ब्लगशनिबार, आषाढ ४, २०७३
चन्द्रको आशय
काठमाडौंमा जोसुकै रेजिडेन्ट आए पनि ब्रिटिश–इण्डियाको नेपाल–भोट नीति एकैनासको हुने हुँदा दबाब बदलिंदैनथ्यो, महाराज पनि आफ्नो चलाकी छाड्दैनथे ।
यङ्ग हजवेण्डको भोट अभियानपछि ब्रिटिश–इण्डियाको प्रतिनिधि त्यहाँ रहन लागे पनि नेपाली वकीलले काठमाडौं पठाएको सूचनालाई बढी तथ्यपरक ठानिन्थ्यो।
भोटमा रूसको प्रभाव नपरोस् भन्नेमा जंगबहादुरकै पालादेखि ब्रिटिश अधिकारीहरू सजग थिए; रूसीहरू भोटमा पसे कि, हातहतियार ल्याए कि भन्ने चियोचर्चा गरिरहन्थे। त्यसो हुँदा महाराजले भोटबाट वकीलले ल्याएको कार्तोस नयाँ रेजिडेन्ट मेजर जेम्यानर्स स्मिथकोमा पठाइदिएछन्। त्यो, सैनिकले चलाउने नभई सामान्य खेलौना जस्तो कार्तोस भएको र ब्रिटिश कारखानामा नबनेको भनेर रेजिडेन्ट ढुक्क भए।
रेजिडेन्ट जो आए पनि आग्रह के हुन्थ्यो भने हामीलाई लैनको घेराभित्र मात्रै नथन्क्याइयोस्, खुला घुमफिर गर्न दिइयोस्। ब्रिटिश नागरिकहरूलाई पनि आवत–जावत खुला होस्। त्यसो भो भने नेपाल जंगली मुलुक होइन रहेछ, भारतीय राज्यभन्दा धेरै तरक्की गरेको सुन्दर देश रहेछ भन्ने राम्रो भावना फैलिन्छ भनेर महाराजसँग भन्दथे।
तीन महीनापछि लर्ड किच्नर नेपाल आउने निधो भएको थियो। त्यस अवसरमा ब्रिटिश सरकारतर्फबाट महाराजलाई अनरेरी जर्नेलको सम्मान दिने कुरा रेजिडेन्ट स्मिथले सुनाउँदा महाराजले सम्मान दिने कुरो राम्रो भए पनि दुवैतर्फको इज्जत नधान्ने सानोतिनो सम्मान नआओस्, बरु १९ तोपको सलामीको व्यवस्था गरियोस् भने।
महाराजले यो पनि सम्झाए कि अघि जंगबहादुरलाई १९ तोपको सलामी दिइन्थ्यो, तर सर वीर (शमशेर) जाँदा त्यो गरिएन। सम्मानले इज्जत बढाउनुपर्छ, घटाउनुहुँदैन। उनले भाइ चीफ (भीम शमशेर) लाई पनि सम्मान आए राम्रो होला भन्ने आशय समेत व्यक्त गरे।
सन् १९०६ जुन्को १५ तारिख मुताविक सम्बत् १९६३ साल मिति आषाढ २ गते रोज ६ का दिन बेहान घोडा चढी हावा खादै टुंडीखेलतर्फ आउंदा श्री ३ महाराज चन्द्रशम्सेर जंगबहादुर राणा बहादुरको र रजिडंट मेजर जेम्यानरसको सिंघदरबारमा कुरा भयाको
रजिडंट– ल्हासाका वकील नेपाल आयाको कार्ताेसको नमुना तपायींबाट पठाइदीनु भयाको पायां कार्तोस सानु रहेछ मीलटरी हतियारको चाहि होइन. खेलौनाको तवरको रहेछ. बृटिस म्यानफ्याक्टरीबाट तयार भयाको चाही होइन
श्री ३– मीलीटरी बंदुकको कारतोस ता होइन भन्या मलाई पनि लाग्येको थियो तै काहा बनेको रहेछ भनि बुझिहेर्नु सके बढीयै हो भने समझी पठायाको हुं
रजि– अक्सर हिन्दुस्थानमात्र रहि याहा पैल्है नआयाको अंग्रेजको मन्मा नेपालको तिव्वतमा कस्तो ख्याल हुँदो रहेछ भन्या नेपाल भने बहुतै जंगली मुलुक त ताहा मुलुकको बरबन्दोवस्त केही छैन भनि भन्दा रहेछन्. तेसो हुनाले ताहा १।२ जना भिजिटरहरूलाई आउन दीन हुनता तपायींलाई नै फाईदा हुने कुरा हो
श्री ३– तपायींका दोस्तहरू कोही आयामा तपायींले लेखी पठाउनु भयामा आउनालाई यजाजत दियेकै छु हुदैन भनि येतराज गरेको छैन
