समाचारमंगलबार, आषाढ २१, २०७३

नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत

हिमालखबर

नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशबीच भएका सन् १९५० को सन्धि गायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ ।

बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापालले भने, “ विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएको छैनन् ।” तर उनले दुई देशकाबीचमा बिशेष गरी कुनकुन कुरा उठेको थियो भन्ने खुलाउन चाहेनन् ।

बैठक समापनपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक डा थापाले नेपाल–भारतबीचको सम्बन्ध सुदृढ बनाउन बैठकमा दुवैतर्फबाट थप अध्ययन गरी अगामी बैठकमा प्रस्तुत गर्ने सहमति भएको जानकारी दिए । थापाका अनुसार समूहको अर्को बैठक तीन महिनापछि भारतको राजधानी नयाँ दिल्लीमा बस्ने छ ।

समूहलाई दिइएको कार्यादेशका बुँदामा बैठकमा प्रवेश गरी अगामी बैठकमा यसकाबारेमा दुवै देशले विस्तृत अध्ययन गरी प्रस्तुत हुने सहमतिसमेत भएको डा थापाले जानकारी दिए । समूहलाई दिइएको कार्यादेशमा दुवै देशबीचमा भएका सन्धि सम्झौताको अध्ययन, व्यापार तथा पारवहन, सूचना प्रविधि, विकासलगायतका क्षेत्रको अध्ययन गरी सुझाव दिने लगायतका छन् ।

दुवै मुलुकबीचको सम्बन्धको समीक्षा भयोः कोसियारी

पत्रकार सम्मेलनमा भारतीय टोली संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुलुकबीचको सम्बन्धको समीक्षा भएको बताए ।

उनले भने, “नेपाल–भारतबीच सन् १९५० को सन्धिपछि कर्णाली र कोसीका नदीमा कति पानी बगे होला ? परिवारमा त असमझदारी हुन्छ । हाम्रो समूहको बैठकले दुई देशकाबीच कहीँकतै असमझदारी भएमा यसको खोजी गरी समाधान गर्न दुवै देशका सरकारलाई सुझाव दिनेछ ।”

उनले भने, “हाम्रो समूहलाई लक्ष्मणरेखाले बाँधिएको छ, हामीलाई रेखा नाघेर सुझाव दिने अधिकार छैन, समूहलाई दिएको कार्यादेशको अधिनमा रही काम गर्छौं ।”

समूहमा नेपालकातर्फबाट डा थापाको संयोजकत्वमा पूर्वप्रशासक सूर्यनाथ उपाध्याय, राजनीतिक विश्लेषक एवम् संविधानविद् नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई छन् । त्यस्तै भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा पूर्व राजदूत जयन्त प्रसाद, प्राध्यापकहरु महेन्द्र पी लामा र बिएस उप्रेती छन् ।

भारतका तर्फबाट बैठककमा सहभागी महेन्द्र पी लामाले दुवै मुलुकबीच अहिले भइरहेको सन्धि सम्झौतालाई पुनरावलोकन गरी कस्तो रुपान्तरण ल्याउन सकिन्छ भनेर समूहले खोजी गर्ने सञ्चारकर्मीलाई बताए । उनले भने, “दुवै देशकाबीच २१औँ शताब्दी अनुकूल हुने गरी सम्बन्धको नयाँ उचाइ खोजी गरिने छ, यो उचाइ विश्वका लागि उदाहरण बन्न सकोस् ।”

भारतका तर्फबाट बैठकमा सहभागी जयन्त प्रसादले जनताको स्तरमा सुदृढ रहेको दुई देशको सम्बन्धलाई नयाँ आयमका रुपमा विकसित गरिनुपर्ने धारणा राखे ।

समूहको कार्यकाल दुई वर्षको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>