ब्लगशनिबार, आषाढ १८, २०७३

समृद्धिको मृगतृष्णा

शेखर खरेल

देशको नेतृत्वमा रहेका पुस्ताको अकर्मण्यताको शिकार भइरहेका हामीले भोलिका पुस्ताको भविष्य उज्यालो बनाउन लागिहाले मात्र समृद्धि सम्भव छ ।

म यतिबेला हिमाल खबरपत्रिकामा एकवर्षे स्तम्भ लेखनको ‘रेट्रोस्पेक्ट’ (पश्चादवलोकन) गरिरहेछु। मेरा अधिकांश लेखनी बेथितिमाथि पोखिएका र तिनका संवाहक, खासगरी राजनीतिक नेतृत्व पंक्तिमाथि खनिएका रहेछन्।

किन सुन्दर र उज्याला विषयमाथि शब्द खर्चिइएनन्? ती समय वा परिघटनाका स्वाभाविक प्रतिक्रिया थिए वा निराशा, कुण्ठित अवचेतनका अभिव्यक्ति? अझ् संचारमाध्यम र सामाजिक सञ्जालमा पोखिने नकारात्मक टीका–टिप्पणी र निराशाजनक संवेग–आवेग देख्दा कतै हामी सामूहिक उदासी (कलेक्टिभ डिप्रेसन) बाट त गुज्रँदै छैनौं? प्रश्नहरूले मन हुँडलिन्छ।

जीवनभर कहिल्यै बाह्य आप्रवासनको प्रयास नगरेको, पश्चिमा देशको विकाउ शैक्षिक डिग्री र त्यहीं काम गर्ने अवसर हुँदाहुदै स्वदेश फर्किएर केही गरौं भन्दै डटिरहेकाले पनि मलाई यस्ता लेख लेख्ने नैतिक साहस मिल्छ। भविष्यप्रतिको आशामुखी चेतना र प्रयासबाटै यहाँसम्म आइपुगेको हुँ, सामान्य पहिचानयोग्य उपस्थिति पनि बनाइसकेको छु। तर, किन मनभित्र अँध्यारोले डेरा गरिबसेको छ? भविष्यप्रतिको चिन्ता हुन सक्छ, जसलाई वर्तमान सन्दर्भ र सूचकको कसीमा राख्दा पक्कै पनि सुखद् देखिंदैन।

राणाशाहीविरुद्धको संघर्ष र त्यसपछिका लोकतन्त्र, गणतन्त्र प्राप्तिको शान्तिपूर्ण र हिंसात्मक आन्दोलन अनि ६ दशक भन्दा लामो संविधानसभाको उत्कट अभिलाषाको सफल अवतरण ‘नेपालको संविधान, २०७२’ पछि पनि मुलुकका समस्या ज्यूँका त्यूँ छन्। यति विशाल राजनीतिक परिवर्तनका बाबजूद पनि मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्न सकेको छैन। संविधान घोषणापछि आर्थिक समृद्धिको बाटोमा लम्कने विश्वास गरिएको देश संविधान कार्यान्वयनकै माखेसाङ्लोमा जकडिएको छ। र, यसबाट निस्कने इच्छाशक्ति राजनीतिक नेतृत्वमा देखिएको छैन।

निराशाको गाँठो
फ्रान्सेली सैनिक शासक नेपोलियन बोनापार्टसँग जोडिएको एउटा रोचक प्रसंग छ। ग्रीष्मयामको कुनै मध्य दिन फ्रान्सेली सेनाको एक टुकडी पेरिसको शइलिजे मार्गमा पैदल मार्च गरिरहेको थियो। टन्टलापुर घाम र आर्द्रताका कारण सैनिक असिन–पसिन थिए। तर, सिंयाल लाग्न सडकछेउ रूख बुट्यानको नामोनिशान थिएन। नेपोलियनले आफ्ना सैनिक कमाण्डरलाई सोधेछन्, ‘तिमीहरूले किन यहाँ रूख नरोपेको?’

कमाण्डरले भनेछन्, ‘हैन हजूर, यहाँ अहिले रूख रोपे झयाङ्गिन मात्र बीस वर्ष लाग्नेछ।’ कमाण्डरको जवाफले क्रूद्ध नेपोलियनले हप्काएछन्, ‘त्यही मूर्ख सोच त तिमीहरूसँग छ, हाम्रा अघिल्ला पुस्ताले बीस वर्ष अघि बिरुवा रोपिदिएका भए आज हामी छहारीमा मार्चपास गर्न पाउनेथियौं। हामीले आजै यहाँ बिरुवा रोप्नुपर्छ ताकि आउने पुस्ताले यस्तै हविगत भोग्न नपरोस्।’

नेपोलियनको प्रसंगलाई हाम्रै सन्दर्भमा पनि हेरौं। सन् १९११ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले भव्य सिंहदरबार उज्यालो पार्न फर्पिङमा मुलुककै पहिलो ५०० किलोवाटको चन्द्रज्योति जलविद्युत् स्टेसनको जग हाले।

चन्द्रशमशेरको प्रयासको १०५ वर्ष बितिसक्दा पनि हामीले करीब ८०० मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सकेका छौं। चरम ऊर्जा संकटका कारण हामी अँध्यारोमा जीवन बिताउन बाध्य छौं। मुलुकका सबै बेथितिका लागि विदेशीतिर चोरऔंला उठाउने हामीलाई देशभित्रै ऊर्जा विकास गर्न कसैले रोकेको त थिएन नि!

एउटा पुस्ताको अकर्मण्यताको शिकार अर्को पुस्ता बनिरहेको छ। त्यसो भए, के आज हामीले गरेका काम भोलिका पुस्ताको हितमा छ? के भविष्यको नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको सपना जस्तै सुन्दर छ? वा, नयाँ शक्तिका भाष्यकार बाबुराम भट्टराईको ‘समृद्धि संभव छ हाम्रै पालामा’ नारा जस्तै छ? अपत्यारिला सपना बाँडे पनि ओलीले विकासका मुद्दा बहसमा ल्याएकोमा एकथरीको ‘शंकाको सुविधा’ पाएका छन्। तर, भट्टराईको ‘हाम्रै पालामा’ उनी जस्तै अमूर्त छ।

समृद्धिको बाटो
जेजस्ता तर्क गरिए पनि आजको निराशाको जड राजनीतिक नेतृत्वतहको अकर्मन्यता र अनुत्तरदायी शासन हो। मृगमरीचिका जस्तो सुन्दर सपना बाँड्ने भन्दा पनि सानो सकारात्मक प्रयास नै समृद्धिको भरपर्दो पाइला हो। हिजोको पुस्ताको अकर्मण्यता आजको पुस्ताले भोग्नु परेको दृष्टान्त पाठका रूपमा लिंदै हामीले व्यक्तिगत तुष्टि र ममहत्वाकांक्षा त्याग्न सके मात्र भोलिको समृद्धि संभव छ।

बीपी कोइरालाले देशको बारे कुनै निर्णय लिंदा माटो हातमा लिऊँ भने जस्तै आफूले गर्ने निर्णय र लाभ हानिबारे निर्णय लिंदा आफ्ना सन्तानको अनुहार सम्झिए मात्र पनि द्विविधाहरूबाट हल पाउनेछौं। यो नै समृद्धिको भरपर्दो मार्ग हुनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...