ब्लगशनिबार, आषाढ ११, २०७३
विसंगति र विद्रोहचेत
लेखकको रुपमा बनेको व्यक्तित्वलाई ‘एक्टिभिज्म्’ मा उपयोग गरेर थप चर्चा कमाएकी मञ्जुश्री थापालेहालै नेपाली नागरिकता त्याग्ने प्रक्रिया थालेको बताएर तरंग पैदा गरिन्।
पुरुष समान बन्न क्यानाडेली नागरिकता लिने तयारी गरिरहेकी नारीवादी यी लेखिकाको यो कदमलाई कतिपयले ‘अवसरवादी ठालुवाद’ पनि भने। तर, सम्भ्रान्त परिवारमा जन्मेर त्यही वर्ग र व्यवस्थाविरुद्ध उभिन सक्नु थापाको विशेषता मान्न सकिन्छ।
थापाको नयाँ उपन्यास ‘अल अफ अस् इन आवर ओन् लाइभ्स्’ पनि एकअर्थमा उनको ‘एक्टिभिज्म्’ कै शृंखला हो।
‘क्रियटिभ राइटिङ’ मा उच्च शिक्षा लिएका कमै नेपालीमध्येकी थापाको लेखाइमा एउटा ‘बनिबनाउ’ वर्ग पनि छ। साहित्यिक अभिव्यक्तिमा उनी यति अगाडि छिन् कि समसामयिक टिप्पणीकार/विश्लेषकले ठोस धारणा बनाइनसक्दा नै उनी उपन्यास लेख्न सक्छिन्।
भलै, उपन्यासको अन्त्यमा पुग्दा पाठकले नयाँ संविधान र भूकम्पसँग उपन्यासलाई जोडिनुप्रति प्रश्न किन नगरुन्।
उपन्यास ‘एलिट’ को कब्जामा रहेको ‘विकासे’ र अधिकारवादी अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ र एनजीओ) का काम, आप्रवासी कामदारको जीवन र टुट्दै बन्दै गरेको नेपाली परिवारको कथाको सेरोफेरोमा छ। उपन्यासका प्रत्येक पात्र सुखद् जीवनका आकांक्षी छन्।
उपन्यास नारी ‘नायक’ ले भरिएको छ। नेपालमा जन्मेर क्यानाडेली दम्पतीद्वारा धर्मपुत्री बनाइएकी आभा बेरिडेन, लैंगिक विज्ञ इन्दिरा शर्मा र गाउँले युवती सपना कार्की मुख्य पात्रहरु हुन्। पुरुष पात्रमा सपनाको दाजु ज्ञानु, इन्दिराका श्रीमान्, आभाका श्रीमान् र केटा साथीहरु छन्। कथा समानान्तर शैलीमा अघि बढ्छ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न जन्मथलो नेपाल आएकी आभा ‘फिल्ड भिजिट’ का क्रममा गाउँ पुग्छिन्, जहाँ उपन्यासका सबै पात्र आपसमा ठोक्किन आइपुग्छन्। दुबईको तारे होटलमा कुकको काम गरिरहेको ज्ञानु बाबुको काजक्रियाका लागि घर आएको हुन्छ, ऊ बहिनी सपनालाई ‘सेटल’ गराएर मात्रै फर्कन चाहन्छ। तर, सपनाको जीवनमा आफ्नो भनेकै उही सौतेलो दाइ ज्ञानु मात्र हुन्छ। तर, ज्ञानुलाई भने बच्चाकी आमा विधवा फिलिपिनो प्रेमिका ‘माली’ सँग घरजम गर्नु छ। उसको उदारता आफ्नो सबै सम्पत्ति बहिनी सपनाको नाममा गरिदिनुमा छ।
आभा गाउँलेको जीवन भोगाइको गहिराइ नियाल्ने प्रयत्न गर्छे, अन्ततः उनको यही इच्छाकै कारण पात्रहरुको जीवन फेरिन्छ। उनलाई गैरसरकारी संस्थाका लामा–लामा औपचारिक कार्यक्रम र फाल्तु भाषणदेखि दिक्क लाग्छ। ज्ञानु आभालाई तल्लो तहको संसार चिन्न र बुझाउन सघाउँछ।
