खेलकुदशनिबार, आषाढ १८, २०७३
ह्वीलचेयर बास्केटबल
–स्मृति बस्नेत
ललितपुर, लगनखेलस्थित नेपाली सेनाको तालीम तथा खेलकुद केन्द्रको हल दर्शक, खेलाडी र बास्केटबलको आवाजले गुञ्जायमान थियो। दर्शक खेलाडीलाई हौसला दिइरहेका थिए, प्रशिक्षकलाई निर्देशनको चटारो थियो। खेलाडी भने एक हातले ह्वीलचेयर दौडाउँदै अर्कोले निशाना साध्न तत्पर देखिन्थे।
मैदान बाहिरैबाट खेल नियालिरहेका विजय भट्ट चाहिं आफ्नो खेल रणनीति बनाउन मग्न थिए। भट्ट १२ वैशाख २०७२ को भूकम्पमा परी अपांगता भएका मध्येका हुन्, जो आफूजस्तै ८९ खेलाडीसँगै ह्वीलचेयर बास्केटबल लीग च्याम्पियनसिपमा सहभागी छन्।
१५ जेठदेखि शुरु टर्किस एअरलाइन्स इन्गेज इम्पावरिङ लीग प्रतियोगितालाई इन्गेज नामक संस्थाले आयोजना गरेको हो। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ३ वटा समूहले भाग लिएका छन्। प्रतियोगिताको अन्तिम स्पर्धा २५ असारमा हुनेछ।
एसएलसी परीक्षा सकेका १७ वर्षीय भट्ट भूकम्प जाँदा नुवाकोटस्थित घरमै थिए। हेर्दाहेर्दे घर भत्कियो, उनी च्यापिए। उनलाई मेरुदण्ड पक्षघात भयो। “जिन्दगी नै खत्तम भयो भन्ने सोचेको थिएँ”, उनी भन्छन्, “तर, बास्केटबलको तालीम लिएपछि मभित्रको शक्ति गुमेको रहेनछ भन्ने महसूस भएको छ।” भट्ट नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसन (एनएसआईएसए) बाट प्रतियोगितामा भाग लिइरहेका छन्।
गोरखाका केशबहादुर तामाङ जिल्लाकै लाप्राक गाविसका भूकम्पपीडितका लागि राहत सामग्री लिएर गइरहेका थिए। अचानक परकम्प आयो, ट्रयाक्टर हल्लन थाल्यो। डरले भाग्न खोज्दा उनी नराम्रोसँग पछारिए।
अहिले उनी काठमाडौंको साँगास्थित स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टरमा उपचार गराइरहेका छन्। “शुरुमा आफ्नो अवस्था देखेर वैराग लागेको थियो”, तामाङ भन्छन्, “अहिले चाहिं मेरा खुट्टा पो नचलेका हुन् त, हात के भएको छ र भन्ने लाग्छ।” तामाङ पनि बास्केटबल प्रतियोगिताका एक खेलाडी हुन्।
कम्मरमुनि पक्षघात भएका रुपन्देहीका हिमाल अर्याल विगत पाँच वर्षदेखि बास्केटबल खेलिरहेका छन्। २०५९ सालमा मकवानपुरमा छँदा बारुदी सुरुङ विस्फोटमा परी पक्षघातका बिरामी भएका अर्याल नेपाली सेना ह्वीलचेयर बास्केटबल टीमका कप्तान पनि हुन्। “खेलले हामीभित्रका विकार बाहिर निकालिदिन्छ”, उनी भन्छन्।
“खेलाडीका रूपमा चिनिन थालेयता मान्छेहरूले हामीलाई छुट्टै तरीकाले लिन थालेका छन्”, काभ्रेकी २७ वर्षीया सरिता कोइराला भन्छिन्। पहिरोमा पुरिएर अपांगता भएकी उनी खेलकुदले आफू जस्ता आफ्नो र अरुको दृष्टिकोण बदल्न सघाएको बताउँछिन्।
“खेलकुदको सहायताले अपांगता भएका र नभएकाबीचको दूरी कम गर्नु हाम्रो लक्ष्य हो”, प्रतियोगिताको आयोजक इन्गेजका सिमोनी गालिम्बर्ती भन्छन्। इन्गेजले अपांगता भएका खेलाडीको मनोबल बढाउन बास्केटबल प्रशिक्षणसमेत गराइरहेको छ।
प्रतियोगिताका कमिश्नर माइकल रोजेनक्रेत ह्वीलचेयर बास्केटबलका लागि लगानी नै नगरिएको बताउँछन्। तीन वर्षअघि अमेरिकाबाट प्रशिक्षक झिकाई नेपालका अपांगता भएका खेलाडीलाई तालीम दिलाएका उनी प्रतियोगिताको राष्ट्रिय लीग गराउने योजना रहेको बताउँछन्। “अपांगता भएकाहरुका लागि यो प्रतियोगिता अर्को आविष्कार हो”, उनी भन्छन्।