समाचारबिहीबार, आषाढ २, २०७३
‘डी’ प्लस नल्याउनेले भर्ना हुन नपाउने, मौका परीक्षा हुने
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गर्ने प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो (शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्ने भएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, “अघिल्लो वर्षसम्म एसएलसी नतिजामा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो तर यस वर्ष फेल, पास र डिभिजन हुने छैन, सबै विद्यार्थी पास हुन्छन् ।”
एसएसली उत्तीर्ण गरेका विद्यार्थीमध्ये कस्ता विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भनेर मापदण्ड तय गरिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले विभिन्न १२ विषयमा आवश्यक गे्रडिङ र ग्रेड प्वाइन्ट एभरेज९औसत० निर्धारण गर्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा ‘डी प्लस’ आवश्यक पर्ने बताएको छ ।
विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा ‘सी प्लस’ र अङ्ग्रेजीमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए ।
उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुनुपर्ने छ । ‘सी प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अङ्क बराबर हो । सो अनुसार अङ्गे्रजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनैपर्ने हुन्छ । अन्य विषयमा ‘डी प्लस’ भए हुन्छ । प्राविधिक विषयतर्फ भने १० वटै विषयमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।
माध्यमिक विद्यालयको व्यावसायिक धारमा पढ्न चाहनेले विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
व्यवस्थापन सङ्काय पढ्न चाहनेले गणितमा ‘सी’ अनिवार्य तर पर्यटन, आमसञ्चारमाध्यम र होटल व्यवस्थापन पढ्न चाहनेले अङ्ग्रेजीमा अनिवार्य ‘सी ग्रेड’ ल्याउनुपर्ने व्यवस्था छ ।
कुनै पनि ऐच्छिक विषय लिएकाहरुले सोही विषयमा कम्तीमा पनि ‘सी’ ल्याउनैपर्ने व्यवस्था गरिएको छ । ‘डी प्लस’ भन्दा माथिका ग्रेड ल्याउने अर्थात् १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने परिषद्ले व्यवस्था गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको छ । सिटिइभिटीले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ ।