अन्तर्वार्ता/विचारबुधबार, आषाढ १५, २०७३
तयारी विनै लागू
एउटा विषयमा कमजोर भएकै कारण जिन्दगीभर एसएलसी पास गर्न नसकी कैयौं अवसरबाट बञ्चित रहनुपर्ने अवस्थालाई लेटर ग्रेडिङ प्रणालीले अन्त्य गरेको छ।
ग्रेडिङमा मूल्यांकन गरेर एसएलसी परीक्षाको नतीजा आउनु आफैंमा सकारात्मक पक्ष हो, तर यस बारेमा विद्यार्थी, अभिभावक, शिक्षक, आमजनमानसमा धेरै भ्रम भने रहेको पाइयो। वास्तवमा ग्रेड मूल्यांकन प्रणाली लगाउनु भन्दा अगाडि यस विषयमा पुस्तिका छापेर राष्ट्रिय रूपमा छलफल हुनुपर्दथ्यो। हाम्रो २०६१ सालको प्रतिवेदनले पनि त्यही सुझाव दिएको थियो।
अंक प्रणालीको कमजोरी र किन लेटर ग्रेडिङमा जानुपर्ने भन्ने बारेमा व्यापक छलफल गरेका थियौं।
लेटर ग्रेडिङको व्यवस्था अनुसार कसरी मूल्यांकन गरिन्छ, कसरी विद्यार्थीलाई ग्रेड प्रदान गरिन्छ र विभिन्न ग्रेडहरूले विद्यार्थीको विषयगत क्षमतालाई कसरी परिभाषित गर्छ भन्ने बारेमा पनि व्यापक जानकारी गराइनुपर्दथ्यो। तर यी तयारी नगरिकन लेटर ग्रेडिङ प्रणाली लगाइयो।
लेटर ग्रेडिङको एउटा उपलब्धि भनेको एउटा विषय अनुत्तीर्ण हुँदैमा विद्यार्थी अनुत्तीर्ण नहुनु हो। पहिला पहिला एसएलसीमा एक विषयमा मात्र फेल भयो भने उच्चशिक्षाको ढोका बन्द हुन्थ्यो। अब चाहिं त्यो नहुने भयो।
पहिलेको व्यवस्थामा एक विषयमा कमजोर भएकै कारण जिन्दगीभर एसएलसी पास गर्न नसकी जीवनका कैयौं अवसरबाट बञ्चित रहनुपर्दथ्यो। यसपालिदेखि एक दुई विषयमा कमजोर भए पनि आफूलाई चाख लागेको र आफूले राम्रो गर्न सक्ने विषय लिएर ११, १२ कक्षा र त्यसपछि उच्च शिक्षासम्म पढ्ने अवसरबाट केटाकेटी बञ्चित हुँदैनन्।
यति प्रतिशत ल्याउनेलाई ११ कक्षामा पढ्न दिने वा नदिने भन्ने निर्णय गर्नुहुँदैनथ्यो। यो त कलेजहरूले निर्णय गर्ने विषय हो। जस्तो, भौतिक/रसायन/जीव विज्ञान, गणित र कम्प्युटर साइन्स पढ्न न्यूनतम जीपीए २ ल्याउनैपर्ने भनिएको छ। तर एसएलसीमा थोरै प्रतिशत ल्याउनेले विश्वविद्यालयमा राम्रो गर्दैन भन्न सकिन्न। के पनि बुझन आवश्यक हुन्छ भने केही केटाकेटी ढिलो फुल्ने (लेट ब्लुमर) ‘जात’ का हुन्छन्।
स्कूले पढाइमा राम्रो गर्न नसक्नेहरूले पनि पछि राम्रो गर्दै आउँछन्। विश्वयुद्धताकाको बेलायती प्रधानमन्त्री विस्टन चर्चिल पनि स्कूले जीवनमा यस्तै ढिलो फुल्ने ‘जात’ का थिए।
यसको स्कूले पढाइ त्यति सन्तोषजनक थिएन। तर उनी नै पछि गएर बेलायतको प्रसिद्ध प्रधानमन्त्री बन्न सफल भए। त्यसैले स्कूलमा केही विषयमा कमजोर देखिए पनि त्यस्ता केटाकेटीलाई उच्च शिक्षा लिनलाई रोकावट गर्नुहुँदैन। लेटर ग्रेडिङ लगाएर मात्र शिक्षाको गुणस्तर बढ्ने त होइन। यसको लागि त कक्षा कोठाको पढाइमा नै सुधार आउनुपर्दछ।
अब लेटर ग्रेडिङ प्रणाली अपनाएपछि पढाइमा अलि कमजोरले पनि कक्षा चढ्ने मौका पाउँछन्। कक्षा ११ र १२ मा त्यस्ता केटाकेटीको लागि अंग्रेजी भाषालगायत अन्य विषयमा विशेष सहयोग कक्षाहरू सञ्चालन गर्नु आवश्यक छ। तर यसतर्फ सरकार, विद्यालय/क्याम्पस व्यवस्थापनको ध्यान जान आवश्यक छ।
अब ११ र १२ स्कूल शिक्षाको अंग भएपछि माध्यमिक तहसम्म पढाइ हुने स्कूलका शिक्षकलाई आवश्यकता अनुसार शैक्षिक योग्यता बढाउँदै जानुपर्दछ। वास्तवमा यस्तो निर्णय कक्षा ११ र १२ लाई विश्वविद्यालयबाट निकालेर विद्यालय तहमा राख्ने निर्णय भएकै बेलामा शुरू गर्नुपर्दथ्यो। ढिलै भए पनि सरकारले यसतर्फ तुरून्त सुधार गर्नुपर्ने देखिन्छ।
थप शिर्षकहरुः
प्लस टु शिक्षा: अवसर र अन्योल
ग्रेडिङले गडबडी
उत्कृष्ट २६
राम्रा ६३