टिप्पणीसोमबार, आषाढ २०, २०७३
एक ‘पागल’ डाक्टरको नाममा
अख्तियारका प्रमुख आयुक्तको महत्वाकांक्षाका कारण लोकतन्त्रको प्राण– वैयक्तिक स्वतन्त्रता र विधिको शासनले मृत्यूवरण गर्नु नपरोस् भनेरै महात्मा गान्धी जस्तै हाडछालाका एक डाक्टरले गान्धीकै विधि ‘सत्याग्रह’ को बाटो रोजेसँगै अनेकौं लाञ्छनाहरू उनलाई शनैःशनैः पछ्याउँदैछन् ।
२९ जेठमा राजधानीमा सम्पन्न एक कार्यक्रममा कानूनविद् एवं सांसद् राधेश्याम अधिकारीको ‘अख्तियारको अख्तियारी’ विषयक कार्यपत्रको प्रस्तुति पछिको अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसद्ले महाभियोग लगाउन सक्ने बारे उपस्थित सबैले आशंका गरिरहँदा कुर्सीबाट जुरुक्क उठ्दै डा.गोविन्द केसीले सबैको संशय चिर्दै उद्घोष गरे, ‘हिजो राजा हट्छ भनेर कसले विश्वास गरेको थियो र ?
जब राजा त हट्न सक्छ भने लोकमान (सिंह कार्की) को के कुरा ! तपाईंहरू शंका–उपशंका गरिरहनुस्, म चाहिं छाड्दिनँ ।’ नभन्दै आफ्नो उद्घोषको दुई हप्ता नबित्दै डा.केसीले प्रमुख आयुक्त कार्की र अन्य आयुक्त विरुद्ध संसद्द्वारा महाभियोग लगाउन माग गर्दै आमरण अनशनका लागि अर्को दुई हप्ताको अल्टिमेटम दिएका छन् ।
सबै तप्काका नेपालीको पहुँचको स्तरीय स्वास्थ्य सेवा र मेडिकल माफियाविरुद्ध पटक पटक आमरण अनशनको शान्तिपूर्ण अस्त्र चलाउँदै आएका डा.केसीको त्यस दिनको उद्घोषले कविगुरु रवीन्द्रनाथ टैगोरको प्रसिद्ध कविता ‘अक्ला चलो रे’ (एक्लै हिंड रे) को मर्म सम्झउथ्यो । जसका हरफहरू भन्छन्, ‘यदि जब कोही पनि तिम्रो आवाज सुन्दैनन्, तब तिमीले आफ्नो बाटो एक्लै हिंड्नु पर्छ ।’
आज देशमा संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता र लोकतन्त्रको प्राण विधिको शासन अदुअआ जस्तो संवैधानिक निकायको महत्वाकांक्षाका कारण लगभग प्राण त्याग्ने अवस्थामा पुगिसक्दा विधिका परिपालक विधायकहरू नै जुर्मुराउनुपर्ने बेला ती ‘एक्लै हिंड्ने’ महात्मा गान्धी जस्तै हाडछालाका मान्छेले गान्धीकै विधि ‘सत्याग्रह’ को बाटो रोजेका छन् । र, अन्यायविरुद्ध निर्भयताका साथ जेहाद छेड्ने संकल्प गरेका छन् । यी जेहादी डाक्टर जसै अघि बढ्दैछन्, उनलाई अनेकौं लाञ्छनाहरू शनैःशनैः पछ्याउँदैछन् ।
आफ्ना मागहरू पूरा गर्न प्राणको आहुति दिने डा.केसीका अड्डी उनको अभियानको प्रारम्भतिर कुनै ‘बालहठ’ जस्ता लाग्दथे । तर, उनको त्यही हठले प्रत्येक पल्ट सरकार र शक्तिमा रहेकालाई झ्ुकाइ छाडेको छ । नेपालमा शस्त्र र हिंसाले ल्याउन नसकेको परिणाम डा.केसीको गान्धीवादी सत्याग्रहले ल्याइरहेको छ ।