रजि– मिष्टर इरबील यांहा आई सबै कुरा देखी दङ्ग भये नेपाल् भनेको यौटा जंगली मुलुक हो. केही बरबन्दोवस्त नभयाको ठाउ हो भन्ने हाम्रो चीत्तमा लाग्याको थियो. यांहा सबै कुरा हेर्दा ता अर्कै देखे. बेस हीसाबसंग बरबन्दोबस्त भयाको रहेछ. खेतिपाती पनि बेस छ पोत पनि हल्का रहेछ. अरु नेटीभ इष्टेटहरूमा पनि गयाको छु. ताहा भन्दा याहां रैतिहरूलाई बहुतै सुवीस्ता देखें सबै आनंदमा रहेको देखिंछ भनि मिष्टर इरवीन भन्दथे
श्री ३– हो उसतर्फभन्दा यंहा पोत हल्कै छ
रजि– तपायींबाट धेरै पोत् रकमहरू पनि मोकुफ गरि दिनुभयाको छ क्यारे भंदा सुंदछु
श्री ३– पोत्को ठुलो रकमहरू घटायाको छैन थोरै थोरै आम्दानी हुने दुनियालाई भने साह्रै दुख हुने कीसिमका रकम्हरू मोकुफ गर्दै ल्यायाको छ. यस्ता सानातीना रकमले दुनीयां रैतीहरूलाई बेसुबिस्ता हुने हुनाले थाहा भया जतिको बराबर मोकुफ गर्दै ल्यायाको छु. ठूलो आम्दानी राखनैपर्छ. खर्च टर्ने भयो भने खर्च टार्ने जति आम्दानी भया हामीलाई पुग्दछ.
सन् १९०६ जुलाईको २५ तारिख ६३ साल श्रावण १० गतेका दिन विहान हावा खान टुडिखेलतर्फ आउंदा श्री ३ महाराजका सलाम्को बखत्मा राजा सवारलाई पठाई म आउ की भनि पठाई रजिडंट मेजर जेम्यानरस इस्मीथ साहेबहादुर सिंहदरवारमा आउंदा कुरा भयाको
रजि– लार्र्ड कीचनर नेपा
ल आउने बारेमा जनरल मार्टिनले मलाई चीठी लेखेका रहेछन्. तेसमा मौसुफ साहेब अक्टुवरको २९ तारीखमा रक्सौल आइपुगी ३१ तारीखमा यांहा आइपुगने र यक् हप्तासम्म रहने कुरा लेखेको छ.
(भनि सो चीठीबाट सो कुरा लेखीयाको फकराहरू पढी सुनाया)
तपायींसंग यौटा कुरा सोध्नु छ. यस्मा तपायींको कस्तो राय छ. तपायींलाई बृटिसमान अनरेरी जर्नेलको टाईटललाई किचनरबाट मील्ने भयो भने ऐ कुरा तपाईलाई मंजुर होला हवैन
श्री ३– यो इजतको टाइटल हो कीन मंजुर नगर्नु. तर यसभन्दा पनि पर्सोन्याल स्यालुटका बंदोबस्त हुने भयो भने बढीया हो की भन्ने लाग्छ. अघी सर जंगलाई पनि हिन्दुस्थानमा जैले गया पनि १९ तोप्को पर्सोन्याल स्यालुट दियाको थियो. सर वीरको सवारी यक्पल्ट प्राइभेट भीजीटमा कलकत्ता हुंदा पर्सोन्याल स्यालुट नहुनाले केही सत्कार भयेन अफीसियल तवरसंग धीराजलाई रेफ्रिजन गरी जांदा भने हुने गर्थ्यो. तेसो हुनाले आनरेरी जर्नेल भंदा पर्सोन्याल स्यालुटको बंदोबस्त हुन सके बढीया हो
रजि– इ इजतहरू बलियो देस्तीमात्र र पुरा वीस्वास् छ भने दिइने हो. तपाईमाथि बृटिश गभरमेन्टको पुरा दोस्ती र विस्वास रहेको छ भने पछि तपायीको इच्छा माफीकको कुरा पनि होइजाला भन्या लाग्छ. तपायींबाट भंनुभयाको कुरा म लेखीपठाउंला तपायींको अरु केही आग्रहको कुराहरू केही छ की. जनरल भीमलाई पनि केही टाइटलहरू मिलोस् भने तपायींका इच्छा छ की
श्री ३– जनरल भीमलाई टाइटल मिलोस् भन्ने कुरा मैले अघी कर्णेल राभिंसलाई पनि सम्झाएकै थिएँ, त्यो भए मलाई बहुतै खुसि लाग्नेछ. तर तपायींको मेहरवानीबाट केही टाइटल आउने भयो भने सानु तीनुजस्तै सि.यस.आई.इ. भन्ने यस्तो नआवस् भंदा सानु टाइटल आयो भने उल्टो समझ हुन जानेछ
रजि– तपायींको आसय मैले बुझें