रिपोर्टशुक्रबार, आषाढ ३, २०७३
भूमिगत पानी दोहन : भोलि के पिउने?
पानीको जथाभावी प्रयोग र स्रोत संरक्षण नहुँदा जमीनमुनि पानीको सतह भयावह रुपमा घटेर गएको छ ।
सधैं पानीको अभाव हुने उपत्यकामा गर्मीयाममा यो समस्या थप चर्किन्छ। गर्मीयाममा इनार र ढुंगेधारा सुक्छन् भने पाइपलाइनबाट वितरण हुने पानीको मात्रा पनि नाम मात्रको रहने गरी घट्छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को ललितपुर शाखा अन्तर्गत ४२ हजार धारा जडान भएका छन्।
तर, अहिले दैनिक चार करोड लीटर पानीको माग भए पनि त्यसको आधा मात्र वितरण भइरहेको शाखाका प्रमुख चित्रप्रकाश मास्के बताउँछन्।
केयूकेएलको यो शाखाले विभिन्न मुहानका अतिरिक्त पाँच ठाउँमा डीप ट्यूबेल गाडेर पानी वितरण गर्दै आएको छ।
पहिले प्रतिमिनेट हजार लीटर पानी आउने ट्यूबेलबाट अहिले ७०० लीटर जति मात्र आउन थालेको शाखा प्रमुख मास्के बताउँछन्। उनका अनुसार, ललितपुरमा वितरण भइरहेको खानेपानीमा भूमिगत स्रोतको हिस्सा ३५ प्रतिशत छ।
घट्दो स्रोतमाथि निर्भरता
सिंचाइ मन्त्रालय अन्तर्गतको भूमिगत जलस्रोत विकास समितिका सिनियर हाइड्रोलोजिष्ट सुरेन्द्रराज श्रेष्ठ उपत्यकामुनि पानीको लेयर डरलाग्दो गरी घट्न थालेको बताउँछन्। समितिले सन् २००१ मा कीर्तिपुर–८ टौदह क्षेत्रमा गरेको अध्ययनमा औसत ७.९५ मिटरमुनि पानीको सतह भेटिएको थियो।
तर, २०१४ मा त्यो औसत सतह १०.३४ मिटर तल पुगेको श्रेष्ठले बताए। त्यस्तै, ललितपुरको लुभूमा २००१ मा ३०.११ मिटर गहिराइमा पानीको लेयर भेटिएकोमा २०१४ मा औसत सतह ४० मिटर तल पुग्यो।
भूमिगत पानी उपलब्ध हुने अवस्था अनुसार उपत्यकालाई सुरक्षित, अर्धसंवेदनशील र संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ। त्यसअनुसार, उपत्यकाको उत्तरी भाग सुरक्षित, मध्यक्षेत्र अर्धसंवेदनशील र दक्षिणका ठाउँहरू संवेदनशील छन्। उपत्यकामा दैनिक ३७ करोड ५० लाख लीटर पानीको माग छ, तर केयूकेएलले सुक्खायाममा ७ करोड ३० लाख लीटर र अरू बेला ११ करोड ८० लाख लीटर मात्र वितरण गर्न सकेको छ।
केयूकेएलले करीब ५० प्रतिशत पानी भूमिगत स्रोतबाट वितरण गरिरहेको छ। त्यसका लागि २०० मिटर गहिरा ५९ डीप ट्यूबेल गाडिएको छ भने तीन वटा डीप ट्युबेल थपिंदैछ।
१० वर्षभन्दा पुराना ट्यूबेलहरूको पानी तान्ने क्षमता घटेको कामु प्रबन्धक मिलनकुमार शाक्य बताउँछन्। “त्यसमाथि पानीको लेयर पनि घट्दै गएको छ”, उनी भन्छन्, “कति घट्यो भन्ने विषयमा चाहिं अध्ययन हुनसकेको छैन।”
भूमिगत जलस्रोत विकास समितिको अध्ययनले तराई–मधेशमा पनि पानीको लेयर घटेको देखाएको छ। पहिले १२०/१३० मिटर मुनि भेटिने पानीका लागि अहिले १७५ मिटरमुनि पुग्नुपर्छ। समितिका अनुसार, तराई क्षेत्रमा एक हजार वटा डीप र एक लाख १२ हजार स्यालो ट्यूबेल छन्। यसले घट्दो स्रोतमाथि निर्भरता बढ्दै गएको देखाउँछ।
गैर–कानूनी दोहन
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकामा डीप ट्यूबेलबाट पानी उपभोग गर्न ३१९ वटा अनुमतिपत्र (लाइसेन्स) दिएको छ। व्यापारिक प्रयोजनका लागि डीप ट्यूबेल राख्न खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार लाइसेन्स लिनुपर्छ।
