टिप्पणीमंगलबार, आषाढ १४, २०७३

किस्ताबन्दीमा लोकतन्त्र

मनिष झा

राजनीतिक दलको अक्षमताकै कारण लोकतान्त्रिक अधिकारका खातिर पटकपटक संघर्षमा उत्रनु नेपालीको नियति झैं भइसकेको छ ।

46 Andolan13.tif

२०४६ सालको जनआन्दोलन । तस्वीरः मीनरत्न बज्राचार्य

लोकतन्त्रको सन्दर्भ आउने वित्तिकै हामी २००७ सालदेखिका घटनाक्रम सम्झिन्छौं। लोकतन्त्र प्राप्तिका लागि लामो समयदेखि गरिएको संघर्ष, बलिदानी, भारतको सहयोग, दरबारको कमजोरीको चर्चा चल्छ ।

अघिल्ला पुस्ताले लोकतन्त्रका लागि गरेको अभूतपूर्व संघर्ष गाथाको स्मरण मात्रले पनि गर्वले छाती चौडा हुन्छ। लोकतन्त्रका लागि बलिदानी गरेकाहरूप्रति श्रद्धा र सम्मानले आँखा भरिन्छन्। र, एउटा बेग्लै ऊर्जा मिल्छ।

लोकतन्त्र प्राप्तिलगत्तैका वर्षहरूमा लोकतन्त्र जोगाउन गरिएका विभिन्न सम्झ्ौता र योजनाका अभ्यास भए। २०१५–२०१७ सालसम्म मुलुकको शिक्षा, विकास, अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ अभियान चालिए। तर, राजा महेन्द्रले लोकतान्त्रिक सरकारलाई सैनिक शक्तिका बलले विघटन गरे र सत्ता आफ्नो हातमा लिए। अनि शुरू भयो, पञ्चायती कालरात्रि।

मुलुकको लोकतान्त्रिक इतिहासमा २०३६ सालको जनमत संग्रहलाई पनि एउटा पटाक्षेप मानिन्छ। २०४६ सालको लोकतन्त्र पुनर्स्थापनाको आन्दोलन अर्को ऐतिहासिक घटना हो, जहाँ जनता फेरि एकपटक लोकतन्त्रका लागि सडकमा उत्रिए। शहादत भए। र, जीत हासिल गरे।

म सम्झ्न्छु– त्यो दिन, एकाबिहानै काकाले जनकपुरस्थित हाम्रो घरको छतमा नेपाली कांग्रेसको ठूलो झ्ण्डा फहराउनुभयो। हजुरबुबाको मुहारमा मुस्कान छरिएको थियो। “आमा के भएको हो?” मैले सोधेको थिएँ।

आमाले भन्नुभएको थियो, “बाबु अब हाम्रो देशको उन्नति हुन्छ, हामीले लुगा, नून, तेल पारि (भारत) को बजारबाट लुकाएर ल्याउनु पर्दैन।” आमा ठीक दुई वर्षअघि २०४५ सालको भारतीय नाकाबन्दीको पीडा सम्झ्ँदै हुनुहुन्थ्यो।

उसैगरी लुटियो, लोकतन्त्र। र, फेरि २०६२/६३ को जनआन्दोलन अपरिहार्य भयो। यो आन्दोलनमा म स्वयं सहभागी भएँ। साथीभाइलाई पनि राजाको शासनविरुद्ध ओर्लन आग्रह गरें।

नभन्दै हाम्रै अर्थात् जनताकै जीत भयो। लोकतन्त्रको उन्माद र खुशी। लाग्यो, अब यो देशको पूर्ण लोकतान्त्रिक अभ्यास कसैले रोक्न सक्तैन। गर्व र अहम् दुवै थियो। तर, पछिल्लो एकदशकको लोकतान्त्रिक अनुभवले मलाई आफ्नो विश्वासप्रति विचलित बनाइरहेको छ।

जे जस्ता परिवर्तन हुन्छ भनी लाखौं जनता आन्दोलनमा सहभागी थिए, उनीहरूलाई नै किन आजको दिन बेकार झैं लाग्दैछ? त्यो उत्साह र उल्लास किन पलपल मरिरहेको छ? किन हामी लोकतन्त्रका लागि पटकपटक संघर्ष मात्रै गर्छौं तर वास्तविक लोकतन्त्रको अनुभूत गर्न सक्तैनौं? किन योगदान मात्र गर्छौं, तर प्राप्त परिणाम संस्थागत गर्न सक्तैनौं?

लोकतन्त्रको गलत अभ्यास
२००७ सालको लोकतान्त्रिक आन्दोलनले हामीलाई निरंकुशताविरुद्ध लड्ने मैदान दियो। २०१५ सालले लड्न तर्क दियो। २०३६ सालले भविष्यमा राजाशाहीविरुद्ध लड्ने प्रशस्त जनमत दियो, जसका आधारमा २०४६ सालको जनआन्दोलन सफल भयो। २०४६ को उपलब्धिले संगठन दियो भने २०६२/६३ ले लोकतन्त्रका पक्षमा जुट्न सबै किसिमको संयन्त्र र साथ दियो।

के लोकतन्त्रका लागि लड्दै आएका राजनीतिक दलहरूलाई नै लोकतन्त्रको आधारभूत सिद्धान्त नै थाहा नभएको हो त? व्यवहारले यो प्रश्नलाई पुष्टि गरिरहेको छ। यहाँ लोकतन्त्रकै लागि भनी अरूको बौद्धिक र भौतिक सम्पत्तिमा हस्तक्षेप हुन्छ। वाक्स्वतन्त्रतालाई मरणासन्न पारिन्छ र आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक व्यक्ति, संस्था भएको डंका पिटिन्छ।

राजनीतिक संक्रमण लम्ब्याउँदै कानून कमजोर बनाउनेहरू नै लोकतन्त्रको सफल यात्रामा रहेको भ्रम छर्छन्। निष्पक्ष र नियमित निर्वाचन नै लोकतन्त्रको श्वास हो। तर, स्वयं लोकतन्त्रका खेलाडीहरू पराजयको डरले निर्वाचनबाटै भाग्न खोन्छन्। कस्तो विरोधाभास!

राजनीतिक दलको अक्षमताकै कारण यो पुस्ताले फेरि पनि लोकतान्त्रिक अधिकारका लागि संघर्ष गर्नुपर्ने हो भने त्यो सबैका लागि दुर्भाग्य हुनेछ। तर, लाग्दैछ यो दिन टाढा छैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...