समाचारबुधबार, आषाढ २२, २०७३
प्रधानमन्त्री बन्ने हतारो राम्रो होइनः नेता नेपाल
नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री बन्ने हतारो गर्नु राम्रो नहुने बताएका छन् ।
भियतनामको ९ दिने भ्रमण सकेर नेपाल फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमै रहेको बताए । उनले भने, “राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेको बेला कसैले प्रधानमन्त्रीको रहर गर्नु राम्रो होइन, सहमति भएपछि प्रधानमन्त्रीदेखि मन्त्रीहरुबारे समेत छलफल हुन्छ ।”
प्रमुख दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे छलफल भइरहेको नेता नेपालले बताए । उनले भने, “कांग्रेसका नेताहरुले पनि सहमतीय सरकार बनाउनुपर्छ भनिरहेका छन्, यसबारे थप छलफल हुँदै जान्छ ।”
नेता नेपालले समयको मागअनुसार जो पनि प्रधानमन्त्री बन्न सक्ने बताए । उनले आफू आफ्नै पार्टी नेतृत्वको सरकार हटाएर अर्काे बहुमतीय सरकारको पक्षमा नलाग्ने बताए ।