रमझमबिहीबार, आषाढ १६, २०७३
नरोकिने कथाको सँगालो
रेडियो नाटक र चलचित्र लेखनमा परिचितै नाम हो, अभिमन्यु निरवी। विशेषगरी धारावाहिक रेडियो नाटक ‘नयाँ बाटो, नयाँ पाइला’ मार्फत श्रोतामाझ चिनिएका निरवीले नेपाली चलचित्रका दर्शकका लागि ‘अन्तराल’, ‘श्री ५ अम्बरे’ र ‘वडानम्बर ६’ लेखे।
श्रव्य–दृश्यमा दह्रो गरी आएका निरवीले संक्रमणकालीन समाजका पात्रहरूमाथि लेखेका कथाहरूको सँगालो ‘साउने झरी’ बजारमा आएको छ।
बाँसुरी बजाउने युवकको प्रेममा परेकी युवतीको कथा ‘बाँसुरी’ बाट शुरु भएर अपूर्ण प्रेमकै कथा ‘शरणार्थी सपना’ मा टुंगिने संग्रहमा मुख्यतः सीमान्तकृत समुदाय र बेरोजगार युवा पात्रहरूको मनोविज्ञानलाई दृश्यात्मक बनाएर प्रस्तुत गरिएको छ। २० वटा कथाका पात्रहरू बेरोजगारी र विकृत राजनीतिक परिवेशमा पिल्सिएका छन्।
२०६४ सालयता मधेशमा उठेको आन्दोलन र यसबाट प्रभावित बन्न पुगेको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा समस्याहरूलाई कथाकारले विभिन्न पात्रमार्फत चित्रण गरेका छन्।
२०७२ असोजबाट पुनः शुरु भएको मधेश आन्दोलनबाट पहाडमा तिक्तता सिर्जना भइरहेको परिवेशमा कथाकारले ‘छुटेको बस्ती’ कथामार्फत मधेश–पहाड जोड्ने प्रयास गरेका छन्। ‘किनेको लोग्ने’ मा मधेशमा व्याप्त दहेेजप्रथा ज्वाईंलाई पैसाले रिझाउनुपर्ने कुसंस्कृति विरुद्धकी पात्र मधुको रचना गरेका छन्।
धेरैजसो कथा मधेशबारे छन्। कथाकारले राजनीतिक कार्यकर्ताको प्रवृत्तिमाथि निर्मम प्रहार गरेका छन्। केवल भोटको राजनीतिमा केन्द्रित हुन पुगेको लोकतन्त्रले देखाउने सपना र वर्षेनि प्राकृतिक–राजनीतिक प्रकोपमा पिल्सिने मधेशका सर्वसाधारणको मनछुने चित्रण गरेका छन्।
कथा ‘बाइढ’ मा खोलाले छेकेका दुई पात्रको सम्वाद छ। पानोदेवी आकाशतिर हेर्दै बिल्टो मण्डललाई सोध्छिन्, “त्यो हेलिकप्टरलाई बाइढले छेक्दैन…?” पानोको कुरा नसुनेझैं बिल्टो गोरुलाई कराउँछ, “हे चलै न, चल चल।”
मधेशपछि घरि पश्चिम पहाड त घरि काठमाडौंका रैथाने र युवा बेरोजगारको कथा आउँछन्। गाउँघरदेखि काठमाडौं र भारतीय शहरहुँदै खाडी मुलुकसम्म भौंतारिने वा त्यसको स्वप्निल तयारी गरिरहेका पात्रहरूको बोलीमा मौलिक लवज सुनिन्छ।
स्थानीयपन नछाडेका कथाहरू पढ्दा खर्खरी मेलो सर्छ। छिटफुट बाहेक सबै युवा पात्र भएको कथाहरूमा प्रेमको छट्पटी मात्र होइन, नपढी हुँदैन भन्ने मनोविज्ञान पनि शक्तिशाली छ। संघर्ष सफल भएपछि खुशीले भिजेका महिला पात्रहरू जीवन्त लाग्छन्।
काठमाडौंको रमाइलो रात्रि जीवनभित्र दर्दनाक पीडा भोगिरहेका महिला पात्रहरू आँशु लुकाएर हाँसेका छन्। वैदेशिक रोजगारीका कारण युवा उमेरमै एकल बनेकी युवती सामाजिक र यौनिक दबाबसामु हिम्मतिला निर्णय गर्छन्।
सहिष्णुता, सद्भाव र वर्तमान जेजस्तो भए पनि भविष्यप्रति आशावादको सन्देश दिने निरवीको पहिलो कृति ‘साउने झरी’ अवश्य पनि उत्कृष्ट कथासंग्रह होइन। शब्दको अधिक प्रयोग र शब्द चयनदेखि शुद्धाशुद्धिसम्मका कमजोरी छन्, यसमा। र पनि, यो हिजोआज पढ्न पाइने औसत कथाभन्दा पठनीय कृति बन्न पुगेको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
