समाचारसोमबार, आषाढ ६, २०७३
वीरगञ्जः डाक्टरहरुको आन्दोलन फिर्ता, अस्पताल खुले
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा वीरगञ्जबाट ९ जना डाक्टरलाई पक्राउ गरेपछि बन्द भएका वीरगञ्जका अस्पतालहरु आज खुलेका छन् ।
पक्राउ परेका डाक्टरहरुको निशर्त रिहाईको माग गर्दै ३ असारदेखि वीरगञ्जको नारायणी उप–क्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, प्राईभेट क्लिनीकहरु, औषधीपसल, एक्सरे, ल्याब लगायतका सेवाहरु ठप्प पारिएको थियो ।
नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अनुसन्धान भइरहेकाहरुको बचाउका लागि विरामीलाई बिचल्ली पारेर अमर्यादित र अमानवीय काम भएको भन्दै विभिन्न क्षेत्रबाट दबाब परेपछि आन्दोलनरत डाक्टर र प्यारामेडिक्सहरुले आफैं अस्पताल र अन्य स्वास्थ्य सेवा सुचारु गराएका हुन् ।
आन्दोलनबारे समिक्षा गर्न आज आज ११ः३० बजे बसेको वीरगञ्जका चिकित्सकहरुको बैठकले मुद्दा अदालतमा पुगिसकेको अवस्थामा आन्दोलन जारी राख्नुको औचित्य नहुने भन्दै फिर्ता लिइएको बैठकमा सहभागी एक चिकित्सकले बताए ।
वीरगञ्जमा कार्यरत डाक्टर मनोज गुप्ताका अनुसार नेपाल चिकित्सक संघको केन्द्रीय नेतृत्वले डाक्टर पक्राउ गर्दा भाएका त्रुटी आगामी दिनमा सच्याइने गृहमन्त्रालयले जानकारी दिएको भन्दै सेवा सुचारु गर्न फोनबाट भनेपछि अस्पतालहरु खुलेका हुन् ।
डा गुप्ताले भने, “ चिकित्सकसँग संवन्धित विषयमा जाँच गर्ने अन्य निकाय हुँदाहुँदै प्रहरीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आएर अभद्र व्यवहार प्रदर्शन गरेकोले त्यसको विरोध गरेका हौं, आईन्दा यस्ता कार्य सच्याउने सहमति भएकोले अब सेवा सुचारु हुन्छ ।”
प्रहरीले वीरगञ्ज र काठमाडौं सहित देशका विभिन्न स्थानबाट दुई दिनमै पक्राउ गरेका ३६ जना डाक्टरलाई ५ असारमा जिल्ला अदालत काठमाडौंमा पेश गरी अनुसन्धानका लागि ५ दिन थुनामा राख्न म्याद थप गराएको थियो ।
जियालाल साह, वीरगञ्ज