा उदाए’ गीतबाट अम्बरको संगीत र गायनले भौगोलिक सीमा नाघ्यो। अगमसिंह गिरीको त्यही रचना नै अम्बरलाई दार्जीलिङबाट पुर्ख्यौली थलो नेपालतिर डोर्‍याउने कारक पनि बन्यो। अम्बरकै स्वरसंगीतको अर्को गीत ‘सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेऊ’ को लोकप्रियताबाट उनी भारतीय संस्थापनाका लागि ‘खतरा’ बने भने यता पुर्ख्यौली थलोका लागि एक प्रतिनायक। यी दुई गीत अम्बरका जीवनका त्यस्ता घुम्ती थिए, जसका कारण उनी नेपालका राजा र जनता दुवैका मनमा पसे।

अम्बरको सामर्थ्य बुझेका राजा महेन्द्रले उनलाई २०२५ सालमा बोलाएर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विज्ञको नोकरी दिएका थिए। अम्बरको नेपाल आगमनबारेको चर्चामा सधैं छुट्ने गरेको एउटा पाटो के छ भने, उनलेदरबारमा राजारानीलाई मात्र गीतहरू सुनाएका थिएनन्, जनस्तरका कार्यक्रमहरुमा संगीतप्रेमी नेपाली जमातसँग पनि एकाकार भएका थिए। रूपरेखाका सम्पादक उत्तम कुँवरले ‘अम्बर गुरुङ रात्रि’ आयोजना गरेर उनलाई जनस्तरमा सार्वजनिक गराएका थिए।

आफ्नो संस्मरणात्मक कृति ‘कहाँ गए ती दिनहरू’ मा अम्बरले लेखेका छन्– ‘वास्तवमा उत्तम कुँवर नभएको भए शायद म काठमाडौं आउने नै थिइनँ। पछि यहाँ आएर बसोबास गर्दा प्रज्ञा प्रतिष्ठानमा काम दिलाउने स्वर्गीय श्री ५ महेन्द्र भए पनि त्यसको मूल कारक उत्तम कुँवर नै थियो।’

उतिबेलै अम्बरको ख्याति कतिसम्म आकाशिएको थियो भने, उत्तम कुँवरले आयोजना गरेको कन्सर्ट लगत्तै प्रशंसकहरूको मागमा उनलाई त्रिभुवन विश्वविद्यालयमा लगिएको थियो। त्यसवेलाका चल्तापुर्जा विद्यार्थी अभि सुवेदी सम्झन्छन्, “विश्वविद्यालयमा अम्बर दाजुको अत्यन्तै उत्साहका साथ प्रतीक्षा गरिएको थियो, उहाँले ‘नौलाख तारा’, ‘सुगौली सन्धि’ जस्ता राष्ट्रवादी गीतहरूबाट सबैलाई तरङ्गित पार्नुभयो।”

अम्बरको स्थायी नेपाल बसोबासको एउटा कडी साथीसंगति पनि हो। दार्जीलिङमै परिचय भएका नेपालका शंकर लामिछाने अम्बरका आजन्म संगतिमा रहे। अम्बर नेपाल आएपछि त्यो संगातिमा उत्तम कुँवर, रत्नशमशेर थापा आदि थपिए। राष्ट्रवादी संगीत र गायनमा एउटा मानक खडा गरिसकेका उनी प्रेमगीत रचनामा पनि उस्तै निपुण देखिए। उनकै शब्द, संगीत र स्वरका ‘म अम्बर हुँ तिमी धरती’, ‘यो जिन्दगीको के कुरा’, ‘तिमी भूलमा पर्‍यौ’ आदि गीत यसको प्रमाण हुन्।

अम्बरको संगीतमा अन्य गायकगायिकाले गाएका ‘पोहर साल खुशी फाट्दा’, ‘सम्हालेर राख’, ‘पोखिएर घामको झुल्का’ आदि नेपाली सुगम संगीतका कालजयी गीतहरू हुन्। चलचित्र हुन् वा गीति नाटक र म्युजिक अल्बम, अम्बरका संगीत रचनाहरू अमर बनेका छन्।