पागलपनको जड
बहुलरूपमा सामान्य र विरलरूपमा असामान्य मानिस परस्परमा मिलेर समाज बन्छ । यी बहुल सामान्य मानिसहरू आफू ढालिएकै साँचोमा बाँकी मानिस खोज्छन् ।
तर, त्यस साँचोमा नअट्नेहरु उनीहरूलाई असामान्य लाग्न सक्छ । सामान्य मानिसहरू दैनन्दिनका आवश्यकता, आफू मुताविकको आकांक्षा वा मनोकांक्षा, भौतिक सुविधा, मोह, भय जस्ता कुराहरूबाट निर्देशित हुन्छन् । उनीहरू आफ्नो आरामदायी जीवन वा ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कने साहस गर्दैनन्, महत्वाकांक्षा पालिरहन्छन् र त्यसको प्राप्तिका लागि सम्झैता गर्न पनि चुक्दैनन् ।
समाजको बहुल हिस्सा यस प्रवृत्तिका मानिसहरूले ओगटे तापनि यिनीहरू आफैंद्वारा सिर्जित सीमाका कारण परिवर्तनका संवाहक बन्न सक्दैनन् । तर, त्यस विपरीत समाजका विरल असामान्य मानिसहरू समाज परिवर्तनका संवाहक हुन पुग्छन् । ती विरल मानिसका केही हठ वा ‘पागलपन’ र धेरै सिर्जनशीलताका योगबाट समाजमा परिवर्तन संभव हुन्छ ।
डाक्टर गोविन्द केसी विश्व वा समाजमा ‘यू टर्न’ नै ल्याइदिने अत्यन्त सिर्जनशील अर्थात् ‘जिनियस’ मस्तिष्क होइनन् । उनको अभियान पछाडिका कारक तत्व उनको हठ नै हो, जो आफ्नो व्यक्तिगत हित भन्दा पनि बहुजन हितायमा लक्षित छ । यस दृष्टिले डा.केसी असामान्य रूपमा सामान्य मान्छे हुन् । जसका जीवनशैली वा जिजीविषा सामान्य छ, तर हठ वा अठोट असामान्य ।
चाहे ‘जिनियस’ हुन् वा हठी, समाजका लागि यी दुवैथरी असामान्य मानिस मान्य हुँदैनन् । यीनले परम्परा भत्काउँछन्, समाजको विश्वास माथि प्रश्न उठाउँछन्, बेथिति र विसंगति नामेट गर्न हठपूर्ण बाटो रोज्छन् र समाजका आँखामा कसूरदार मानिन्छन् ।
इतिहासमा यस्ता कसूरदारहरूलाई मृत्युदण्डसम्मको सजाय दिइएको, कोपभाजनको शिकार बनाइएको, खिल्ली उडाइएका अनगिन्ती उदाहरण छन् ।
प्राचीन युनानका सुकरात हुन् वा इटालीका ग्यालिलियोलाई सुनाइएका मृत्युदण्डका घट्ना हुन् वा विख्यात सर्रियालिस्ट पेन्टर साल्भादोर दाली वा हाम्रै महाकवि देवकोटालाई पागल करार गरिएका सन्दर्भ– ‘जिनियस’लाई समाजले सहजै पत्याएका उदाहरण विरलै छन् । आफूलाई पागलको संज्ञा दिइएपछि देवकोटाद्वारा रचित ‘पागल’ कवितामा एउटा ‘जिनियस’को पीडाबोध गर्न सकिन्छ ।
डा.केसीले नेपाली समाजका केही भ्रष्ट राजनीतिज्ञ, धूर्त प्रशासक, लोभीपापी व्यापारी, मुनाफाखोर बिचौलिया सम्मिलित एउटा स्वार्थी समूहको सिन्डिकेट– जसलाई उनी ‘मेडिकल माफिया’ भन्छन्– को विरुद्ध जेहाद छेडेका छन् ।
