Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पोथी 'बास्यो' - Himalkhabar.com

रमझममंगलबार, आषाढ १४, २०७३

पोथी ‘बास्यो’

रविन गिरी

प्रकाश र किरणको अर्थ एउटै भए पनि कालो पोथी का किरण कथित उच्चजातका हुन् भने प्रकाश दलित समुदायका। किरण मालिक हुन्, प्रकाश नोकर।

दुवैमा समानता पनि छ– उनीहरू जातले विभाजन गर्न नसकेका साथी हुन्, जो एकै कक्षामा पढ्छन्। यिनै दुई बालकको मित्रताको कथा हो, फिल्म कालो पोथी।

कालो पोथी को अर्को दृश्यमा कक्षामा साथीहरूलाई अण्डा देखाउँदै खड्गराज नेपाली।

कालो पोथी को अर्को दृश्यमा कक्षामा साथीहरूलाई अण्डा देखाउँदै खड्गराज नेपाली

माओवादीविरुद्ध खटिएको सेनाले कुखुरा खाइदिन थालेपछि प्रकाशकी दिदी आफ्नो पेवा पोथी लुकाउँछिन्। प्रकाशले पोथीको नाम करिश्मा राखेको छ। त्यसको अण्डा बेचेर फिल्म हेर्ने उसको धोको हुन्छ। पोथीलाई भाइको जिम्मा लगाएर दिदी माओवादी ‘जनयुद्ध’ मा लाग्छिन्।

तर, बाबुले किम्रीका शेर्पालाई पोथी बेचिदिएपछि प्रकाश बेस्सरी कुडिन्छ र किरणसँग मिलेर पोथी फिर्ता ल्याउने अभियानमा लाग्छ। उनीहरू एक पटक सेतो पोथीलाई कालो रंग दलेर घर फर्काउन सफल पनि हुन्छन्, विछोड फेरि दोहोरिन्छ।

गाउँघरमा छोरीका लागि अंश जत्तिकै महत्वको ठानिने पेवाप्रति प्रकाशको प्रेम नै कथाको चूरो हो। ऊ ‘कुखुरो नभए दिदी कहिल्यै घर आउँदिनन् होला’ भन्ठान्छ। ‘कुखुरो चोर’ भनिंदा प्रकाश भक्कानिन्छ र दर्शक पनि रसाउँछन्। फिल्मको सबभन्दा संवेदनशील दृश्य यही हो।

फिल्ममा प्रकाश–किरण मित्रतासँगै मुगुका विसंगतिहरू बगेको छ। देशकै विकटमध्येको यो जिल्लाको गरीबी, अशिक्षा, वर्गीय–जातीय विभेद अनि १० वर्षे माओवादी ‘जनयुद्ध’ को अभिलेख हो, कालो पोथी। कर्णालीका कष्टहरू काठमाडौंका फिल्म हलहरूमा यसअघि कहिल्यै आइपुगेका थिएनन्। यसअर्थमा यो फिल्म त्यहाँको दुःखको कलात्मक प्रतिनिधि पनि हो। निर्देशक मीनबहादुर भाम मुगुकै उत्पादन भएकोले यो सम्भव भयो भन्न सकिन्छ।

भामको कालो पोथी ले नेपालमा लाग्नुअघि २३ वटा ‘लोरेल रिथ’ (बाला) पाइसकेको थियो, भेनिस फिल्म फेस्टिभलमा ‘इन्टरन्यासनल क्रिटिक्स् विक’ सहित। पोष्टर लगायतका प्रचार सामग्रीमा २३ वटा ‘लोरेल रिथ’ घुसाउनुको कारण यही हुनुपर्छ। यसैको बलमा पनि हो, तेस्रो सातासम्म हलहरूमा कालो पोथी ‘बासिरहेको’।

कालो पोथी को सराहना गर्र्नुपर्ने अरु कारण पनि छन्। रु.३ करोड ८५ लाखको यो नेपाली फिल्मले विदेशी लगानी भित्र्याएको छ, दीपक रौनियार निर्देशित हाइवे ले कोरेको बाटो फराकिलो पार्दै। ‘स्टारकाष्ट’ नभएका खड्गराज नेपाली (प्रकाश) ले राम्रो अभिनय गरेका छन्, किरण (शुक्रराज रोकाय) र जीतबहादुर मल्लले उनलाई पछ्याएका छन्। मौलिक कथावस्तु, लगानी र प्रचारशैली भए दर्शक हलसम्म आउने रहेछन् भन्ने पुष्टि पनि गरेको छ, यो फिल्मले।