१२०० हाराहारी डीप ट्यूबेल रहेको उपत्यकामा स्यालो ट्यूबेलको संख्याबारे अनुमानित तथ्यांक पनि पाइँदैन। डीप ट्यूबेलमा ५० मिटरभन्दा तल र घरायसी प्रयोजनका स्यालो ट्यूबेलमा ५० मिटरभन्दा माथिको पानी निकाल्नुपर्छ। तर, अहिले डीप ट्यूबेल र स्यालो ट्यूबेलबाट पानी चलाइरहेका सबैले न यो कानूनी मापदण्ड पालना गरेका छन्, न त लाइसेन्स नै लिएका छन्।
सन् १९९० मा जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययन अनुसार उपत्यकामा दैनिक १५ करोड लीटर भूमिगत पानी निकाल्न सकिन्छ। त्योभन्दा बढी पानी निकाले प्राकृतिक सन्तुलन बिग्रने अध्ययन प्रतिवेदनमा उल्लेख थियो। यहाँका होटल, अस्पताल, हाउजिङलगायतका व्यापारिक संस्थाहरूले अनुमति नलिई डीप ट्यूबेलमार्फत र अरूले स्यालो ट्यूबेलबाट भूमिगत पानी प्रयोग गरिरहेका छन्। केयूकेएललगायत यी सबैले दैनिक कति भूमिगत पानी तानिरहेका छन् भन्ने तथ्याङ्क पाइँदैन।
रिचार्ज अत्यावश्यक
जलस्रोतविद् अजय दीक्षित काठमाडौंमा अहिले भोलिको लागि पनि चाहिन्छ भन्ने नसोची चाहिनेभन्दा बढी पानी प्रयोग भइरहेको बताउँछन्। मानिसको आवश्यकता परिवर्तन भएर पनि पानीको बढी र फजुल खर्च बढेको उनको भनाइ छ। उपत्यकामा एकातिर स्वीमिङपुल र वाथ टवदेखि फ्लससम्ममा पानी खपत बढेको छ भने अर्कातिर ठूलो संख्याले खानपिनको लागि पनि पर्याप्त पानी पाइरहेका छैनन्।
सिमसिमे पानी पर्ने दरमा भएको कमी, खुला ठाउँ, पोखरी, चरण क्षेत्रलगायतका पानी सोस्ने (रिचार्ज हुने) जमीन अतिक्रमण र कंक्रिट विस्तारले भूमिगत पानीको सतह कम हुँदै गएको दीक्षित बताउँछन्। “जमीनमुनिको पानी तानिरहँदा प्राकृतिक जलचक्र खल्बलिएको छ”, दीक्षित भन्छन्, “वर्षात्को पानीलाई चाहिं जमीनमुनि सोसिन नदिई नाली र ढल हुँदै खोलामा फालिएको छ।”
अब पानीको उचित प्रयोग, पुनः प्रयोगसँगै स्रोत, मुहान र जलाधार क्षेत्र संरक्षणमा योभन्दा ढिलाइ गर्न नहुने उनी बताउँछन्। कुन–कुन क्षेत्रबाट कति पानी निकाल्ने र कुन–कुन ठाउँबाट पानी रिचार्जको व्यवस्था मिलाउने भनेर अध्ययन अत्यावश्यक भइसकेको बताउँदै दीक्षित भन्छन्, “नत्र, भोलि के पिउने?”
सुरक्षित क्षेत्र
काठमाडौं: गोंगबु, धापासी, साङ्गला, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बूढानीलकण्ठ, चपली, महाँकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, गोठाटार, नयाँपाटी, थली, झोर, इचंगुनारायण
भक्तपुरः बोडे, मनहरा
अर्ध संवेदनशील क्षेत्र
काठमाडौं: सुरक्षित क्षेत्रमा परेका बाहेक काठमाडौं महानगरपालिकाका बाँकी सबै ठाउँ, सीतापाइला, स्यूचाटार, नैकाप, तीनथाना, बलम्बु, मच्छेगाउँ, सतुंगल, मातातीर्थ, बाडभञ्ज्याङ
ललितपुरः कुपण्डोल, ज्वागल
भक्तपुरः भक्तपुरको सबै शहरी क्षेत्र
संवेदनशील क्षेत्र
काठमाडौं: दक्षिणकाली, शेषनारायण, छैमले
ललितपुरः बाँकी सबै भाग
भक्तपुरः उत्तरी र शहरी क्षेत्र बाहेकका ठाउँ