समाचारबुधबार, आषाढ २२, २०७३
कोइरालाको अवस्था अझै गम्भीर
कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
हिजो, २१ असारमा पेटमा असजिलो र सास फेर्न असजिलो भएपछि चावहिलस्थित ओम अस्पताल पुर्याइएका कोइरालालाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
बेलुकाको खाना खाएर अस्पतालमै सुतेका उनलाई अस्पतालका नर्सले बिहान ५ः३० बजे बान्ता गरेको र अचेत अवस्थामा देखेपछि चिकित्सकलाई बोलाएका थिए । त्यसबेला कोइरालाको रक्तचाप ६०–४० रहेको र उनलाई तत्कालै आइसीयुमा राखेर उपचार विशेषज्ञ चिकित्सकमार्फत उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।
मुटु बन्द हुने अवस्थामा पुगेको कोइरालालाई ‘सिपिआर’ दिइएको थियो । अहिले उनलाई इनोट्रोपिक भेसोप्रेसर सपोर्ट (मुटुलाई बचाइराख्न गरिने उपचार विधि) र थेरापेटिक हाइपोथर्मिया (शरीरलाई चिस्याएर गरिने उपचारविधि) मार्फत उपचार भइरहेको छ । उनलाई ब्रोडस्पेक्ट्रम एण्टिबायोटिक पनि दिइएको छ ।
बिहान ५ः३० रगतमा अक्सिजनको मात्रा ६९ प्रतिशत भएका कोइरालालाई भेन्टिलेटरमा राखिएपछि ९६ प्रतिशत पुगेको छ भने रक्तचाप ९०÷६० छ ।
चिकित्सकहरु कोइरालाको रक्तचापको अवस्था अझै नाजुक रहेको बताउँछन् ।
यस्तै उनलाई निमोनियाको संक्रमण पनि भएको अस्पतालले जनाएको छ । उनको बायाँ फोक्सोमा निमोनिया देखिएको हो ।
कोइरालाको स्वास्थ्य अवस्था जटिल र गम्भीर भएपछि राजधानीमा उपलब्ध सबै विशेषज्ञ चिकित्सकहरुको परामर्श लिइरहेको अस्पतालका प्रवक्ता डा लवनरसिंह जोशीले बताएका छन् ।
कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।