थप समाचारशनिबार, आषाढ १८, २०७३

सर्पदंशको सिजन

हिमालखबर

जुनसुकै प्रकारको सर्पले डसे पनि आत्तिने र अत्याउने काम नगर्नु प्राथमिक उपचारतर्फको पहिलो स्टेप हुन्छ ।

– डा. सुमनराज ताम्राकार

गर्मी सर्पहरूको लागि उपयुक्त मौसम हो। गर्मीसँगै विशेषतः तराई र भित्रीमधेशमा विभिन्न प्रजातिका सर्पहरूको चलखेल बढ्छ। आहार र प्रजनन्को लागि चलखेल बढ्ने क्रममा सर्पहरू मानिसको नजिक आइपुग्छन्। त्यसक्रममा स्वाभाविक रूपमा सर्पदंशका घटना हुन्छन्।

त्यसो त सर्पले टोक्दैमा मानिस वा पशुपक्षी मरिहाल्छन् भन्ने होइन। संसारमा पाइने ३५ सय प्रजातिका सर्पमध्ये १५ प्रतिशत मात्र विषालु हुन्छन्। त्यसमध्ये पनि जम्मा २०० प्रजातिका सर्पको डसाइबाट मात्र मृत्यु हुन्छ।

नेपालमा सर्पलगायत सरीसृपमाथि विस्तृत अध्ययन–अनुसन्धान भएको छैन। यहाँ पाइने ७७ प्रजातिका सर्पमध्ये २२ प्रजाति विषालु मानिन्छन्। नेपालमा वर्षेनि १० हजार मानिसलाई सर्पले डस्छ भन्ने मोटामोटी अनुमान छ। तीमध्ये १५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। नेपालको तराईमा हुने कोब्रा (गोमन) र करेत बढी विषालु हुन्छन् भने पहाडी क्षेत्रमा भाइपर। भाइपरलाई गाउँघरमा गुर्भे पनि भनिन्छ।

लक्षण/चिह्नहरू
QjUauZnविषालु नभएका सर्पको छालामा स–साना गोलाकार कत्ला हुन्छन्। त्यस्तो कत्ला शरीरभरि समान हुन्छ। यस्ता सर्पको टाउको सामान्य प्रकारको हुन्छ। टाउको ठूलो, त्रिभुजाकार वा चेप्टो छ भने चाहिं त्यो सर्प विषालु हुन्छ।

विषालु सर्पको आँखा र नाकको बीचमा स–साना प्वाल पनि हुन्छन्। त्यस्तो सर्पले टोकेको भागको दुई छेउमा दुई वटा दाँतको प्रष्ट डोब हुन्छ। घातक विष नभएको सर्पले टोकेको रहेछ भने एकै प्रकारका दाँतका निशान देखिन्छ।

सर्पले डस्दा वा डसेको अनुमान हुँदा (कहिलेकाहीं डसे पनि सर्प नदेख्न सकिन्छ) सबभन्दा पहिले घाउलाई रुमाल या हातैले पुछेर दाँतका डोबहरू हेर्नुपर्छ। समान प्रकारका दाँतका निशान देखियो भने बिल्कुलै नडराई/नआत्तिई प्राथमिक उपचारबारे सोच्नुपर्छ। विषालु सर्पले नै डसेको देखिए पनि नआत्तिई तुरुन्त उपचारकेन्द्रतिर जानु/लैजानुपर्छ।

डसेको अंगलाई भरसक माथि उचाल्नुपर्छ र धेरै हल्लाउनु/झ्ड्काउनु हुँदैन। धेरै आत्तिएर दौडधूप गर्दा सर्पको विषले छिटो काम गरेर चाँडै रगत पातलो हुने, रक्तचापमा कमी आउने, मिर्गाैला बिग्रने र मांसपेशी शिथिल बन्ने हुन्छ। त्यसपछि आँखा खोल्न गाह्रो हुने र श्वासप्रश्वासमा अवरोध आई मृत्यु हुन सक्छ।

प्राथमिक उपचार
सबै सर्प विषालु हुँदैनन् र विषालु सर्पले नै टोके पनि सबैको मृत्यु हुँदैन। जुनसुकै प्रकारको सर्पले डसे पनि उपचार गर्दा निको हुने कुरा सम्झ्ने र सम्झाउने गर्नुपर्छ।

अझ्, सर्पले टोकेका मध्ये ९० प्रतिशत बिरामी विषले नभई आत्तिएर (हार्ट फेल भएर) मर्छन् भन्ने भनाइ सम्झ्नुपर्छ। टोकिएको भागलाई धेरै हलचल गराउनुहुँदैन। टोकिएको घाउभन्दा माथि पट्टी कस्नुपर्छ, तर धेरै कस्सिने गरी होइन। पट्टी र छालाबीच एउटा औंला छिर्ने गरी खुकुलो हुनुपर्छ। त्यो पनि आधा घण्टाभन्दा लामो समय बाँध्नुहुँदैन।

त्यस्तै, सर्पले टोकेको घाउ काट्ने, निचोर्ने वा चुस्ने गर्नु हुँदैन। झारफुक गराउनेतिर त झ्नै लाग्नुहुँदैन। सर्पदंशको बिरामीलाई यथासक्य छिटो एन्टी स्नेक भेनम सुई चाहिने हुनाले घरेलु उपचारतिर लागेर समय बर्बाद गर्नुहुँदैन।

सर्पले टोकेपछिको प्राथमिक उपचारस्थल नै सबभन्दा नजिकको अस्पताल हुनुपर्छ। अस्पतालमा बिरामीको रगत लगायतको प्रारम्भिक परीक्षणपछि एन्टी स्नेक भेनम दिइन्छ। कतिपय अस्पतालमा यस्तो सुई सरकारको तर्फबाट निःशुल्क हुन्छ। कहिलेकाहीं एन्टी भेनम सुईको नकारात्मक असर देखिंदा बिरामीलाई लामो समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ।

प्रायः खेतबारीमा काम गर्दा र कहिलेकाहीं घरमै पनि सर्पले डस्छ। धेरैजसो घटनामा खुट्टामा सर्पले डसेको हुन्छ भने त्यसपछि हातमा। शरीरको अन्य भागमा सर्पले टोकेको घटना विरलै हुन्छ।

सर्पबाट जोगिन घर वरिपरि झाँडी, घाँसपात र दाउराको थुप्रो राख्नुहुँदैन। घर वरिपरि मुसाका दुला भए पुर्नुपर्छ। राति घर वरपर वा खेतबारीमा निस्कनुपरे गमबूट र पूरै खुट्टा छोपिने कपडा लगाउनुपर्छ। रूखको प्वाल र जमीनका दुलाहरूमा हात छिराउनुहुँदैन। सर्प भेटिंदा त्यसलाई जिस्क्याउने वा अरूलाई देखाउन हातमा लिने गल्ती त झ्नै गर्नुहुँदैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...