थप समाचारशुक्रबार, आषाढ १०, २०७३
उहिले आत्मनिर्भर
तत्कालीन सरकारले निरुत्साहित नगरेको भए धौलागिरिका छन्त्यालहरू सात दशकपछि आज सम्भवतः आधुनिक खानी संचालन गरिरहेका हुनेथिए ।
उत्तरपश्चिम बाग्लुङको धम्जा–२ मा पर्ने खोलाखानीको भीरमा टाढैबाट सुरुङका प्वालहरू देखिन्छन्। सर्प जसरी घस्रँदै सुरुङभित्र जाँदा तामाको खिया लागेजस्तो भित्ताहरू भेटिन्छन्। भित्र कहीं बसेर अघि सर्नुपर्छ भने कतैकतै उभिन मिल्ने ठाउँ भेटिन्छ।
खोलाखानीका भीरहरूमा यस्ता सुरुङको लम्बाइ कति छ, कसैलाई थाहा छैन। धम्जा–२ का भीमबहादुर छन्त्याल (७९) यीमध्ये एउटा सुरुङ म्याग्दीको मोठे (भकिम्ली गाविस) र अर्को मुसुङ निस्कने बताउँछन्। “हाम्रै पुर्खाले खनेका हुन्” उनी भन्छन्, “अहिले त त्यसै बिर्सने काम भएको छ, कोही भित्र पसेका पनि छैनन्।”
बाग्लुङको बोवाङ गाविसको छिन्ताङ उद्गमस्थल मानिने छन्त्यालहरूले पहाडभित्रबाट धाउ (धातुको कच्चा पदार्थ) निकाल्ने क्रममा यी सुरुङहरू बनेका हुन्। उनीहरू बसाइँ सर्दा पनि खानी भएकै ठाउँमा गए अनि जहाँ गए ती ठाउँका नाममा ‘खानी’ प्रत्यय जोडियो।
जस्तो– कुइनेखानी, मंगलेखानी, गर्जाखानी, मछ्यामखानी, थाडाखानी, छापाखानी, डाँडाखानी, सङ्गलेखानी, खुङखानी, नर्जाखानी, बुङगाखानी, लेखानी, राङखानी, पाण्डवखानी, सिसाखानी, भोगसिङखानी आदि। उहिले ती खानीबाट निकालिएको धाउ पगालेर शुद्ध धातु बनाई तानसेन, बुटवलसम्म लगेर बेचिने गरेको भीमबहादुर बताउँछन्।
७६ वर्षको उमेरमा २०४५ सालमा बितेका आफ्ना बाबु लीलाबहादुरसम्मले पहाडका खानीबाट धाउ निकालेको भीमबहादुरले बताए। उनका अनुसार, खानीमा जतिभित्र गयो, उति अप्ठ्यारो हुन्थ्यो।
त्यो काम एक–दुई जनाले नसक्ने भएकाले पूरै गाउँ मिलेर खट्थे। यति धेरै मानिस खटिन्थे कि धम्जामा एक पटक एउटै खानीमा बाह्र बीस (२४० जना) पुरिए रे! “बुबा भन्नुहुन्थ्यो, त्यसपछि त्यहाँ कोही गएनन्”, वयोवृद्ध भीमबहादुर भन्छन्, “त्यस ठाउँलाई बाह्रबिसेखानी भन्न थालियो।”
उनका अनुसार, परम्परागत सीपको बलमा पहाडको निकै भित्रसम्म सुरुङ पुर्याएर फलाम र तामा निकाल्नेमा मगर समुदाय पनि थिए। त्यही पेशागत सहकार्यका कारण हुनसक्छ, छन्त्याल र मगरबीच मागी विवाह चल्यो। राणा सरकारको शोषण नीतिका कारण खानी पेशा हराए पनि यी दुई समुदायबीचको कुटुम्बेली परम्परा अद्यापि कायम छ।
राणाका कारण बन्द
धम्जाको लक्ष्मी उमाविका शिक्षक खिमबहादुर छन्त्यालको जानकारी अनुसार, राणा सरकारले खानीहरूबाट निकालिएका मध्ये आधा धातु सरकारलाई बुझाउनुपर्ने उर्दी जारी गर्यो, संवत् १९८१ मा।
त्यसपछि छन्त्याल र मगरहरूले महीनौं पहाडमा दुलो पारेर निकालेका धातु लिन राणाका सिपाहीहरू गाउँ आइपुग्न थाले। कतिपय ठाउँमा मुखियाले नै आधा असुल गर्थे। त्यसरी खानीबाट गुजारा असम्भव भयो। त्यसपछि गुल्मीका गिरीप्रसाद छन्त्यालले खानीमा नपस्ने अभियान नै चलाएको धम्जाकै लालबहादुर छन्त्याल (५७) बताउँछन्।
