समाचारबिहीबार, आषाढ १६, २०७३

विद्यार्थी लीला

रामेश्वर बोहरा

lilaपहिलो संविधानसभाको कार्यकालमा संविधानसभासँगै व्यवस्थापिका–संसद्भित्र आशलाग्दो र प्रभावकारी उपस्थिति देखाएकी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) की युवानेतृ, पूर्व सभासद्/सांसद् लीला न्याइच्याईं (३६) असार पहिलो साता चीनको कुन्मिङस्थित युनान विश्वविद्यालयमा भेटिइन्।

दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका पत्रकारमाझ विश्वविद्यालयले गरेको छलफलमा चिनियाँ र अंग्रेजी दुवै भाषामा पत्रकारको जिज्ञाशा मेटाएकी लीला युनान विश्वविद्यालयमा विद्यावारिधि गर्दै रहिछन्। “राजनीतिबाट केही समय विश्राम लिएर विद्यार्थी भएकी छु” उनले हिमाल सँगको संक्षिप्त भेटमा भनिन्, “अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्दैछु।”

हिंसात्मक विद्रोह छाडेर माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि गठन भएको अन्तरिम व्यवस्थापिका–संसद् र पहिलो संविधानसभाको सदस्य बन्नु लीलाको राजनीतिक जीवनकै ‘सरप्राइज’ थियो।

lilla1पहिलोपटक सभासद् बन्नुअघि २५ वर्षीया लीला भक्तपुरको बालविकास माविमा पढाउँथिन्। नारायणमान विजुक्छे (रोहित) समूहका कार्यकर्ता बुबा बद्रीको प्रभावले ६ कक्षा पढ्दादेखि मावि स्तरीय विद्यार्थी संगठन ‘विद्यार्थी हित समिति’ मा आबद्ध भएकी, २०५४ मा भक्तपुर बहुमुखी क्याम्पसमा नेमकिपा सम्बद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संगठनबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लडेकी र २०५५ मा संगठनको केन्द्रीय सदस्य बनेकी लीलाको राजनीतिक पृष्ठभूमि सक्रिय तर सामान्य कार्यकर्ताको मात्र थियो।

संविधानसभा–व्यवस्थापिकामा रहँदा लीला उदाउँदो राजनीतिकर्मीका रुपमा परिचित बनिन्। विद्यावारिधिको लक्ष्य पनि उनको अर्को ‘सरप्राइज’ हो त? त्रिभुवन विश्वविद्यालयबाट लाइब्रेरी साइन्समा सर्वोत्कृष्ट हुँदै स्नातकोत्तर गरेकी लीला भन्छिन्, “यो त सरप्राइज कसरी हुनु, म एक वर्षदेखि यहाँ पढिरहेकी छु।”

अर्थशास्त्र र अंग्रेजी साहित्यकी विद्यार्थी लीलाको रोजाइमा पीएचडीका निम्ति आर्थिक महाशक्ति बन्ने बाटोमा अघि बढेको चीनकै विश्वविद्यालय पर्नु र विषय पनि अन्तर्राष्ट्रिय सम्बन्ध छान्नु नेपालको भूराजनीतिलाई गहिराइमा पुगेर बुझ्ने प्रयास हुनसक्छ। राजनीतिलाई नै लक्ष्य बनाएकी लीला त्यसबाट अलग रहन चाहन्नन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>