समाचारबिहीबार, आषाढ १६, २०७३
नयाँ शक्तिको नाममा अशुली गर्ने हतियारसहित पक्राउ
हतियार देखाएर व्यावसायीहरुसँग रकम अशुल्दै आएका ललितपुर उपमहानगरपालिका–७, ट्यागलका विकास महर्जन (४४)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामाजिक सञ्जालमार्फत् हतियारसहितको तस्वीर पठाउने र मार्नेसम्मको धम्की दिदै अशुली गर्ने महर्जनलाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो । महर्जनलाई हतियारसहित पक्राऊ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए ।
उनका अनुसार महर्जनलाई जावलाखेल प्रहरी वृत्तमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पेस्तोलसहित पक्राऊ परेका महर्जन विरुद्ध विभिन्न अपराधमा निवेदन परेको प्रजिअ शर्माले बताए ।
महर्जनले भाइबर तथा फोनमार्फत् धम्की दिएर अशुली गर्दै आएका थिए । उनले ट्यागल क्षेत्रमा आफू नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र भट्टराई पत्नी हिसिला यमीको मान्छे भएको भन्दै धम्क्याउने गरेका छन् । यसअघि माओवादीको नामबाट अशुली गर्ने महर्जन बाबुराम भट्टराईले नयाँ शक्ति खोलेपछि उक्त पार्टीको कार्यकर्ता बताउन थालेका हुन् ।
यसअघि पनि विभिन्न पटक–पटक पक्राऊ परेका महर्जनलाई तुरुन्तै छोडिन थालेपछि उजुरी नै दिन छाडेको एक स्थानीयले बताए । तर, लगातार ठूलो रकमको माग गर्दै अपहरण र मार्नेसम्मको धम्की दिन नछाडेपछि कार्बाहीको माग गर्दै ट्यागलका स्थानीयले १६ असारमा ललितपुर प्रशासनमा सामूहिक उजुरी समेत दिएका छन् ।
यसअघि लुम्बिनीस्थित होटल लिटल बुद्धका सञ्चालक प्रविन शाक्यलाई गोली प्रहार गरेपछि प्रहरीले महर्जनलाई नियन्त्रणमा लिएको थियो । तर, होटलमै आएर गोली चलाएका मर्हजनलाई २४ दिनभित्रै छोडिएको थियाे । यसपछि पनि मर्हजनले धम्क्याएर अशुली गर्न छाडेका थिएनन् ।