समाचारशनिबार, आषाढ १८, २०७३
संकटमा अन्नपूर्ण पदमार्ग
बाटोले विकाससँगै विनाश पनि ल्याउँछ– विकास संकथनको पुरानो विषयको नयाँ ‘केस’ बनेको छ– अन्नपूर्ण पदमार्ग।
– युवराज श्रेष्ठ, लमजुङ
लमजुङ, भुलभुले–५ ङादीका तिलबहादुर गुरुङ २३ वर्ष पुरानो हिमालय होटल चलाउने कि बन्द गर्ने भन्ने दोधारमा छन्। कुनै बेला पर्यटकले खचाखच हुने उनको होटलमा अहिले फाट्टफुट्ट मात्र पाहुना आउँछन्।
पर्यटक आउन छाडेकै कारण ङादीमा राम्रोमध्येको अन्नपूर्ण होटल बन्द भइसकेको छ। होटल कमलाकी संचालक विष्णु गुरुङ भन्छिन्, “पाहुना आउनै छाडेपछि कसरी होटल चल्छ?”
बेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म यातायात सञ्चालन हुन थालेपछि यस क्षेत्रका होटल व्यवसायीका अप्ठ्यारा दिन शुरू भएका हुन्। मोटरबाटो नबन्दा बेसीशहरबाट चार दिन हिंडेपछि मात्र चामे पुगिन्थ्यो। तर, अहिले काठमाडौंबाट हिंडेकै दिन पुगिन्छ।
स्थानीयवासीको मोटर चढ्ने चाहनाकै कारण बेसीशहरदेखि मनाङ, मुस्ताङ, म्याग्दीहुँदै पोखरा पुगेर टुंगिने विश्वविख्यात अन्नपूर्ण पदमार्ग यतिबेला संकटमा परेको छ।
तीन वर्षअघिसम्म पूरा अन्नपूर्ण क्षेत्र परिक्रमा गर्न पदयात्रीलाई करीब तीन साता लाग्थ्यो। तर, मोटरबाटोका कारण पदमार्ग ७ देखि १० दिनमा सीमित भएको छ। पर्यटक हिंड्ने बेसीशहर–चामे ६५ किमी सडकखण्डमा अहिले दैनिक ९० वटा जीप चल्छन्।
मोटरको आवाज, धूवाँ, धूलोले पदमार्ग कुरुप भएकाले अन्नपूर्ण पदमार्गको साख सकिएको चिन्ता गर्न थालिएको छ। पदमार्गमा रहेका होटल व्यवसायी धमाधम होटल बन्द गरिरहेका छन्। नेपाल माउन्टेन लभर्स प्रालिका निर्देशक तारा डिसीको भनाइमा मोटरबाटोले पदमार्गको सौन्दर्य नष्ट गरेको छ।
बाहुनडाँडास्थित होटल सुपर भ्यूकी सञ्चालक पारु गुरुङ बाटोकै कारण एकैदिनमा थोराङ पास गर्न रुचाउने पर्यटक बढेको बताउँछिन्। “पहिले माओवादी हिंसाले गरिखान दिएन, अहिले बाटोले”, हिमालय होटलका तिलबहादुर गुरुङ भन्छन्।
पर्यटक गाइड सुपिल न्यौपाने पहिले बाटोमा खोला, झ्रना, चराचुरुङ्गीको मात्र आवाज सुनिने तर अहिले जीपको आवाज, धूवाँ, धूलो भरिएको बताउँछन्। तर, मोटरबाटो बनेपछि मनाङ जाने आन्तरिक पर्यटक भने बढेका छन्।
पदमार्गलाई बेवास्ता गर्दै चामेबाट उपल्लो मनाङ पुग्ने मोटरबाटो पनि बनिरहेको छ। अहिले खाङसारसम्म मोटर पुग्छ। यस्तै, पोखराबाट जोमसोमहुँदै मुक्तिनाथसम्म मोटर चलिरहेको छ।
वैकल्पिक मार्गको खोजी
थुप्रै पर्यटन व्यवसायी भने वैकल्पिक मार्ग विकास गर्नुपर्नेमा जोड दिन्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पर्यटन अधिकृत नरेन्द्र लामा मर्स्याङ्दी नदीको किनारै किनार जाने पदमार्गमा अहिले मोटर गुड्न थालेपछि डाँडैडाँडा हुँदै अन्नपूर्ण फेरो लगाउने मार्ग प्रस्ताव गरिएको बताउँछन्।
“डाँडाकाँडा समेट्दा सुन्दर दृश्यहरू देखिने र गाउँ गाउँमा पर्यटनको लाभ पुग्छ”, लामा भन्छन्, “लामा–छोटा अरू रुट पनि प्रवर्द्धन गरिरहेका छौं।” माथिल्लो मनाङस्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङ पनि पहिलेका भन्दा रमणीय स्थान समेटेर नयाँ पदमार्ग बनाउन सकिने तर्क गर्छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अन्नपूर्ण पदमार्गको विरासत कायम राख्न अब धेरै मिहिनेत गर्नुपर्ने बताउँछन्। “पदमार्गमा डोजर चलाउनु पूर्व नै विकल्प खोजिनुपर्थ्यो, गल्ती त्यहींनेर भयो”, उनी भन्छन्। बोर्डले पर्यटन मन्त्रालय र विभागलाई यसबारे पहिल्यै ध्यानाकर्षण गराएको भन्दै जोशी पदमार्ग जोगाउन नसके अर्थतन्त्रलाई नै असर पर्ने बताउँछन्।
…………………………..
हस्तान्तरणको आशा!
समुदायमा आधारित संरक्षण कार्यक्रम अन्तर्गत नेपालमै पहिलोपटक सन् १९९६ मा कास्कीको घान्द्रुकमा स्थापना गरिएको एक्याप दश वर्षभित्रै समुदायमा हस्तान्तरण गरिने उद्देश्य राखिएको थियो।
तर, अझसम्म यसको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले नै गरिरहेको छ।
एक्यापका निर्देशक लालप्रसाद गुरुङ माओवादीको दशवर्षे हिंसाकै कारण हस्तान्तरण कार्यक्रम प्रभावित भएको बताउँछन्। “त्यसबेला गाउँ–गाउँमा संरक्षण अभियानका कार्यक्रम चलाउन सकिएन”, गुरुङ भन्छन्।
वन तथा भूसंरक्षण मन्त्रालयले भर्खरै मात्र ‘एक्याप व्यवस्थापन नियमावली २०७३’ तयार गरेपछि भने हस्तान्तरणको प्रक्रिया अघि बढ्ने आशा गरिएको छ। एक्यापका निर्देशक गुरुङ नियमावलीमा स्थानीयको सुझाव संकलनको काम थालिएको बताउँछन्।
नियमावलीमा एक्याप हस्तान्तरणका क्रममा एक्याप परिषद् गठन गरिने उल्लेख छ। यस्तो परिषद्मा गाउँगाउँमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि, वन मन्त्रालयलगायत सम्बन्धित निकायका प्रतिनिधि रहने व्यवस्था छ। समुदायमा हस्तान्तरण गर्न माथिल्लो मुस्ताङ र माथिल्लो मनाङमा थप काम गर्न बाँकी रहेको बताउँदै गुरुङ भन्छन्, “नेतृत्व सक्षम भएका स्थानमा हस्तान्तरण गर्दै जाने योजना बनाएका छौं।”