समाचारबिहीबार, आषाढ १६, २०७३

सत्य निरुपणः उजुरी संख्या ४५ हजार नाघ्यो

हिमालखबर

सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिनेको संख्या ४५ हजार नाघेको छ ।

माओवादीद्वारा सञ्चालित हिंसात्मक आन्दोलनका क्रमका ४५ हजार पीडितले उजुरी दर्ता गरिसकेका छन् । २ असारबाट एक महीनाका लागि थपिएको समयमा यो संख्या ५० हजार पुग्न सक्ने अनुमान गरिएको छ ।

आयोगले परेका उजुरीको प्रारम्भिक चरणमा द्वन्द्वकालको घटना भएकाले आवश्यक प्रमाण पुगे÷नपुगेको अध्ययन गर्नेछ । प्रमाण नपुगेका र आयोगको कार्यक्षेत्रभित्र नपरेकालाई तामेलीमा राखेर काम अघि बढाउने तयारी गरेको छ । “हत्याको कति ? विस्थापितको कति ? सम्पति कब्जाको कति ? पहिलो चरणमा छुट्याउने काम गरिन्छ, त्यसपछि दोस्रो चरणका अनुसन्धानमा पुग्छौं”, आयोगका सदस्य मञ्चला झाले बताइन् ।

आयोगले दोस्रो चरणमा गम्भीर प्रकृतिका अपराध – हत्या, अपहरण, बलात्कार, शारीरिक र मानसिक यातनालाई हेर्नेछ । त्यससम्बन्धी उजुरी आयोगका पाँच पदाधिकारीले मात्र हेर्ने तय भएको छ । “गम्भीर अपराधका उजुरी खामबन्दी हुन्छ, त्यो खोल्दै खोल्दैनौं, पाँचजना पदाधिकारी बसेर मात्र छलफल गरिन्छ”, झाले भनिन् ।

आयोगले मनाङ र मुस्ताङ बाहेक ७३ जिल्लाबाट उजुरी सङ्कलन गरिरहेको छ । त्यसमध्ये मध्यमपश्चिमबाट सबभन्दा बढी उजुरी आएको छ । रुकुम, रोल्पा, सल्यान, सुर्खेत, दैलेखलगायत जिल्लाबाट उजुरी बढी परेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>