ब्लगआइतबार, आषाढ ५, २०७३

चन्द्रको ‘यूरोप यात्रा’ (पुस्तक सम्पदा)

कमल दीक्षित

kamalmaniनेपाली भाषामा लेखिएको यात्रा वर्णनको एउटा महत्वपूर्ण पुरानो किताबको नाम लिन पर्‍यो भने ‘यूरोप यात्रा’ नै भन्नुपर्छ ।

गगनीराज भन्ने पश्चिमा कुनै रजौटाको यात्रा वर्णन भनेर पूर्णप्रकाश नेपाल ‘यात्री’ ले निकै बखानेको एउटा सानो काव्य छ । उनले १३–१४ शताब्दीतिरको भनेर दाबा गरे तापनि त्यसको भाषा हेर्दा त्यो त्यति पुरानो होइन भन्ने अर्काथरि विद्वान्हरूको जमातै छ । हामी त्यो विवादमा पर्दैनौं ।

लेख्नेको नाम नखुलेको ‘जङ्गबहादुरको बेलायत यात्रा (सुब्बा सिद्धिमान राजभण्डारी) उसै बेला लेखिएको रोजनाम्चा जस्तो एउटा किताब त छापिएकै छ २०१४ सालमा । अनि १९७० सालतिर प्रकाशित शेरसिंह रानाको ‘मेरो लन्दन राजतिलक यात्रा’ पनि छ हाम्रा अगाडि ।

Pustak Sampad-16.inddतर ती कुनैलाई पनि नेपाली यात्रा साहित्यको प्रतिनिधित्व गर्ने भनेर ‘पुस्तक सम्पदा’ मा नहालेर अर्घेलो गरेझैं गरी नामै नसुनिएको किताब ‘यूरोप यात्रा’ किन अघि सारिंदैछ ? भनिएला ।

त्यसको जवाफमा यत्ति भनूँ– यी चारैओटा पुस्तकले हाम्रो पुस्तक–सम्पदामा छिर्ने मुख्य दैलो–ठेलो पार गर्दैनन् । भन्नाले तिनमा कुनैले पनि नेपाली मानस र मनमस्तिष्कलाई हुँडेल्न सकेका छैनन्, किनभने यी कुनै पनि किताब त्यति व्यापक रूपमा प्रचार र प्रसार भएनन् ।

यस्तोमा, अब ‘नेपाली भाषामा लेखिएको र प्रकाशित भएको एउटा महत्वपूर्ण किताब छान्’ भनेर कसैले मलाई लल्कार्‍यो भने म चाहिं यही ‘यूरोप यात्रा’ छानुँला । त्यसरी छान्नाका घनेरा कारण छन् ।

सबभन्दा पहिलो त माथि नै भनिसकियो । हाम्रा कुनै पनि यात्रा वर्णन या भ्रमण वृत्तान्तका किताब व्यापक रूपमा फैलिएनन् । धेरैले तिनलाई पढ्न पाएनन् मात्र होइन तिनका नामै कसैले सुनेन भने पनि हुन्छ । यस्तो खडेरी परेको ठाउँमा छान्नु पर्दा, कम्प्युटरको भाषामा भनूँ, ‘डिफल्ट’ का रूपमा मैले त्यो ‘यूरोप यात्रा’– लाई छानेको हुँ ।

त्यति भूमिका बाँधिसकेपछि अब त्यस किताबले हाम्रो ‘पुस्तक सम्पदा’ को गरिमा भिर्न पाउने गुण–वर्णन गर्न कोशिश गरौं ।

एक, १९६७ सालमा प्रकाशित भएको ‘यूरोप यात्रा’ ३७७ पृष्ठको एउटा बृहत् काव्य हो, नेपालका एक जना शक्तिशाली र सक्षम तथा सफल शासकको विदेश यात्राको बखान गरिएको ।

दुई, महाराज चन्द्रशमशेर (१९२०–१९८६) को पाँच महीने त्यस यात्राका हरेक दिनको साना ठूला एक–एक क्रियाकलापको टिपोट राखिएको अभिलेख हो यो, एक प्रकारले सरकारी ‘डकुमेण्ट’ जस्तो, अलिकता कवितात्मक प्रस्तुति भए पनि । यसमा कुनै पनि कुरा हचुवा रूपमा लेखिएका छैनन् । पूरा ‘डिटेल’ दिइएको छ राम्रो, प्राञ्जल पद्यमा ।

तीन, ‘प्रस्थान काण्ड’ देखि ‘प्यारिस काण्ड’ सम्म पाँच ओटा काण्ड बोकेको यो काव्य कुनै कविको लहडी कल्पनाको भरमा होइन, योजनाबद्ध र सोद्देश्य राखिएको औपचारिक ‘डायरी’ का आधारमा तयार पारिएको हो ।

Pustak Sampad-16.inddचार, कतै नलेखिएको भए पनि विश्वस्त सूत्रबाट थाहा भएको कुरा के हो भने यो काव्य तयार पार्न चार–पाँच जनाको संयुक्त प्रयास भएको छ ।