कालो पोथी को एक दृश्यमा खड्गराज नेपाली (बायाँ) र शुक्रराज रोकाय।

कालो पोथी को एक दृश्यमा खड्गराज नेपाली (बायाँ) र शुक्रराज रोकाय

एउटा राम्रो फिल्म हेरेर निस्किएका दर्शकले त्यसको कथावस्तु र अभिनयले मन छोएको चर्चा गर्छन्। तर, कालो पोथीका दर्शक पात्रहरूको अन्तरसम्बन्ध अर्थात् साइनोमै अल्झन्छन्, पटकथाको ‘ट्रिटमेन्ट’ र सिनेमाटोग्राफीमा रहेको दोषले गर्दा।

निर्देशक भाम रसियन निर्देशक आन्द्रे तार्कोभोस्कीको तत्वज्ञानमा आधारित लङ सट शैलीबाट प्रभावित भएका र चिप्लिएका छन्। एउटै फ्रेममा सबै गतिविधि अटाउने ‘मिज–आन सिन’ को प्रयोगले कालो पोथी लाई न्याय गर्न सकेको छैन। अधिकांश दृश्य छर्लङ्ग नदेखिनु, किरणको घर पनि सानो देखिनु यसैको परिणाम हो। बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका पुरस्कृत सिनेमाटोग्राफर अजिज जाम्बाकिएभको अधिक ‘प्रयोग’ ले पनि फिल्मलाई संवेदनाहीन बनाउन सघाएको छ।

निर्देशक भाम गरीब बालकले कल्पनै गर्न नसक्ने कुरा सपनामार्फत देखाएर फिल्मको दर्शन बुझाउने प्रयत्नमा असफल छन्। प्रकाश र किरण अण्डा बेचेर करिश्मालाई हेर्न चाहन्छन्, तर गाउँमा फिल्म चलिरहँदा उनीहरू बेखबर झैं हुन्छन्।

यसले मुख्य पात्रको चाहना र लक्ष्यप्रतिको संघर्षमा पटकथा अल्मलिएको पुष्टि गर्छ। द्वन्द्वको उत्कर्षको बेला बाजा बजाउँदै सैनिक गाउँ पस्नु, केटीकै घरमा बसेर विवाह गर्नु, गाउँलेसँगै खुला ठाउँमा राति आनन्दले फिल्म हेर्नु, चुम्बनका दृश्यले फिल्मलाई अस्वाभाविक बनाएको छ।

त्यस्तै, समय र स्थान बुझाउन फिल्ममा माओत्सेतुङको पम्प्लेट देखाइएको छ। तर, माओवादीले माओत्सेतुङलाई पम्प्लेटको रुपमा प्रयोग गरेको थिएन। फिल्ममा माओवादी पार्टीको झण्डा र चुनाव चिह्न एउटै छ। नेपाली भाषाका सबटाइटलमा प्रशस्त अशुद्धि छन्। बीचबीचमा प्रयुक्त ठाडी भाका पनि सन्दर्भसँग जोडिन सकेको छैन। निर्देशक भाम बीचमा बसेर सिर्जना गर्नुपर्ने जिकिर गर्छन् तर ‘एपिलग’ मा ‘कथित माओवादी गृहयुद्ध’ पनि भन्छन्।

Black.Hen.1मुगु भन्नेवित्तिकै जो–कोहीलाई रारा तालको सौन्दर्यको सम्झ्ाना हुन्छ, जहाँ रगत पखाल्ने दृश्य सशक्त भए पनि फिल्मांकनमा खराबमध्येकै एक बनेको छ। प्राकृतिक सौन्दर्यको उपयोगबाट दुःख देखाउन नसकिने होइन। जस्तो, एरिक भ्यालीले ‘क्याराभान’ मा डोल्पाको दुःखका कथा देखाइरहँदा हिमाली सौन्दर्य देखाउन बिर्सिएका छैनन्।

यस्ता त्रुटि शृखलाले कालो पोथी लाई उत्कृष्ट हुनबाट रोकेको छ। मौलिक कथामा आधारित उत्कृष्ट फिल्म निर्माणका लागि भने कालो पोथी प्रारम्भ र प्रोत्साहन दुवै हो। यस्ता फिल्महरूको निरन्तरताबाट नेपाली फिल्मी क्षेत्रले नयाँ क्षितिजतर्फको यात्रा तय गर्नेछ। त्यसैले, कालो पोथी हेरिनुपर्ने फिल्म हो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>