समाचारबिहीबार, आषाढ २, २०७३
टीआरसीमा उजुरी दिने समय ३० दिन थप
सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी दिने समयावधि एक महिना थप गरेको छ ।
५ वैशाखदेखि २ असारसम्म उजुरी आह्वान गरेको आयोगले १ साउनसम्म उजुरी लिने निर्णय गरेको आयोग सदस्य एवं प्रवक्ता माधवी भट्टले जानकारी दिइन् ।
दुई महिनामा ३३ हजार ५८९ उजुरी प्राप्त गरेको आयोगले उजुरी आउने क्रम नरोकिएको भन्दै समायावधि थप गरेको हो ।
“पीडितहरूले लिखित रुपमा माग गरेको, विभिन्न जिल्लाका शान्ति समितिका सचिवले उजुरी आउने क्रम जारी रहेको बताएपछि ३० दिन थप्ने निर्णय भएको छ’, प्रवक्ता भट्टले भनिन् ।
उजुरी आव्हान गरेपछि पहिलो दिन १२५ मात्र उजुरी परेकोमा उजुरी दिने समय सकिन लाग्दा दैनिक २५००–३००० उजुरी पर्न थालेका थिए । १ असारमा मात्रै आयोगमा दुई हजार ८४८ उजुरी परेका थिए ।
द्वन्द्वपीडित साझा चौतारीले हालै सार्वजनिक गरेको अनुगमन प्रतिवेदनमा पनि पर्याप्त उजुरी नपरेको भन्दै समयावधि थप गर्न सिफारिस गरेको थियो ।
२८ वैशाखदेखि २१ जेठसम्म ४५ जिल्लाका पीडितसँगको परामर्श र उजुरी दर्ता प्रक्रियाको अनुगमनपछि सार्वजनिक गरेको प्रतिवेदनले ‘उजुरी प्रक्रियालाई विश्वसनीय, व्यापक एवं प्रभावकारी बनाउन’ सुझाव दिएको छ ।