रमझमसोमबार, आषाढ ६, २०७३
चौरसियाकी नेपाली चेली
५ फागुन २०७० मा विश्वचर्चित बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाले मधुवन्ती रागबाट राजधानीको प्रज्ञा प्रतिष्ठान हलका दर्शकलाई मन्त्रमुग्ध बनाइरहँदा पछिल्तिर एउटी नेपाली कलाकारले साथ दिइरहेकी थिइन् । बाँसुरीका कहलिएका धुरन्धरसँग एकसाथ बजाउने दुर्लभ अवसर पाउने उनी थिइन्– अमृता उप्रेती । अमृता १० वर्षदेखि मुम्बईस्थित वृन्दावन गुरुकुलमा चौरसियासँगै बाँसुरी सिकिरहेकी छन् ।
अमृताले वृन्दावनसम्मको यात्रा कसरी तय गरिन् ? अनुभव रोचक छ । सिन्धुपाल्चोक पुख्र्यौली घर भए पनि काभ्रेपलाञ्चोकस्थित भेटवालथोकमा रहेको मामाघरमा हुर्किएकी उनले स्कूले शिक्षा सकिनेवित्तिकै काठमाडौंको कलानिधि संगीत महाविद्यालय भर्ना भइन् । उनका बाँसुरीका प्रेरक थिए, दाजु डा. ध्रुव उप्रेती । उनी गुरु जीवन आलेसँगै बाँसुरी सिक्थे । दाजुले मनै हर्ने गरी बाँसुरी बजाएको सुनेपछि अमृता बाँसुरीतिरै लट्ठिइन् । र, आलेलाई नै गुरु बनाइन् ।
महाविद्यालयमा चारवर्षे अध्ययन सकेपछि उनी फाट्टफुट्ट सार्वजनिक कार्यक्रमहरूमा पनि बजाउन थालिन् । तर, उनमा सिक्ने भोक मरेको थिएन । तर, काठमाडौंमा त्यस्तो ठाउँ र गुरु पहिल्याउन सकिनन् । उनको सपना थियो– पण्डित चौरसियालाई गुरु थाप्ने ।
त्यहीबेला पण्डित चौरसिया कार्यक्रमको सिलसिलामा काठमाडौं आइपुगे । अमृताले धेरै मिहिनेत गरी चौरसियालाई भेट्ने अवसर पाइन् । र, आफ्नो सपना सुनाइन् । तर, चौरसियाकी चेली बन्न सजिलो भने थिएन । उनले अमृतालाई बाँसुरीका केही धुन सुनाउन भने । “सबै धुन सुनेपछि मात्र उहाँले हुन्छ भन्नुभयो, त्यसपछि खुशीको सीमा नै रहेन”, उनी सम्झिन्छिन् ।
वृन्दावनमा अमृताको दुई वटा जिम्मेवारी छ, सिक्ने र सिकाउने । उनी चौरसियासँग बाँसुरीका आरोह–अवरोह सिक्छिन् र नयाँ विद्यार्थीलाई सिकाउँछिन् । चौरसियासँगै लागेर उनले भारतका विभिन्न शहरमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन् । बाँसुरीवादनमा महिलाको उपस्थिति न्यून भएकाले पनि अमृतालाई धेरैले ‘मार्क’ गर्छन्, हौसला दिन्छन् । नेपालमा आफूभन्दा अग्रज महिला बाँसुरी वादक नभेटेको उनको भनाइ छ । तर, पहिलो भेटमा धेरैले उनलाई भारतीय ठान्छन्, कारण हो उनको हिन्दी लवज । “नेपाली हुँ भन्दा धेरैले जिब्रो टोक्छन्”, उनी भन्छिन् ।
प्रस्तुतिबाट आउने नाम र दाम भारतमै राम्रो भए पनि नेपालमै केही गर्ने अमृताको योजना छ । त्यसका लागि उनी गृहकार्य गरिरहेकी छन् । यसपटक पनि नेपाल आउँदा पाटनढोकामा आयोजित यलमाया क्लासिक प्रस्तुति दिएकी उनी ६ असारमा पशुपतिनाथ मन्दिर परिसरको किराँतेश्वर आश्रममा सुनिंदैछिन् । उनी भन्छिन्, “दुई वर्षपछि नेपालमै फर्केर सांगीतिक क्षेत्रमा लाग्छु ।”
१४ वर्षदेखि बाँसुरीकै संसर्गमा रहेकी अमृताको साधना टुंगिएको छैन, बरु गहिरिएको छ । शुरुमा नाम र दाम कमाइने लोभले बाँसुरी सिक्न थालेकी उनी वृन्दावन पुगेपछि आत्मसन्तुष्टिका अघि अरु केही रहेनछ भन्ने तत्वबोध भएको बताउँछिन् । के यो एकोहोरो आत्मसन्तुष्टि हो ? “होइन”, उनी भन्छिन्, “मेरो बाँसुरी सुनेर क्षणभर पनि कसैले आफ्नो पीडा बिर्सिए त्यो नै मेरो आत्मसन्तुष्टि र सफलता हो ।”
सन्त गाहा मगर
तस्वीरः विक्रम राई