समाचारआइतबार, आषाढ ५, २०७३
डाक्टर पक्राउको विरोधमा वीरगञ्जका अस्पताल तेस्रो दिन पनि बन्द
नक्कली प्रमाणपत्र पेशगरेको आरोपमा ‘डाक्टर’हरु पक्राउ परेको विरोधमा आज तेस्रो दिन पनि वीरगञ्जका अस्पताल र क्लिनिकहरु बन्द छन् ।
नक्कली प्रमाणपत्र पेश गरी विभिन्न तहमा अध्ययन गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट मात्रै ९ जना डाक्टरलाई ३ असारमा पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुको निशर्त रिहाईको माग गर्दै वीरगंजको नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगञ्जका अन्य अस्पताल र क्लिनिक, फार्मेसी, प्याथोलोजि, एक्सरेलगायतका सेवाहरु ठप्प पारिएको छ ।
नेपाल चिकित्सक संघ, नारायणि अञ्पचलको नेतृत्वमा जिल्ला प्रशान कार्यालय मार्फत प्रधानमन्त्रीलाई वीरगञ्जका डाक्टरहरुले बुझाएको ज्ञापनपत्रमा केन्द्रीय अनुसन्धान ब्यूरोले कुनै पूर्वसूचना बिना अभ्रद शैलीमा डाक्टरहरुलाई पक्राउ गरी काठमाडौँ लगेकोमा विरोध जनाइएको छ ।
चिकित्सकहरुको प्रमाणपत्र छानविनका लागि नेपाल मेडिकल काउन्सिल हुँदाहुँदै अन्य निकायले अपरेशन थिएटर र क्लिनिकमै पसेर पक्राउ गरेको मान्य नहुने भन्दै पक्राउ परेका ९ जनालाई विनाशर्त रिहा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
डाक्टर पक्राउको विरोधमा वीरगञ्जका डाक्टरहरु, ल्याब, एक्सरे, प्राइभेट क्लिनिक लगायतका एशोसियसनले सेवा ठप्प पारेका हुन् ।
अस्पताल र क्लिनिक बन्द भएपछि यसक्षेत्रका विरामीहरुलाई निकै समस्या परेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने अस्पताल बन्द गर्ने निजी अस्पतालका सञ्चालकहरुलाई इजाजतपत्र खारेज गर्ने चेतावनी दिएका छन् । यता एक अस्पतालका सञ्चालक भने डाक्टरहरुले आकस्मिक सेवा समेत बन्द गर्न दबाब दिइरहेको बताउँछन् ।
जियालाल साह, वीरगञ्ज
पक्राउ परेका ३६ जना डाक्टरलाई अदालत लगियो (नामावली सहित)