प्रत्येक पटकको आन्दोलन अघि उनी आफ्ना मागहरू सूचीबद्ध गर्छन्, तिनलाई अनशन कक्षको भित्तामा प्रदर्शन गर्छन् र टसमससम्म नभई अन्न–जल सबै त्याग्छन् । उता, उनको निशानाको त्यस शक्तिशाली सिन्डिकेट उनको अनशन तुहाउने हरतरहको प्रयत्न गर्छ र भएसम्मका तुच्छ गालीगलौजमा उत्रन्छ ।
आमरण अनशनपूर्व नै तिर्मिराएको अदुअआले आफ्नो आधिकारिक वक्तव्य र प्रवक्ताको अन्तरवार्ता मार्फत डा.केसीलाई ‘मानसिक रोगी’ को लाञ्छना लगाएको छ । उसले केसीको भ्रष्ट एवं माफियाहरूसँग साँठगाँठ रहेको पनि आरोप लगाएको छ । जसका पछाडि दुई निश्चित कारक देखिन्छन् ।
पहिलो, अविवाहित र फकिर शैलीका यी डाक्टरलाई सोझ्ै भ्रष्ट किटान गर्नु व्यावहारिक र कानूनी दुवै रूपले संभव छैन । दोस्रो चाहिं, उनलाई गलत देखाउन सकिने एउटै अस्त्र मानसिक अस्वस्थता हुनसक्छ । यसो भनिंदा उनको अभियानलाई ‘इनभ्यालिड’ (अमान्य) करार दिंदै त्यस कदम फगत केसीको हठ र पागलपनको द्योतक रहेको डंका पिट्न सकियोस् भन्ने अदुअआको चाहना देखिन्छ ।
केसीः मेनिया भर्सेस फोविया
डा.गोविन्द केसीका हठका कारण नेपाली समाज दुई खण्डमा विभाजित छ । उनले समाजका अधिकतर आवाजविहीन, विपन्न, शक्तिहीन समूहको हितमा कदम उठाएकाले उनलाई ती समूहको समर्थन छ । साथै न्यायप्रेमी जनता, जुझरु पेशाकर्मी, नागरिक अगुवाहरू उनको अभियानको समर्थनमा देखिन्छन् । यस विपरीत राजनीतिक र संवैधानिक रूपमा शक्तिशाली ठान्नेहरू उनीदेखि त्रस्त छन् ।
सन्तको मनोदशामा प्रशंसाबाट पुलकित र आलोचनाबाट विचलित नहुँदै डा.केसी एउटा सतिसाल झैं आफ्नो अभियानमा दृढ देखिन्छन् । आफ्नो अठोट र निष्ठाको बलमा उनले ती विपक्षी ध्रुवका शक्तिशालीहरूलाई घुँडा टेकाइदिएका छन् । ‘एक्लै हिंडेरै’ डा. केसीले एउटा सारपूर्ण दूरी तय गरिसकेका छन् ।
सत्याग्रहको शान्तिपूर्ण अस्त्र कुन हदसम्म प्रभावी हुन सक्छ भन्ने उदाहरण स्वयं बनेका छन् । महात्मा गान्धीको अहिंसावादी आन्दोलन बारे सुन्दै आएको आजको पुस्ताले आफ्नै सामुन्ने गान्धीको स्वरुपमा एक निर्भीक, निडर र सत्यवादी अभियन्ता देख्न पाएको छ ।
आफूमाथि पागलको आरोप लाग्दा साल्भादोर डाली उत्तर फर्काउँथे, ‘दि अन्ली डिफरेन्स विट्वीन मी एण्ड दी म्याड इज द्याट आई एम नट म्याड’ (म र पागलबीचको एउटै फरक के हो भने म पागल होइन) । भ्रष्टाचार र माफियातन्त्रविरुद्ध आवाज उठाउँदा भ्रष्ट र माफियासँगको साँठगाँठको आरोप लागेका केसीको हकमा पनि यस्तै उत्तर दिन सकिएला, ‘डाक्टर केसी र भ्रष्ट बीचको एउटै फरक के हो भने केसी भ्रष्ट होइनन् ।’ को भ्रष्ट र को स्वच्छ, अनि को सद्दे र पागल आगे समयले नै बताउला ।