एकान्तवास, सम्मान र विरासत

अम्बरले प्रज्ञा प्रतिष्ठानको नोकरीमा नरहेको र सांगीतिक रूपमा पनि उति सक्रिय नभएको बेला वृत्तचित्र ‘काठमाण्डू ओडीसी’ मा भनेका छन्, “आजकल म एकान्तवासमा छु। र, एकप्रकारले एकदमै पीडामा पनि। किनकि, आजको तन्नेरी पुस्ताले जस्तो संगीतको माग गर्छ त्यो म प्रत्येक दिन सयौंको संख्यामा उत्पादन गर्न सक्छु। तर, मेरो मनले त्यस्तो गर्न निर्देश गर्दैन। मैले संगीत सिर्जना गर्न नसकेर होइन कि नचाहेरै एकान्तवास रोजेको हुँ।”

अम्बर गुरुङ सार्वकालिक संगीतका पक्षपाती थिए। उनका लागि संगीत मनोरञ्जन नभएर आत्मरञ्जन थियो। संगीत मानिसको आत्मासम्म पुगेर मनलाई संवेदित गर्नुपर्छ भन्ने उनको मान्यता थियो। उनी ‘संगीत सुनेर आएको आँसु अलौकिक हुन्छ’ भन्थे। यस कारणले पनि गीतसंगीतका मामिलामा ‘चुजी’ अम्बरलाई कतिपयले ‘अप्ठेरो मान्छे’ भन्थे।

काठमाडौंमा अम्बर गुरुङको अधिकांश जीवन अभावमै बित्यो। प्रज्ञा प्रतिष्ठानको निम्न वेतन र संगीतको मौसमी कक्षाबाट चार छोराछोरीको लालनपालन कठिन थियो। स्वभावैले स्वाभिमानी अम्बरले राजासँग पनि व्यक्तिगत लाभको अनुनय गरेनन्। राज्यले कलाकारको उन्नतिमा सरोकार नराखेको गुनासो भने उनी गर्थे। अन्तर्मुखी स्वभावका उनी मन मिल्नेहरूसँगको जमघटमा यस्तो गुनासो गर्न छुटाउँदैनथे।

दुई दशकअघि कवि विप्लव प्रतीकको घट्टेकुलोस्थित घरमा सोमरसले अलिकति प्लवित अम्बरले मोलुवा खैनी (यो उनको जीवनपर्यन्तको आदत रह्यो) च्याप्दै सुनाएका थिए, “भाइ, आइ स्टिल लिभ इन अ रेन्टेड हाउस।” अनि आफूले पहिरिएको कोट छाम्दै थपेका थिए, “यो नफेरेको जुग भइसक्यो।” जीवनमा आइलागेको अम्बर गुरुङ जस्तो मनीषीसँग सुरापान गर्ने अवसरमा थोरै नशा र धेरै उत्तेजनामा पंक्तिकार पनि प्रतिक्रिया जनाउन चुकेन, “यो शहरमा राम्रा कोट लगाउने धेरै छन्, तर म अम्बर गुरुङलाई नै चिन्छु।”

सर्जक सम्मान परम्परा नै नभएको समाजमा अम्बर सम्मानित नहुनु अनौठो होइन। तथापि, जीवनको उत्तरार्द्धतिर उनले नेपालका कुनै स्रष्टालाई नजुरेको सम्मानहरु पाए। संगीत नाट्य प्रतिष्ठानको पहिलो कुलपति बने। गोपालप्रसाद रिमाल रचित ‘रातो र चन्द्र सूर्य’ लाई आफ्नो निशान गान बनाएपछि नेपाली सेनाले त्यसका गायक तथा संगीतकार अम्बरलाई मानार्थ महासेनानी दर्जा दियो। सैनिक परिवारमा जन्मेर संगीतको बाटो रोजेका उनलाई संगीतले नै जंगी पोशाक पहिरिने मौका जुरायो। उनको शवयात्रा र अन्त्येष्टि पनि सैनिक सम्मानका साथ भयो।

अर्को संयोग भनौं वा विरोधाभास, राजाद्वारा नेपाल बोलाइएका अम्बर गुरुङले कालान्तरमा गणतन्त्र नेपालको राष्ट्रगानमा संगीत भरे। यो नै अम्बरको सबभन्दा ठूलो स्वीकार्यता थियो, जनमानसबाट। यो देशमा राजा तिरस्कारमा परे, तर अम्बरले त्यो नियति भोग्नु परेन। अम्बरको विरासत यही हो। उनले जातजाति र भूगोलमा विभाजित वा विभाजन रुचाउने नेपालीलाई संगीतमार्फत एकसूत्रमा बाँधे।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>