थप समाचारशुक्रबार, आषाढ ३, २०७३
१५ हजार नपाएको भन्दै भूकम्प पीडितद्वारा गाविस कार्यालयमा पुनः तालबन्दी
१४ जेठमा दोलखाको सुन्द्रावति गाविस कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनको नेतृत्वमा आज १९ दिन पछि खोलिए पनि स्थानीयले पुनः ताला लगाएका छन् ।
अस्थाई आवास निमार्णका लागि सरकाले दिने भनेको रु १५ हजार भूकम्प गएको एक वर्ष वितिसक्दा पनि नपाएको भन्दै पीडितहरुले १४ जेठमा लगाएको ताला आज प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको निर्देशन मा खोलिएको ईलाका प्रहरी चौकी भिमेश्वरका प्रहरी सहायक निरीक्षक विश्वनाथ चौधारीले जानकारी दिए ।
चौधरीका अनुसार ईलाका प्रहरी चौकी भिमेश्वरबाट खटिएको प्रहरी टोलीले ताला खोलेको केही बेरमै स्थानीयले पुनः गाविस कार्यालयमा तालाबन्दी गरेका छन् ।
सुन्द्रावती वडा नम्बर १ का वडा नागरिक मञ्च संयोजक पर्वत अधिकारीले सरकारले राहत र पुनःनिर्माणका अनेकौं आश्वसान बाँडे पनि आफूहरुले शुरुको राहत रु १५ हजार समेत नपाएको भन्दै माग पूरा नहुँदासम्म ताला नखोलिने बताए ।
गाविस सचिव तिर्थराज भण्डारीले आफू कालिञ्चोक गाविसमा अनुदान सम्झौताको लागि फारम भर्न गएकोले प्रहरीले ताला खोल्ने जानकारी फोन मार्फत गराएको बताए ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले आफूले ताला खोल्न निर्देशन दिएको र पीडितहरुका लागि आवश्यक रकम केन्द्रीय दैविप्रकोप उद्धार समितिसँग माग गरिएको बताए ।
उनले आफ्नो निर्देशनमा खोलिएको ताला बन्द गरी गाविसको कामकाज ठप्प पार्नेलाई कारवाही गरिने पनि जानकारी दिए ।
सुन्द्रवती गाविसको वडा नम्वर एकका ७० जना र अन्य वडाका समेत गरी १ सय ७७ जनाले अस्थाई आवास निमार्णका लागि रु १५ हजार पाउन बाँकी रहेको स्थानीयको भनाई छ ।
सर्मिला बुढाथोकी, दोलखा