समाचारआइतबार, आषाढ १९, २०७३
केयूमा अख्तियारको हस्तक्षेपबारे संसदीय छानविन गरः पूर्व उपकुलपतिहरु
काठमाडौँ विश्वविद्यालय (केयू) को चिकित्साशास्त्रको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपको संसदीय छानबीन गर्न ६ जना पूर्व उपकुलपतिहरुले माग गरेका छन् ।
एमडी/एमएस कार्यक्रममा प्रवेश पाउन केयुमा आवेदन दिने उम्मेदवारहरूको प्रवेश परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गरेको भन्ने खबर सञ्चार माध्यमहरूमा आएपछि पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नविनजङ्ग शाह, गोविन्दप्रसाद शर्मा र त्रिरत्न मानन्धरले अख्तियारद्वारा विश्वविद्यालयको परीक्षामा हस्तक्षेपले विश्वविद्यालयको स्वायत्ततामा ठूलो अतिक्रमण भएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
‘परीक्षा बोर्डको एकजना सदस्यको छोराले परीक्षा परिणाममा प्रथम स्थान हासिल गरेको चर्चाले पनि परीक्षासम्बन्धी अन्तरराष्ट्रिय प्रचलन र मान्यता समेतको उलङघन भएको कुरा पनि प्रकाशमा आएको छ । यसबारे सम्बन्धित निकायहरूबाट विरोधाभासपूर्ण तर्कहरू आइरहेको हुँदा वास्तविकताको खोजी हुनु जरुरी छ ।” विज्ञप्तिमा भनिएको छ ।
यस्तो ठाडो हस्तक्षेपले शिक्षाक्षेत्र तहस–नहस हुने र सम्बन्धित निकायहरूले जनताको विश्वास गुमाउने पनि पूर्व उपकुलपतिहरुले बताएका छन् ।
“उल्लेखित घटनाको सत्य–तथ्य बुझ्न र जनतालाई वास्तविक सूचना उपलब्ध गराउन हामी पूर्व उपकुलपतिहरू एउटा संसदीय छानबिन टोली अबिलम्ब गठन गर्न आग्रह गर्दछौँ ।” विज्ञप्तिमा उल्लेख छ ।