समाचारमंगलबार, आषाढ २१, २०७३

असारे चटारो

हिमालखबर

आर्थिक वर्षको ११ महीना चूपचाप बसेर असारमा बजेट सक्ने विकासे रोग पाँचथरमा पनि फैलिएको छ ।

–लक्ष्मी गौतम, पाँचथर

वेलफेयर–जोरसाल सडकमा १५ असार विहान स्काभेटर चलाइँदै।

वेलफेयर–जोरसाल सडकमा १५ असार विहान स्काभेटर चलाइँदै।

पाँचथर सदरमुकाम फिदिमको नयाँ शहर आयोजनाले हतार–हतार आठवटा उपभोक्ता समिति बनाएर १४ असारमा रु.१ करोड २४ लाखको योजना सम्झौता गर्‍यो।

२४ असारभित्र काम सक्ने शर्तसहित गरिएको सम्झौता अनुसार १५ असारदेखि काम शुरू भएको छ। कहीं तीन–तीनवटासम्म स्काभेटर लगाइएको छ भने कतै ज्यामी लगाएर नालीपेटी बनाइँदैछ ।

पल्लोटार–जोरसाल सडक स्तरोन्नति रु.३० लाख, तुम्देनचोक–जल्पादेवी सडक स्तरोन्नति रु.१५ लाख, वेलफेयर–जोरसाल सडक स्तरोन्नति रु.२५ लाख, बसपार्क–बुलबुले नाला निर्माण रु.१४ लाख, जलकन्यादेवी क्षेत्र सुधार रु.१५ लाख, फिदिम–थाक्ले सडक स्तरोन्नति र मन्दिर परिसर सुधार रु.१० लाख, सशस्त्र क्याम्प–थाङसाङखोला नाला निर्माण रु.५ लाख र जामुने खोल्सीमा कलभर्ट निर्माण योजनाले रु.१० लाख पाएको छ।

फिदिम नगरपालिकामार्फत पनि पुतलीचोक–पावरहाउस सडक, मझिटे–त्रिकोण सडक र मायालुमोड–पात्ले भञ्ज्याङ सडक खण्डमा स्काभेटर चलाउन भ्याईनभ्याई छ।

जिविस र जिल्ला प्राविधिक कार्यालयमार्फत सञ्चालित डेढ दर्जन योजनाको काम नभएपछि असार मसान्तसम्ममा प्रगति देखाउन यस्तो भ्याईनभ्याई भएको हो। वेलफेयर–जोरसाल सडक स्तरोन्नतिमा जुटेको उपभोक्ता समितिका अध्यक्ष प्रताप लावती भन्छन्, “नयाँ शहर आयोजनाका प्रमुखले २४ गतेभित्र काम सक्ने गरी सम्झौता गर्न आउनुस्, नत्र सबै रकम फ्रिज हुन्छ भन्नासाथ काम थालेका हौं।”

उनको उपभोक्ता समितिले १० दिनभित्र रु.२५ लाखमा ४ किलोमिटर लामो सडक बनाउनुपर्ने भएकोले चारवटा स्काभेटर पुर्‍याइएको छ। आव शुरू भएको ११ महीनासम्म शान्त बसेको फिदिम भित्र–बाहिर अहिले नयाँ शहर आयोजना, जिविस, जिल्ला प्राविधिक कार्यालय, नगरपालिका र गाविसहरूको डोजर–स्काभेटरको गडगडाहट चलेको छ।

असारे झरीसँगै जोडतोडले चलेका ‘हेभी मेशीन’ हरूले जेनतेन चलिरहेका सडकहरूलाई हिलाम्ये बनाएर बेकामे बनाएका छन् भने बालीनाली र घरमा समेत क्षति पुगेको छ।

भौतिक पूर्वाधारको निर्माण मात्र नभएर लक्षित वर्गका लागि छुट्टिएको बजेटमार्फत हुनुपर्ने क्षमता अभिवृद्धि तालीम–गोष्ठीहरू पनि यतिखेरै सञ्चालन गरिएका छन्।

फिदिम–४ की दुर्गा सेवा १४ असारमा आएका समितिका मान्छेहरूले १० दिनमा काम नसके पैसा फिर्ता जाने भो भन्दै डोजर चलाउन थालेको बताउँछिन्। “पाक्नै लागेको मकै नष्ट पारिसके”, सेवा भन्छिन्, “घरको गारो र सुँगुरको खोर पनि भत्काउने भए।”

फिदिमस्थित नयाँ शहर आयोजनाका प्रमुख ललित नेपाल शहरी विकास मन्त्रालयको नयाँ शहर आयोजना समन्वय कार्यालयले कार्यक्रम स्वीकृत गरेर पठाउन ढिलो गर्दा यस्तो भएको बताउँछन्।

ढिलो भयो भन्दैमा यहाँको लागि छुट्टिएको पैसा फिर्ता नहोस् भनेर उपभोक्ता समितिहरूलाई जिम्मा दिएको उनले बताए। फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई चाहिं उपभोक्ताकै कारण समयमै योजना सञ्चालन नभएको बताउँछन्।

धेरैजसो उपभोक्ता समितिमा आन्तरिक विवाद रहेकाले चैत पहिलो साता सम्झ्ौता गरिएका योजना पनि अहिलेसम्म फर्स्योट नभएको उनी बताउँछन्। तर, पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको दाबी फरक छ। “सबै योजनामा ८० प्रतिशत भौतिक र वित्तीय प्रगति भइसकेको छ”, उनी भन्छन्, “सबै काम निर्धारित समयभित्रै सकिन्छ।”

जिविसका पूर्व सभापति उपेन्द्र दंगाल स्थानीयवासी खेतीमा व्यस्त रहेका बेला योजना सञ्चालनदेखि अनुगमनसम्म राम्ररी नहुने बताउँछन्। अनुगमन नै नहुने कामको गुणस्तरमा त्यसै पनि प्रश्न उठ्छ।

त्यसकारण चैत मसान्तलाई आर्थिक वर्षको अन्त्य बनाउनुपर्ने उनको सुझाव छ। दंगाल भन्छन्, “त्यो बेला कम्तीमा उपभोक्तालाई योजना संचालन र कामको अनुगमन गर्ने फुर्सद हुन्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>