टिप्पणीसोमबार, आषाढ ६, २०७३
मेरो बुद्धलाई बचाऊ
शताब्दीयौं लगाएर बुद्धमाथि गरिएको ‘उत्पादन’ हरूले भगवान बुद्धका सामान्य सत्य सन्देशहरूलाई छोपिसक्यो ।
राजकुमार सिद्धार्थ नेपालमा जन्मिए । दरबारमा २९ वर्ष सांसारिक जीवन बिताएपछि उनलाई लाग्यो– यो त जिन्दगी होइन । त्यसपछि दरबारको सुखसयल त्यागेर १० वर्षसम्म योगध्यान–तपस्या गर्दै विभिन्न ठाउँ चहारे । मानव जीवनको सत्य के हो भन्ने प्रश्न मनमा थियो, सोचेर महीनौं–वर्षौं बिताए । त्यही क्रममा बोधगयामा बुद्धत्व (ज्ञान) प्राप्ति भयो ।
बुद्धले संसारमा दुःखैदुःख छ (दुखम् दुखम्), सबै त्यो दुःखबाट निस्केर सुख चाहन्छन् (सुखम् सुखम्), संसारमा हर कुरा छिनछिनमा परिवर्तन भइरहन्छ (क्षणिकम् क्षणिकम्), हरेकको आ–आफ्नै लक्षण हुन्छ (स्वलक्षणम् स्वलक्षणम्) र जीवनचक्र अन्ततः शून्यमा (शून्यम् शून्यम्) पुग्छ भने । यसरी मानिसको जीवनचक्र घुमेर शून्यमा पुग्नु पूर्णताको अवस्था हो । बुद्धले यसलाई प्रज्ञानको अवस्था भनेका छन्, जहाँ करुणाको प्रधानता हुन्छ । बुद्धले यी पाँच आधारभूत सत्यबाहेक छैटौं कुरा भनेनन् ।
२०औं शताब्दीका ठूला चिन्तक, आविष्कारक, वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले पनि संसारको चिन्तनधारामा क्रान्ति ल्यायो । बुद्धको उपदेशमा पनि सापेक्षतावाद छ– सबै सत्य ध्रुवसत्य हुँदैनन् । हरेकको स्वलक्षण हुन्छ, विचारमा करुणा हुनुपर्छ । आइन्स्टाइनको आविष्कारमा करुणा भए झलमल बत्ती बल्छ र नभए एटम बम बनेर सर्वनाश हुन्छ ।
आज बुद्धका उपदेशको सारहरूलाई, ‘ॐ मणि पद्मे’ लाई अनेकानेक विचार, आलेख–किताब, गुम्बा–बिहार, श्रीसम्पत्ति–स्रोत र रणनीतिहरूले छोपिदिएका छन् । बुद्धका नाममा अनेक दर्शन, विचार, सिद्धान्त, सम्प्रदाय बनाइएको छ र वास्तविक उपदेशहरू थाकका थाक किताबमुनि किचिएका छन् । अनि बुद्धका सामान्य विचारहरू प्रचार भइराखेका छैनन् ।
बरु, वरत्र–परत्र सबैतिर बुद्ध हाम्रो हातमा भएको छ । बौद्धधर्मावलम्बीहरूको दानबाट झिलिमिली गुम्बाहरू चलेका छन् । बुद्धको नाममा गरिएको ‘उत्पादन’ बाट ठूलो बजार खडा गरिएको छ । मेरा बुद्धलाई आज लाखौं किताब, हजारौं गुम्बा, बुद्ध मूर्ति, श्रीसम्पत्ति, स्रोत, उत्तरआधुनिक व्याख्या र रणनीतिले थिचेको छ ।
आज बुद्धलाई आफ्नो पक्षमा पार्ने होड छ । हामी पनि बुद्ध हाम्रो हो, भारतको होइन भनिरहेका छौं । यो के भनेको ? बुद्ध त सबैको हो । बुद्ध त विचार हो, मान्छे त उनी जस्ता कति आए, कति गए । बुद्धको विचारलाई छाडेर बुद्धलाई आ–आफ्नो बनाउनु मूर्खता र दुःख मात्र हो । हिजो लंकामा के भयो ? आज बर्मामा के भइरहेको छ ?
बुद्धले ‘मैले भनेको भनेर नपत्याऊ, मेरा कुरालाई सुनारले जस्तै आगोमा पोल, घनले कुट अनि कसी लगाऊ, खरो उत्रेपछि मात्र पत्याऊ’ भने । अर्काे कुनै धर्म भन्छ– सबै धर्म छोडिदेऊ, मैले भनेको पत्याऊ । अब हामीले सबै धर्म छाडिदिनु कि कसी लगाएर मात्र पत्याउनु ? बुद्धको अनुयायी बन्नु कि उनको मूर्ति बनाएर प्रचार–व्याख्या गर्नु ? तामझाम नै गर्ने हो भने त पुराण लगाएर पनि तीन करोडसम्म उठ्न थालेको छ ।
आज मेरो विन्ती छ– शताब्दीयौं लगाएर भगवान बुद्धमाथि गरिएको ‘उत्पादन’, जसले आदि बुद्धका सामान्य सत्य सन्देशहरूलाई ओझेलमा पारेको छ, त्यसलाई हटाउने काम होस् । इतिहासको प्रशोधन होस्, जसबाट सामान्य बुद्ध उपदेशहरू बुद्धका महागाथा, दर्शन र सिद्धान्तको भारबाट मुक्त होस् ।