आभाको ध्यान खिच्न सफल सपना गाउँको महिला समूहबाट पहिलो पटक पूर्वी जिल्लाहरु पुग्छे। विशेषगरी झापा भ्रमणबाट धेरै कुरा सिक्छे। त्यो भ्रमणले सपनाको विश्वदृष्टि फराकिलो बनाउँछ। आत्मविश्वास बढाउँछ।
उपन्यासमा खराब ‘टर्निङ पोइन्ट’ नै आउँदैन। एउटै मात्र दुःखी पात्र दुर्गा (इन्दिराकी घरेलु कामदार) को जीवनमा पनि सुख आउँछ। नारी पात्रहरूलाई असाध्यै दयालु चित्रित गरिएको छ।
थापाले उपन्यासभरि ‘नेपाली समाजमा महिला हुनु भनेको दोस्रो दर्जाको नागरिक हुनु हो’ भनी पटकपटक तर्क गरेकी छिन्। इन्दिरा स्वयं अधिकारवादी, तर घरमा सासूको अनुशासनका कारण तनावमा हुन्छिन्।
आईएनजीओ साझेदार एनजीओ बन्न र ‘फिक्सिङ’ गर्न इन्दिराकै घरमा पार्टी हुन्छ तर पाहुनासँगै उनी पिउन सक्दिनन्। तर, इन्दिराका उपसचिव श्रीमान् पाहुनाहरूसँग आफूलाई ‘मिस्टर इन्दिरा’ भनी बोलाउन आग्रह गर्छन्। आईएनजीओ, एनजीओमा केन्द्र, क्षेत्र, जिल्ला र गाउँ तहसम्म हुने ‘सेटिङ’ को नांगो चलखेलले उपन्यास भरिएको छ।
सपनाले पहिलोपटक यौनसम्पर्क गर्ने निर्णय गर्दा ढुक्कसँग भन्छे– म बिग्रिहालें भने आजीवन विवाहबाट मुक्त हुन्छु। उनको सम्बन्ध विवाहितसँग हुन्छ। तर, सपना दोस्रो श्रीमती बन्न अस्वीकार गर्छे। आफ्नो मर्जीले आफू सञ्चालित हुनु नै ऊ सबैभन्दा ठूलो स्वतन्त्रता ठान्छे। संविधानमा महिलाप्रतिको विभेदका आलोकमा हेर्ने हो भने यो उपन्यासलाई ‘नारीवादी प्रगतिशील घोषणापत्र’ भने हुन्छ।
लाङटाङ वर्णनमार्फत भूकम्पले ल्याएको प्रलय र मातृभूमिको सौन्दर्य मुक्तकण्ठले प्रशंसा गरेकी थापाले पात्र, समाज र परिवेशबारे गरेको मन छुने चित्रणले उनको विचारसँग असहमत हुनेहरु समेत प्रभावित बन्छन्।
पात्रहरूको उपस्थिति ‘जस्टिफाइ’ गर्न सक्नु लेखकीय कौशल हो। सपनाको साथी चन्दाले सपनालाई सम्बोधन गरेर भने जस्तै– हामीले सोचेको परिवर्तन, प्रगति र क्रान्ति, यो हुनेछ। त्यो तिमीले गराएरै छाड्नेछौ। तिमीले गर्न सक्छौ, तिमी सक्छौ। यो मञ्जुश्रीको ‘सपनाको आभा’ हो।
शुद्धतावादी पितृसत्ताको निरन्तरता चाहनेहरूलाई थापाको यस्तो नारीवादी आग्रहप्रेरित उपन्यास मन नपर्ला। कतिपय कथित ‘राष्ट्रवादी’ हरुका लागि अराष्ट्रिय पनि लाग्न सक्ला, तर साहित्यका पाठक उपन्यासबाट सन्तुष्ट हुनेछन्। भविष्यप्रति आशावादी यो उपन्यास लामो समयसम्म पढिने आशा गर्न सकिन्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
