थप समाचारशनिबार, आषाढ ११, २०७३

सरकारीमै उपचार

हिमालखबर

सरकारी अस्पताल सुधार्न उच्च पदस्थ सबैले त्यहीं उपचार गराउनुपर्छ ।

– डा. अरुणा उप्रेती

cKrZUskहाम्रा ठूला नेता, प्रसिद्ध व्यक्तित्व र सेलिब्रेटीहरू स्वास्थ्यमा केही समस्या पर्‍यो कि खुरुरु निजी अस्पताल दौडिन्छन्। वीर अस्पताल वा टेकू अस्पताल पुग्दैनन्।

निजी अस्पतालमा एकैदिनको हजारौं खर्च गर्न निको मान्छन् र गमक्क पर्दै सलाइन पानी चढाएको तस्वीर फेसबूकमा राख्छन्। ठूला भनाउँदा मान्छेहरूलाई किन सरकारीको साटो निजी आफ्नो र प्यारो लाग्छ, यो बुझिनसक्नु छ।

वीर अस्पतालका तन्ना शायद निजी अस्पतालका जस्ता तनक्क तानिएका हुँदैनन्। तर, त्यहाँका डाक्टरले नेताजीको झाडापखाला, एपेन्डिक्स, हर्निया जस्ता सामान्य शल्यक्रिया गर्नै सक्दैनन् त? सक्छन्। तर, सरकारीमा राम्रो उपचार हुँदैन भन्ने भ्रमबाट ठूलाहरू नै ग्रस्त छन्। ठूलाको यो भ्रममा सामान्य जनता नपर्ने कुरै भएन।

लामो समयदेखि महिलाको सामाजिक स्थिति सुधार्ने कोशिशमा लागेकी मेरी साथी सलोनी सिंह (५६) लाई स्तन क्यान्सर देखियो। थाहा पाउनेवित्तिकै धेरैले उनलाई भारतमा उपचार गराउने सल्लाह दिए। तर, उनी स्वदेशकै भरतपुर क्यान्सर अस्पताल पुगिन्। सफल उपचार गराइन्।

“मैले नेपालमै उपचार गराउनुको दुई वटा कारण थिए”, सलोनी भन्छिन्, “एउटा त हामीले नै सरकारी अस्पतालमा विश्वास नगरे सर्वसाधारणले कसरी पत्याउँछन् भन्ने लाग्यो, दोस्रोचाहिं बिरामी हुँदा परिवारसँगको माया र स्याहार यहीं पाइन्थ्यो।” उनले उपचारका क्रममा कोही पनि ‘ठूला मान्छे’ देखिनन्। बरु, देशभरिबाट आएका गरीबहरूले भोगिरहेको समस्या देखिन्। अज्ञानताले उनीहरू कसरी ठगिंदा रहेछन् भन्ने नियालिन्।

सलोनीले बुझने यो कुरा खासगरी नेताहरूले चाहिं किन बुझदैनन्? कि बुझेरै बुझ्पचाउँछन्? पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी बिरामी हुँदा किन ब्याङ्कक् लगिन्छ? पूर्वप्रधानमन्त्री सुशील कोइराला किन अमेरिका पुगे? पूर्वराष्ट्रपति रामवरण यादव आफैं चिकित्सक हुन् तर आफ्नै पेशागत सहकर्मीलाई अविश्वास गरी उनी किन जापान गए? सभामुख ओनसरी घर्ती झाडापखाला लाग्दा सुमेरु अस्पताल पुगिन्, वीर अस्पताल गइनन्।

उनीहरूले भन्नुपर्छ– मेरो उपचार नेपालभित्रैका सरकारी अस्पतालमा सम्भव थिएन। र, यो प्रमाणित पनि गरिनुपर्छ। किनकि राज्यको सेवा र सुविधा पाएकाहरूले आफ्नै सेवाप्रति उपेक्षा गर्नु नैतिक आचरणभित्र पर्दैन। सरकारी स्वास्थ्यकर्मीको दुःखेसो बरोबर सुनिन्छ– “ठूला नेता छाती खराब हुने बित्तिकै गंगालाल हृदय रोग केन्द्र छाडेर निजी अस्पताल पुग्छन्। उनीहरूकै कारण निजी अस्पतालको सित्तैंमा विज्ञापन भएको छ।”

केही दिनअघि दाँतको उपचार गराउन म ललितपुरस्थित पाटन अस्पताल गइरहेकी थिएँ। बाटामा एक जना साथीसँग भेट भयो। “ल तपाईं पनि प्राइभेटमा नगई किन पाटन अस्पतालमा आउनुभएको?” भनिन्। मैले उनलाई भनिदिएँ, “किनभने यहाँ सस्तोमा राम्रो उपचार हुन्छ। केही समय त लाग्छ, तर अहिलेसम्मको मेरो दाँतको उपचारबाट म सन्तुष्ट छु, धेरैलाई पाटन नै जान सल्लाह पनि दिएकी छु।”

स्वास्थ्यकर्मीको दायित्व
सरकारी अस्पतालको उपचारको गुणस्तरप्रति धेरैले शंका गर्छन्, गुनासो गर्छन्। सबै आरोप गलत पनि होइनन्। जस्तो कि, वीर अस्पतालको आकस्मिक कक्षको सफाइ, स्वास्थ्यकर्मीको व्यवहारबारे पटकपटक आलोचना भएको छ।

अस्पतालका सामान बिग्रिएर समयमा नबन्ने समस्या पनि नयाँ होइन। तर, यसको सुधार गर्ने जिम्मेवारी प्रधानमन्त्री, सभामुख, सांसद्, सचिव, सरकारी कर्मचारीकै हो। उनीहरू वीर वा अन्य कुनै सरकारी अस्पतालमा गएर त्यहाँको सेवासुविधा नलिएसम्म ती अस्पताल वर्षौंसम्म जस्ताको तस्तै हुने खतरा छ। यसले गरीब बिरामी उपचार गर्दागर्दै तन्नम हुने र निजी अस्पताल रातारात भवन थप्ने अवस्थामा पुगेका छन्।

सरकारी अस्पतालको सेवा राम्रो हुँदैन भन्ने छाप सत्यमोहन जोशी जस्ता विद्वान्लाई पनि लागेको रहेछ। छातीको समस्या देखिएका उनी पनि निजी अस्पताल भर्ना भए।

सरकारले उनको रु.११ लाख उपचार खर्च तिरिदियो। तर, स्वरसम्राट नारायणगोपालको उपचार वीर अस्पतालमै गरिएको थियो। त्यहाँ कसैले उनको उपचार राम्रोसँग भएन, डाक्टरले बेवास्ता गर्‍यो भनेनन्।

यति भन्दाभन्दै पनि सत्य के हो भने, बिरामीलाई आफ्नो अस्पतालतर्फ आकर्षित गर्न नसक्नु सरकारी अस्पतालमा कार्यरत प्रशासक र स्वास्थ्यकर्मीको पनि असफलता हो।

आफू काम नगर्ने तर दोषजति अरूलाई दिने रोगबाट सरकारी अस्पताल स्वयं ग्रस्त छन्। सरकारी अस्पताल किन फोहोर हुन्छन्? दुर्गन्धित र अस्तव्यस्त हुन्छन्? डाक्टर र नर्स किन समयमा पुग्दैनन्? किन बिरामीले विभेद खप्नुपर्छ? यसको जवाफ सरकारले होइन, स्वास्थ्यकर्मीले नै दिनुपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...