टिप्पणीबुधबार, आषाढ १५, २०७३

चाैथाे कुन्मिङ फाेरमः भारतको बाउँटो

टीकाराम राई

दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका नेताहरूको बाक्लो उपस्थिति रहेको कुन्मिङ मेलामा भारतको अनुपस्थिति अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्नेहरूका लागि कौतुहलको विषय बनेको छ ।

kunmingचीनको कुन्मिङ शहरमा ३० जेठदेखि ७ असारसम्म आयोजित चौथो चीन–दक्षिण एशिया व्यापारिक मेला (कुन्मिङ फोरम) को उद्घाटन समारोहमा दक्षिण एशियाली मुलुक नेपालका उपराष्ट्रपति र माल्दिभ्सका सभामुख उपस्थित थिए भने पाकिस्तान र श्रीलंकाका मन्त्री तहको सहभागिता रह्यो।

भियतनाम, कम्बोडिया र लाओसले उपप्रधानमन्त्री तहको उपस्थिति जनाएको मेलामा विश्वका अन्य ३३ राष्ट्रले मन्त्री र सचिवस्तरीय प्रतिनिधि पठाए। भारतले भने उच्चस्तरीय प्रतिनिधि नपठाएर यस पटक पनि कुन्मिङ फोरमप्रति उपेक्षा जनाएको छ।

चीनले दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा आर्थिक प्रभावलाई विस्तार गर्न हरेक वर्ष कुन्मिङ फोरम आयोजना गर्ने गरेको प्रष्टै छ। अहिले फोरमलाई चीनले आफ्नो महत्वाकांक्षी परियोजना ‘वान बेल्ट, वान रोड’ को अंग बनाएको छ।

मेला उद्घाटनमा व्यापार, ऊर्जा, कृषि, जलस्रोत, यातायात र कनेक्टिभिटी मामलाका चिनियाँ उपप्रधानमन्त्री (चार उपप्रधानमन्त्रीमध्ये एक) वाङ्ग याङ्गले कुन्मिङ फोरम बंगलादेश, चीन, भारत र म्यानमार (बीसीआईएम) इकोनोमिक कोरिडोर मात्र नभई ‘वान बेल्ट, वान रोड’ परियोजनाको अंग भएको खुलस्त पारे।

चीनको यी दुई रणनीतिक परियोजना जोडिएकोले शुरूदेखि नै भारतले कुन्मिङ व्यापारिक तथा औद्योगिक मेलालाई उपेक्षा गर्दै आएको बुझन सकिन्छ। भारतले ‘वान बेल्ट, वान रोड’ परियोजनालाई सैन्य रणनीतिक परियोजना भनी विरोध गरिरहेको छ।

यता चीनले बीसीआईएम आर्थिक कोरिडोर विस्तारलाई कुन्मिङदेखि कलकत्तासम्म २८ सय किलोमिटर राजमार्ग निर्माणको पहल गरिरहेको छ। यो राजमार्गले कुन्मिङलाई म्यानमारको माण्डले, बंगलादेशको चटगाउँहुँदै भारतको कोलकाता जोड्ने लक्ष्य राखेको छ।

यो राजमार्गको सम्भाव्यता पुष्टि गर्न सन् २०१३ को शुरूमा कोलकाता–कुन्मिङ कार र्‍याली पनि गरियो। कुन्मिङ फोरम ‘वान बेल्ट वान रोड’ परियोजनाको अंग बनेपछि यसको दायरा फराकिलो भएर सामुद्रिक रेशमी रोडको माध्यमबाट इटालीको भिन्सीसम्म विस्तार भएको छ। वान बेल्ट, वान रोड परियोजनाले पुरानो रेशममार्ग र सामुद्रिक रेशममार्गलाई पुनः सञ्चालन गर्न खोजेको छ।

भारतले कुन्मिङ फोरमलाई कूटनीतिक रूपमा उपेक्षा गर्दै व्यापारिक तथा औद्योगिक प्रवर्द्धनको लागि अधिक उपयोग गर्ने नीति लिएको छ। यस पटक करीब ८९ देशका पाँचहजार स्टलमध्ये १५० भन्दा बढी भारतीय र नेपाली व्यवसायीका पनि २०० भन्दा बढी स्टल थिए।

तर, नेपाली स्टलमा एकै प्रकारका सामान भएकोले आकर्षक हुन सकेन। नेपालको भन्दा कम स्टल भए पनि भारतीय व्यवसायीहरूले इरान, टर्की, किर्गिस्तान र बेलायतका व्यवसायीहरूसँग सम्बन्ध स्थापित गर्ने अवसरको रूपमा उपयोग गरे, कुन्मिङ फोरमलाई। उनीहरूले युनान प्रान्तसहित चीनका औद्योगिक क्षेत्रहरूमा उद्योग स्थापना र बजारको सम्भावना पनि हेरे।

कुन्मिङ फोरम कूटनीतिक, व्यापारिक–औद्योगिक क्षेत्रमा मात्र सीमित नभई ‘वान बेल्ट, वान रोड’ परियोजनाको परिपूरक हुन गएबाट जनस्तरमा सम्बन्ध विस्तारको माध्यमको रूपमा पनि विस्तार भएको छ।

विचारको उपस्थिति देखाउने थिंक ट्यांक सेमिनारमा संख्याको दृष्टिले चिनियाँ पछि भारतीय बुद्धिजीवीहरू बढी हुनुले पनि यसको महत्व देखाउँछ। सेमिनारहरूमा १६२ मध्ये १२० चिनियाँ, १७ भारतीय, दुई जना नेपाली थिए।

राज्यसभाका सदस्य तरुण विजयको नेतृत्वमा रहेको भारतीय बुद्धिजीवीहरूले प्रभावशाली बौद्धिक उपस्थिति त जनाए नै, भारतीय विदेश नीतिको अनुसरण गर्दै थिंक ट्यांक सेमिनार प्रभावकारी नभएको भन्दै बहिष्कारको धम्कीसम्म दिएर आयोजकका लागि टाउको दुखाइ बने।

सरकारी निम्तोमा दक्षिण तथा दक्षिण पूर्वी एशियाका करीब ५० जना पत्रकारहरू कुन्मिङ फोरममा थिए। त्यसमध्ये सबभन्दा बढी नौ जना नेपाली र दुई जना भारतीय पत्रकार थिए।

फोरममा उपस्थित पत्रकारहरूको अलुम्नी एसोसिएसन बनाउने पहल भाँड्न झ्ण्डै सफल भए, जम्मा दुई जना भारतीय पत्रकार। फोरममा आउने भारतीय पत्रकारहरूले प्रत्येक पटक यस्तै रवैया देखाउने र उनीहरूलाई खुशी बनाउन चिनियाँ जनसम्पर्क विभागले ठूलो प्रयास गर्ने गरेको चिनियाँ अधिकारीहरूले बताए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...