समाचारमंगलबार, आषाढ ७, २०७३
छोराको न्वारान गरेर ४ महीना पहिले जितेन्द्र काबुल फर्किएका थिए
अफगानिस्तानको काबुल आक्रमणमा मारिएका बुटवलका जितेन्द्र थापा छोराको न्वारान गरेर काबुल गएका थिए । गएको चार महिनामै परिवारमा बज्रपात पर्यो । ४१ बर्षीय उनी बुटवल १३ देवीनगरका हुन् ।
गत फागुनमा उनी दोश्रो पटक काबुल गएका थिए । झण्डै १८ वर्ष भारतीय सेनामा काम गरेका उनले एक वर्ष इराकमा काम गरेका थिए ।
पछि करीब ४ वर्षअघि अफगानिस्तानको काबुल पुगे । साढे दुई वर्ष बिताएर घर फर्केका उनी फेरि काबुल गएका थिए ।
उनका दुई श्रीमती र दुई छोरा छन् । जेठी पत्नी गोमती थापा र एक छोरा छन् बुटवलमा बस्छन् । कान्छी पत्नी सञ्जिता लामा भने काठमाडौमा बस्छिन् ।
२ वर्षअघि विवाह गरेका उनी पट्टी पनि ५ महीने छोरा छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले धेरै प्रयासपछि मात्रै उनको घरबारे पत्ता लगाउन सकिएको बताए ।
सञ्चारका माध्ययमबाट श्रीमान मारिएको थाहा पाएकी कान्छी श्रीमती सञ्जिताले घटनापछि शोक र अन्योलमा परेको बताइन् । टेलिफोन कुराकानीमा उनले शव कसरी ल्याउने भन्नेबारे अन्योल परेको र त्यसबारे कसैले नसोधेको गुनासो गरिन् ।
जितेन्द्रका बाबुआमा भने छैनन् । दुई श्रीमतीबीच केही महीनाअघि मात्र अंशबण्डा भएको पारिवारिक श्रोतले जनाएको छ ।
-दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
