समाचारबिहीबार, आषाढ ९, २०७३
कांग्रेस संसदीय समितिको संयोजक चयन
नेपाली कांग्रेसले संसद्को गतिविधिलाई प्रभावकारी र चुस्त बनाउन संसद्का विषयगत समितिको संयोजक तोकेको छ ।
संसदीय दल कार्य समितिको बैठकले १२ वटै समितिका लागि संयोजक चयन गरेको हो । कार्यसमिति सदस्य सचिव ध्रुव वाग्लेले संसद्को हरेक समितिमा कांग्रेसका सदस्य मध्येबाट नै सम्बन्धित समितिको संयोजक तोकिएको बताए।
बैठकले विधान समितिमा तारणीदत्त चटौत, अर्थ समितिमा मोहन बराल, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिमा बलबहादुर केसी, उद्योग वाणिज्य समितिमा अम्बिका बस्नेतलाई संयोजक बनाएको छ ।
त्यसैगरी, वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मा, विकास समितिमा जीवनबहादुर शाही, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिमा जीवन परियार, सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, सामाजिक न्याय समितिमा मोफ्तार अहम्मद, कृषि तथा जलस्रोत समितिमा सुधीर सिवाकोटी, सुशासन तथा अनुगमन समितिमा प्रभुनारायण चौधरी र राज्य व्यवस्था समितिमा नवीन्द्रराज जोशीलाई संयोजक तोकेको वाग्लेले बताए ।
बैठकले भूकम्पपीडित परिवारलाई तत्काल रु.दुई लाख घर निर्माणका लागि दिन सरकारको ध्यानाकर्षण गराउने र चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए ।