अन्तर्वार्ता/विचारशुक्रबार, आषाढ ३, २०७३
‘सधैं तन्नेरी’ का लेखकसँग अन्तर्वार्ता
जापानको तोयामा मेडिकल एण्ड फर्मास्युटिकल युनिभर्सिटीबाट विद्यावारिधि गरी अमेरिकामा अध्यापन गरिरहेका डा. जीवनकुमार प्रसाई (५०) को दोस्रो पुस्तक ‘सधैं तन्नेरी’ नेपालयमार्फत ३ असारमा बजारमा आएको छ। ‘जीवन जिउने काइदा’ मार्फत एक वर्षअघि पढिएका प्रसाईको अबको पुस्तकको मुख्य विषय भने बुढ्यौली रहेको छ।
सधैं तन्नेरी असम्भव तर्क होइन र?
सर्सर्ती हेर्दा त तपाइँको कुरा सही हो। तर, किन कोही बूढो हुन चाहँदैन? किन सधैंभरि तन्नेरी भइरहन चाहन्छ? उत्तर यहीं लुकेको छ।
उमेरलाई हेर्ने दुई कोण छन्, एउटा क्रमागत र अर्को जैविक। ५० वर्षको उमेरमा पनि कोही ४० वर्षेजस्तो जवान देखिन्छ भने उसले निश्चय पनि जीवनशैली र खानपिनमा ध्यान दिइरहेको हुन्छ। तर, कोही त ४० मै ५० जस्तो देखिन्छन्। खराबी त्यसैमा छ। तन्नेरी भनेको ऊर्जाशील हुनु हो। मेरो भनाइ बुढेसकालमा पनि तन्नेरीजस्तै स्वस्थ रहने तयारी गर्नुपर्छ भन्ने हो।
बुढेसकालमा पनि जवान झै देखिनु सम्भव छ र?
बूढो हुनु भनेको हाम्रो इन्द्रियले राम्ररी काम गर्न नसक्नु हो। र, यो सम्पूर्ण रुपमा शरीरको जैविक प्रक्रियासँग सम्बन्धित छ। आफ्नो उमेर अनुसार शरीरमा हुने परिवर्तनसँग परिचित भई खानपिन र जीवनशैलीलाई ढाल्ने हो भने बुढेसकाललाई पर धकेल्न सकिन्छ। शरीरको मर्मत गर्ने यो क्रियालाई आन्तरिक जीवन व्यवस्थापन पनि भनिन्छ।
साठी वर्षअघि २७.७८ वर्ष रहेको नेपालीको औसत आयु अहिले ७१ वर्ष पुगेको छ। बुढेसकाल जनसंख्या ह्वात्तै बढेको छ। के बूढो हुनु नै समस्या हो र?
यो खुशीको कुरा हो। तर, औसत आयुको सुधारले मात्र जीवनको गुणस्तर निर्धारण गर्दैन। आधा जीवन औषधि खाएर पाएको दीर्घायुको कुनै अर्थ हुँदैन। बुढेसकालमा पनि हाँसीहाँसी बाँच्नु पो बाँच्नु!
खासमा बुढेसकाल होइन बूढोपन समस्या हो। ‘मलाई बुढेसकाल लाग्यो’ भन्ने भावले बाँकी जीवन सुस्त र बेकार बनाउन उत्प्रेरित गर्छ। तर, योसँगै बुढेसकालमा शरीरमा आउने विभिन्न खाले परिवर्तनले पनि समस्या निम्त्याउँछन्। शरीरलाई कुन उमेरमा कुन पौष्टिक तत्व चाहिन्छ भन्ने कुरा बुझ्न नसक्नु रोग लाग्नुको प्रमुख कारण हो। बूढापाकालाई हेर्ने सामाजिक दृष्टिकोण पनि अर्को समस्या हो।
दशकयता शहरहरूमा खुलेका थुप्रै वृद्धाश्रमलाई कतै पुस्तान्तर त कतै पितृप्रतिको अपहेलनाका रुपमा अर्थ्याइन्छ। आश्रम समाधान हुन् कि समस्या?
यसमा थुप्रै आर्थिक सामाजिक कारण गाँसिएका छन्। गुजाराका लागि पैतृक सम्पत्तिप्रति भर पर्नेको संख्या घटिरहेकाले पनि सन्तान, दरसन्तान सँगै बस्ने कतिपय बूढापाकाको चाहना पूरा भइरहेको छैन। बूढापाकाले समय अनुसार आफूलाई परिवर्तित गर्न नसक्नु र खालि दुईछाक खानासहितको सहानुभूतिलाई स्याहार ठान्ने सन्तानको सोचाइ पनि जिम्मेवार छ।
बढ्दो शहरीकरणसँगै आश्रमको संख्या बढ्नु स्वाभाविक हो। तर, महत्वपूर्ण चाहिं, आश्रममा उनीहरूको खानपिन र उपचारका न्यूनतम आवश्यकता पूरा भइरहेका छन् कि छैनन् भन्ने हो। घरमा नपाउने स्याहार आश्रममा पाउने हो भने अन्यथा भन्न मिल्दैन।
सरकारले भर्खरै ज्येष्ठ नागरिकको भत्ता दोब्बर बनाएको छ। भत्ता बढाउनु र सार्वजनिक सवारीमा सीट छुट्याउनु मात्रै सरकारको दायित्व हो?
भत्ता सामाजिक सुरक्षाको एउटा पाटो मात्र हो। बुढेसकालमा स्वास्थ्यसेवाको पहुँच पुर्याउनु, पोषणको कमीका कारण कोही बिरामी नहुनु, बच्चालाई जस्तै बूढापाकालाई पनि उचित स्याहार चाहिन्छ भन्ने अधिकार स्थापित गर्नु सरकारको दायित्व हो।
उनीहरूको ज्ञान र सीपका आधारमा जिम्मेवारी दिइनु र सक्रिय बनाइराख्ने काममा पनि सरकारले ध्यान दिनुपर्छ। अर्को महत्वपूर्ण कुरा चाहिं सुरक्षा र खेलकुद जस्ता ठाउँ बाहेक उमेरका आधारमा सरकारी सेवा र सुविधामा गरिने विभेद हटाइनुपर्छ।
सधैं तन्नेरी रहने सूत्र के हुन्?
स्वास्थ्यप्रतिको ख्याल नै पहिलो प्राथमिकता हो। यसमा उचित पोषणसँगै शारीरिक सक्रियता र सकारात्मक सोच चाहिन्छ। त्यसपछि सम्पत्ति चाहिन्छ। खान र उपचार गर्न पुग्दो रकम नहुने हो भने बुढेसकालसँग जुध्न कठिन पर्छ।
सक्रिय जीवनका लागि समाजसँगको सम्पर्क जति बढी हुन्छ उति नै जीवन स्वस्थकर हुन्छ। बुढेसकालमा सन्तानप्रति आश्रित नहुनु तन्नेरी रहने अर्को सूत्र हो।
प्राथमिकताक्रम अनुसार म चार ‘स’ र एक ‘द’ सूत्र भन्छु। पहिलो स्वयं स्वास्थ्य, दोस्रो दम्पती, तेस्रो सम्पत्ति, चौथो सन्तति र अन्तिममा समाज। आन्तरिक जीवन व्यवस्थापनमा सन्तानभन्दा अघि सम्पत्ति पर्छ।
प्रस्तुति: रविन गिरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