उनका अनुसार ब्रिटिश–भारतीय गोर्खामा जागीर खाएर आएका गिरीप्रसाद टाठा थिए। उनले छन्त्याल र मगरहरूलाई खानी छाडेर खेतीपाती गर्न उक्साउन थाले। तर, त्यस बखतको नेपालमा तत्कालै पेशा परिवर्तन गर्न सकिने अवस्था नभएकाले उनीहरू बाध्यतावश खानीमा पसिरहे, तामा या फलाम जे निस्किए पनि आधा धातु सरकारलाई बुझाइरहे।
यो क्रम २००७ सालको सेरोफेरोसम्म चलेको धम्जाका बूढापाका बताउँछन्। यस हिसाबले हेर्दा छन्त्यालहरू खानी छाडेर कृषि र पशुपालनमा लागेको सात दशक भएको बुझिन्छ। “हाम्रा पुर्खाले आफैं मर्नेगरी कर बुझ्ाउन नपरेको भए आज हामी आधुनिक खानीभित्र काम गरिरहेका हुन सक्थ्यौं”, शिक्षक खिमबहादुर छन्त्याल भन्छन्।
घोडेटो निर्माता
छन्त्यालहरूको पुर्ख्यौली पेशाको डोब मात्र बाँकी रहे पनि उनीहरूका पुर्खाले कालीगण्डकीको भीरमा बनाएको घोडेटो भने अझै उपयोगी साबित भइरहेको छ।
७९ वर्षीय भीमबहादुर छन्त्यालले बाल्यकालमा सुने अनुसार, उहिले मुस्ताङीहरू अत्यावश्यक सरसामान लिन तलतिर र्झ्नुपर्दा घरमा रुवाबासी हुन्थ्यो रे– कालीगण्डकीको पहरा छिचोलेर म्याग्दी पुग्न वा पुगेर फर्किंदैन भनेर। “अनि मनाङ–मुस्ताङवासीले हाम्रा पुर्खालाई बाटो बनाइदिन आग्रह गरे”, भीमबहादुर भन्छन्, “त्यसरी पहरामा खच्चड हिंड्न सक्ने बाटो खोपियो रे!”
यसरी हिमालपारि र वारिको नेपाल जोडेका छन्त्यालहरूले धौलागिरि हिमालको पूर्व, दक्षिण र पश्चिमको भिरालो भू–भागलाई सदियौंदेखि गुल्जार बनाएको इतिहास छ।
२०६८ सालको राष्ट्रिय जनगणनामा छन्त्यालहरूको संख्या ११ हजार ८१० देखिएको छ। छन्त्यालहरू १९ जिल्लामा छरिएका भए पनि बाग्लुङ र म्याग्दीमा बढी छन्। छन्त्यालहरू प्रकृतिपूजक हुन्। उ
नीहरू कुलदेवतासँगै वायु, भूमि, पानीको मूल, सिद्धशिकारी र चुरेनीको पूजा गर्छन्। उनीहरूले खानी पूजा गर्न पनि छाडेका छैनन्। आफ्नै भाषा–संस्कृति भएका छन्त्याल जातिमा झ्ाम्रे, लालै, सोरठी, मारुनी, लस्के, सालैजो, यानीमाया, डाँफे, पुरुसिङ्गे लगायतका लोकगीत र नृत्यको परम्परा छ।
………………………..
‘आग्री’ विवाद
खानी खन्ने पुर्ख्यौली पेशा भएका छन्त्यालहरूलाई कालान्तरमा ‘आग्री’ भन्न थालियो। धम्जाका सिद्धिमान छन्त्याल (५०) गाउँका मुखिया र राणा सरकारका मान्छेहरूले हेपेर आग्री भन्न थालेको बताउँछन्।
उनको बुझाइमा, छन्त्याललाई आग्री भन्नु बाहुनलाई ‘काठा’ भने जस्तै थियो। तर, ‘आग्री’ होच्याउने शब्द होइन भन्ने मत पनि दह्रै पाइयो धम्जामा। वयोवृद्ध भीमबहादुर छन्त्यालका अनुसार, छन्त्याल मात्र होइन, धाउ पोल्न ‘आफर’ लगाउने मगरहरूलाई पनि आग्री भनिन्थ्यो।
बृहत् नेपाली शब्दकोशले पनि ‘आग्री’ को अर्थ ‘खानीमा काम गर्ने मजदूर समूह वा जनजाति समूह’ भनेको छ।