ती पाँचमध्ये पहिलो श्री ३ महाराज चन्द्र स्वयम भए । उनकै हुकुमले एक जनाले त्यस यात्राको पहिलो दिनदेखिकै अभिलेख राख्न थाल्यो । ती डायरी–लेखक थिए भ्रमणदलकै एक जना महाराजका पत्यारका मान्छे, दरबार स्कूलका ‘हेडमास्टर’ बाबु बटेकृष्ण मैत्र । सँगै बेलाइत गएकाले उनलाई हरेक कुरा ज्ञात हुन्थ्यो ।

तेस्रो व्यक्ति पनि भ्रमणदलकै परे कर्णेल डिल्लीशमशेर थापा, महाराजको मामाखलकका । यो ‘यूरोप यात्रा अभियान’ को चौथोको नाम गंगाबहादुर हो बेलायत जानेमध्येकै एक जना । उनको काम सके बाबू बटेकृष्णको अंग्रेजी डायरी नेपालीमा अनुवाद गर्नु थियो । त्यसपछि परे एक परचक्री मान्छे, त्यो भ्रमण र स्वयम् महाराजसँग पनि असम्बद्ध, अकिञ्चन ब्राह्मण चिरञ्जीवी शर्मा (पौडेल) ।

मदन पुरस्कार पुस्तकालय (मपुपु)मा नंबर ६०५९ मा दर्तामा चढेको ३७७ पेजी ‘यूरोप यात्रा’ मा लेखक भनेर डिल्लीशमशेर थापाको नाम किटिएको छ । त्यसो हुँदा हाम्रा लागि त्यस किताबका लेखक कम्याण्डिङ कर्णेल डिल्लीशमशेर नै हुन्, तर २०१४ सालमा छापिएको चिरञ्जीवी शर्माको आत्मकथा, ‘आफ्नु–कथा’ (पृष्ठ ६४–६५) मा यस्तो लेखिएको फेला पर्छ–

‘…यही ६५ सालमा श्री ३ महाराज चन्द्रसंसेरको सबारी बेलायत भयाको थियो, भदौमा सबारी फिर्यो. उसका २ दिनपछि बृ.क. डिल्लिसंसेर…सँग धोबीखोलामा भेट भयो र सँगै टंटं बग्गीमा बसी गुह्यकाली गयौं. बाटामा नेपालको हालखबर सोध्नुभयो… मैले पनि हजूर बेलायत गै आउनुभयो, केही केही हाल बक्स्या म पनि नेपाली भाषामा श्लोकले महाराजको गुणानुवाद गरी जन्मको सफल गर्दो हुँ भन्दा बेस भन्यौ एक बाजी महाराजका हजूरमा बिन्ति चढाऊँ र जबाफ दिउँला भन्ने आज्ञा भयो…गुह्यकाली पशुपतीको दर्शन गरी चारबुर्जा आयौं. भोलिपल्ट बृ.क. कम्याण्डर कर्णेल पनि हुनुभो. ‘बनाउन लाउनू’ भन्ने हुकुम पनि भएछ र पर्सिपल्ट मलाई बोलाहट भै ‘लौ गुणानुवाद गर ।

मैले भने रोजनाम्चा लेखेको छैन. मे. कप्तान गंगाबहादुरलाई मैले भनेको भनी सो रोजनाम्चा माँग र तेसबाट लेख भन्ने हुँदा मे. कप्तान गंगाबहादुरसँग भन्न जाँदा म पनि महाराजका हजूरमा सोधी दिउँला भने… सो कुरा बिम्ती पार्दा हुन्छ दे भन्ने भएछ र मलाई दिए. मैले पनि महाराज घरबाट निस्केदेखि फेरि घर नआउन्ज्याल सम्मका २१०७ श्लोकमा यूरोप यात्रा भन्ने किताप बनाञा. पछि कम्याण्डर कर्णेल डिल्लिसंसेरले बेइमानी गरी मेरो नामको नाश गरी आफ्नो नामले छपाई प्रचार गरे. मैले पनि झुट्टा वर्णनमा आफ्नु नाम राख्नु नालायक संझी चुप लागें ।

राजा र राजाका छोराहरूमा समेत यो कुरो जाहेर भयाको हुनाले साहिला जर्नेल केशरसंसेरले निज कर्णेललाई कटाक्ष गरि मर्जी (भयाको थियो)…. । यो काम गर्न मलाई २० मैन्हा लाग्यो, यसबाट मैले मो.रू.२००० पाञा. एसैमा सन्तोष मान्नुपर्‍यो ” ।

अब, यो यूरोप यात्रा जसले लेखेको भए पनि फरक पर्दैन । हामीले खोजेको खालि हाम्रो ‘पुस्तक सम्पदा’ मा चढ्न सक्ने किताब मात्र हो । सो हामीले पायौं । यो कति उत्कृष्ट पुस्तक हो भन्ने बुझन त यसलाई पढिहेर्नुपर्छ । पढ्न चाहनेहरूका लागि यो उपलब्ध छ मपुपुमा ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>