थप समाचारबुधबार, आषाढ १५, २०७३
ग्रेडिङले गडबडी
अक्षरांकन पद्धतिको मूल्यांकनमा उत्तीर्ण भए पनि कुनै एक विषयको ‘डी’ ग्रेडले धेरै विद्यार्थीलाई पढ्नबाट बञ्चित गरेको छ ।
दार्चुलाको लटिनाथ उच्च माविबाट २०७२ को एसएलसीमा ‘सी प्लस’ ग्रेड प्राप्त गरेकी कोपिला बिष्ट रिजल्ट आउनु अगावै महेन्द्रनगर झारेर स्टाफ नर्सको तयारी कक्षा लिइरहेकी थिइन्। कोपिलाको (२.४ जीपीए भन्दा कम) भन्दा कम जीपीए भएका विद्यार्थी अहिले नर्सिङको फर्म भर्न लागेका छन्, तर उनले नपाउने भइन्, गणितमा डी प्लस मात्र भएकोले।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले नर्सिङ, एचए, फार्मेसीलगायतका विषय पढ्न अंग्रेजी, गणित र विज्ञानमा कम्तीमा ‘सी प्लस’ आएको र २ जीपीए प्राप्त भएका हुनुपर्ने मापदण्ड तोकेको छ।
उनले उमाशिप अन्तर्गत विज्ञान, शिक्षा र वाणिज्य संकायको कक्षा ११ मा पनि भर्ना हुन पाउने छैनन्। परिषद्ले ४ असारमा सूचना प्रकाशित गरेर विज्ञान पढ्न २ जीपीए भएको तथा गणित र विज्ञानमा सी प्लस ग्रेड हुनुपर्ने मापदण्ड तोकेको छ।
त्यस्तै शिक्षा संकायका लागि गणितमा कम्तीमा ‘सी’ र वाणिज्य संकायका लागि विज्ञान तथा गणितमा कम्तीमा ‘सी’ ग्रेड हुनुपर्ने उल्लेख गरेको छ, जसमा जीपीए भने १.६ भए पुग्छ।
‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थी पनि कम्तीमा दुई विषयमा मौका परीक्षा दिएर ग्रेड सुधार गर्न सक्ने भएकोले भर्ना प्रक्रियामा सहभागी भएका छन्। तर, ‘डी प्लस’ कोपिलाले न भर्ना पाउँछिन् न त ग्रेड सुधारको मौका।
उनले अंग्रेजीमा ‘सी प्लस’, नेपाली, स्वास्थ्य तथा जनसंख्या, अतिरिक्त गणित र स्वास्थ्य तथा शारीरिकमा ‘बी’, विज्ञान र सामाजिकमा ‘सी ग्रेड’ प्राप्त गरेकी छन्। गणितमा ‘डी’ र ‘ई’ आएको भए उनले ग्रेड सुधार गर्न पाउने थिइन्, तर त्योभन्दा बढी ‘डी प्लस’ आएपछि सबैतिरका बाटो बन्द भएको छ।
त्यस्तै, न्यू स्ट्यान्डर्ड इङ्गिलस स्कूल, बुटबलबाट २.८ जीपीए प्राप्त गरेकी स्वस्तिका ढकालले पनि न सीटीईभीटीका कार्यक्रमहरूमा भर्ना हुन पाउँछिन् न त उमाशिपको विज्ञान, शिक्षा र वाणिज्य संकाय अन्तर्गत कक्षा ११ मा।
उनले विज्ञान र स्वास्थ्य तथा जनसंख्यामा ‘ए प्लस’, अंग्रेजी र लेखामा ‘ए’, नेपालीमा ‘बी’ तथा सामाजिक र अर्थशास्त्रमा ‘सी प्लस’ ल्याएकी छन्, तर गणित मात्रै ‘डी प्लस’ छ। उनले न सुधारको मौका पाउनेछिन् न त नर्सिङ वा कक्षा ११ पढ्न। “ग्रेडिङले सारा गडबड गरिदियो”, महेन्द्रनगरमा नर्सिङको तयारी कक्षा लिइरहेकी उनी भन्छिन्, “केही गर्न नमिल्ने यो कस्तो ग्रेडिङ हो?”
मालिकार्जुन मावि, दार्चुलाबाट २.२ जीपीएसहित ‘सी प्लस’ ल्याएका राजेश कुमार डागालाई पनि गणितको ‘डी प्लस’ ले यता न उता बनाएको छ। कक्षामा पहिलो या दोस्रो हुँदै एसएलसी दिएका उनले नेपाली, अतिरिक्त गणित, स्वास्थ्य तथा जनसंख्या र शिक्षा विषयमा ‘बी’, अंग्रेजीमा ‘सी प्लस’ तथा विज्ञान र सामाजिकमा ‘सी’ ग्रेड प्राप्त गरेका छन्।
उनी भन्दा कम जीपीए प्राप्त विद्यार्थी सीटीईभीटी अन्तर्गतका कलेज र उमाविहरूमा भर्ना हुन थालेका छन्। ‘डी’ र ‘ई’ ग्रेड प्राप्त विद्यार्थी समेत स्तर वृद्धिका लागि मौका परीक्षाको फर्म भर्न पाइरहेका छन्। महेन्द्रनगर झारेर स्वास्थ्य सहायक (एचए) को तयारी कक्षा लिएका उनले दार्चुला जिल्ला शिक्षा कार्यालयमार्फत परीक्षा नियन्त्रकलाई पठाएको पत्रमा ग्रेड घटुवा गराइदिन माग गरेका छन्।
पहिलो पटक देशव्यापी रूपमा लागू भएको एसएलसीको अक्षरांकन मूल्यांकन पद्धतिमा ‘डी प्लस’ ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ। नियमिततर्फ विषयगत हिसाबले अंग्रेजीमा ७१ हजार १२५ विद्यार्थीको ‘डी प्लस’ छ।
त्यस्तै गणितमा ५३ हजार २६१ र विज्ञानमा ६७ हजार ८१ विद्यार्थीको ‘डी प्लस’ ग्रेड छ। समग्रमा नियमिततर्फ ५६ हजार ७६३ विद्यार्थीले ‘डी प्लस’ पाएका छन्।
थप शिर्षकहरुः
प्लस टु शिक्षा: अवसर र अन्योल तयारी विनै लागूतयारी विनै लागूतयारी विनै लागू
उत्कृष्ट २६
राम्रा ६३