थप समाचारबिहीबार, आषाढ २३, २०७३

यो हदको गरीबी

हिमालखबर

७७ र ७५ वर्षमा पनि नागरिकता र अपांगता परिचयपत्र नहुँदा पाँचथरका अशक्त दाजुभाइ सरकारको कल्याणकारी कोषबाट बञ्चित छन् ।

– लक्ष्मी गौतम, पाँचथर

खानाको रुपमा मकै भुट्दै लट्टे।

खानाको रुपमा मकै भुट्दै लट्टे।

रानीगाउँ–७, याक्सेबुङ गाउँको पुछारमा छ, हर्कबहादुर (७७) र लट्टे सम्बाहाम्फे (७५) दाजुभाइको झुपडी। दाजु आँखा देख्दैनन्, तर हल्का सुन्छन्। भाइ अलिअलि देख्छन्, तर पटक्कै सुन्दैनन्। लट्टे चार वर्षको हुँदा आमा बितिन्। त्यसपछि उनीहरूको लालनपालन बाबु पूर्णहाङले गरे।

न्वारानमा फेदाङमा वा बाहुनले लट्टेको नाम के राखिदिएका थिए, उनैलाई थाहा छैन। छिमेकीहरूका अनुसार, उनको कपाल २०५६ सालमा बाबुको देहान्त हुँदा काटियो। त्यसपछि २०६४ सालमा गाउँलेले काटिदिए।

त्यसयता त्यसै छ। लामो कपाल लट्टा परेकाले उनलाई सबैले लट्टे भन्छन्। बाबु बितेपछि दाजुभाइले तीन घण्टा टाढाको यासोक बजारमा दाउरा बेचेर पेटपालो गरे।

जंगलमा खोजेका दाउरा यासोक बजारतर्फ बेच्न लैजाँदै हर्कबहादुर।

जंगलमा खोजेका दाउरा यासोक बजारतर्फ बेच्न लैजाँदै हर्कबहादुर।

रानीगाउँ, यासोक र स्यावु्रम्वा गाविसलाई सरकारले नै सुक्खा क्षेत्र घोषणा गरेको छ। हर्कबहादुर र लट्टेको घर छेउछाउमा मुहान छैन। उनीहरू तीन घन्टा परको यासोक–७ मा रहेको कुवामा गएर पानी ल्याउँछन् र एक साता पुर्‍याउँछन्।

पानीको अभाव गाउँका सबैले झेल्ने साझा समस्या हो, तर अशक्त भएकोले यी दाजुभाइ बढी पीडामा छन्। उनीहरू पुग्दा कहिले अरूले कुवा रित्याइसकेका हुन्छन् त कहिले फर्कंदा लडेर पानी पोखिन्छ ।

बाबु रहँदासम्म घर वरिपरिको सात रोपनी जग्गामा उब्जेको धान–मकैले वर्षभरि भरथेग हुन्थ्यो। एक हलगोरु, एक माउ गाई र सुगुर–कुखुरा अटुट हुन्थे। बाबु बितेपछि भने जग्गा बाँझियो।

छिमेकीहरूले जग्गाको एउटा पाटोमा केरा र दारिम लगाइदिएका छन्, तर त्यसलाई बाँदरले सखाप पारिदिन्छ। शिक्षण पेशा भएका छिमेकी केदार सम्बाहाम्फे र गाउँलेले हर्कबहादुर र लट्टे दाजुभाइलाई सकेसम्म सहयोग गरेका छन्। विदेशबाट समेत सहयोग संकलन गरेर दिने गरेको, तर सधैं भरपेट पुर्‍याउन मुश्किल परेको केदार बताउँछन्।

आँखा नदेखे पनि आफूले बुनेको नाम्लो देखाउँदै लट्टे।

आँखा नदेखे पनि आफूले बुनेको नाम्लो देखाउँदै लट्टे।

दाजुभाइको आफ्नै आय भनेको घसि्रंदै यासोकमा दाउरा बेच्न सकेको दिन हुन्छ, रु.१०० हाराहारी। त्यो पैसाले चामल किन्छन्। पानी परेको, बिरामी भएको वा अरू कुनै समस्याले दाउराको लागि जंगल जान नसकेको दिन गाउँलेले दयामायाले ल्याइदिए खाने नत्र भोकै सुत्ने हर्कबहादुरले बताए। खान नपाउनेलाई ओढ्ने–ओछ्याउने र लगाउने लुगाको अभाव हुने नै भयो। “गर्मी याममा त तै बरु”, हर्कबहादुर भन्छन्, “हिउँदमा चाहिं मर्दै बाँच्दै हुन्छ।”

आँखा नदेख्ने लट्टे छामछुम गर्दै आगो बाल्छन्, खाना पकाउँछन् अनि चोया पाए डालो–नाङ्लो र नाम्लो बुन्छन्। उनले तयार पारेका सामग्री गाउँलेले अन्नसँग साटिदिन्छन्। मकै पाए सातु बनाएर खान्छन्, भुटेको मकै खान दाजुभाइकै दाँत छैन। यो संवाददाता पुग्दा लट्टे मकै भुटेर सिलौटामा पिस्ने तयारीमा थिए।

हर्कबहादुर र लट्टेको घर।

हर्कबहादुर र लट्टेको घर।

चार वर्ष अगाडि यासोकमा शिविर आउँदा गाउँलेले हर्कबहादुरको नागरिकता निकालिदिए, तर जन्ममिति १९९७ साल हुनुपर्नेमा कर्मचारीले २००४ साल लेखिदिएछन्। त्यसले गर्दा उनले वृद्धभत्ता पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ।

लट्टेको त नागरिकता नै बनेको छैन। यी दाजुभाइको समस्या दिनदिनै चर्किरहेको बताउँदै छिमेकी शिक्षक केदार सम्बाहाम्फे भन्छन्, “सरकारी निकायले यी वृद्धहरूलाई नागरिकता र अपांगता परिचयपत्र मात्र दिए पनि ठूलो राहत हुनेथियो।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>