रिपोर्टशनिबार, आषाढ २५, २०७३
अब सबैको रानीपोखरी
सर्वसाधारणका लागि सधैं खुला गर्ने हरियाली पार्कको योजनासहित हानगरपालिकाले रानीपोखरीको पुनःनिर्माण अघि बढाएको छ।
काठमाडौंका राजा प्रताप मल्लले १७२७ सालमा अहिलेको काठमाडौं महानगरपालिका वडा नं. ३१ मा रानीपोखरी बनाए। तर, त्यत्रो पोखरी भर्न पानी चाहिं कहाँबाट ल्याए? साढे तीन सय वर्षपछि पनि यो जिज्ञासा जारी छ।
रानीपोखरी निर्माणताका राजा प्रताप मल्लले लेखाएको शिलापत्रमा वागमतीबाट १० हजार ६४१ घडा जल ल्याएर पोखरीमा राखिएको उल्लेख छ।
उपत्यकाभित्रैका सुन्दरी तथा विष्णुनाभ नदीको पानी कुलो बनाएर पोखरीमा ल्याइएको थियो। यसका अतिरिक्त राजाले नेपाल र भारतका प्रसिद्ध तीर्थस्थल तथा नदीबाट पनि पानी ल्याएको भनाइ छ। यी नदीहरूमा वाराणसी, वैद्यनाथ, गङ्गासागर, मुक्तिक्षेत्र, सरयू, सप्तकोशी, सप्तगण्डकी, गोसाईंकुण्डका साथै काठमाडौं वरपरका शंखमूल, गोकर्ण, टेकुदोभान लगायतका नदी/खोला पनि पर्छन्।
१२ वैशाख २०७२ को भूकम्पले रानीपोखरी पनि बाँकी राखेन। ६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक सम्पदा रानीपोखरी यतिबेला पुनःनिर्माण भइरहेको छ।
नयाँ पोखरी
माइला छोरा चक्रवर्तेन्द्रको हात्तीले कुल्चिएर १७२६ सालमा मृत्यु भएपछि दुःखी भएकी रानीको मन बुझाउन राजाले छोराकै नाममा पोखरी बनाएका थिए। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर पनि स्थापना गरे।
नेवारी भाषामा ‘न्हुःपुखु’ अर्थात् नयाँ पोखरी नामले प्रसिद्ध पोखरीलाई राजाका नाति भूपतिन्द्र मल्लकी रानीले जीर्णोद्धार गरेपछि ‘रानीपोखरी’ नामबाट चिनिन थालेको हो।
रानीपोखरीमा हात्तीमाथि राजा, रानी र युवराज चढेको मूर्ति पनि छ। किम्वदन्ती अनुसार, पोखरी बनेपछि सधैं नुहाउन जाने राजा किचकन्याको प्रेममा परेका थिए। राजाको संसर्गबाट किचकन्या गर्भवती भएको थाहा भएपछि अनर्थ हुने डरले भाइभारदार र गुरुपुरोहित मिलेर किचकन्यालाई वशमा पारे। र, त्यसलाई राजपरिवार चढेको हात्तीले किल्चिएको मूर्ति बनाए।
रानीपोखरी पार्क
१९९० सालको भूकम्पमा थोरै मात्र क्षति पुगेको रानीपोखरीस्थित मन्दिर प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए। तर, यसपटकको भूकम्पमा मन्दिर पूर्ण रुपमा क्षतिग्रस्त भयो। राष्ट्रिय भूकम्प दिवसको अवसरमा २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी परिसरको पुनःनिर्माणको शिलान्यास गरिन्। ६ करोड ९१ लाख रुपैयाँको लागतमा आगामी कात्तिक महीनाभित्र पोखरीको पुनःनिर्माण योजना सक्ने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी ज्ञानेन्द्र कार्की बताउँछन्।
महानगरपालिकाका शहरी पूर्वाधार विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मी पुनःनिर्माणका क्रममा रानीपोखरीको संरचना केही परिवर्तन गरिने बताउँछन्।
“पोखरीमा म्युजिकल वाटर फाउन्टेन बनाइनेछ”, उनी भन्छन्, “रानीपोखरीलाई पार्कका रुपमा विकास गरिनेछ।” यसका लागि पोखरी वरिपरि बगैंचा, घुम्न दुई वटा बाटो, आकर्षक लाइट र चौबीसै घण्टा बिजुलीको व्यवस्था पनि गरिनेछ। त्यसो त मंसीर २०७१ काठमाडौंमा आयोजित १८औं सार्क शिखर सम्मेलनमा पोखरीमा फाउन्टेन निर्माण गरिएका थियो। तर, प्रयोगमा आइसकेको थिएन।
गुम्बज शैलीको मन्दिरको गजुर र मूर्तिलाई अहिले हनुमानढोका दरबार राष्ट्रिय संग्रहालयमा राखिएको छ भने पोखरी पनि सुकाइएको छ। पोखरीमा भएका माछा र हाँस सारिएको छ। लामो समयसम्म सरसफाइ नभएकाले पोखरीमा धेरै हिलो जम्मा भएको छ। हिलो हटाएपछि गहिराइको नाप लिइनेछ।
रानीपोखरी पार्क बनेपछि सधैं सबैका लागि खुला गरिने महानगरपालिकाको योजना छ। यसअघि भाइटीकामा मात्र सर्वसाधारणका लागि मन्दिरको ढोका खुल्थ्यो। त्यस दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले मन्दिरमा पूजा गर्ने प्रचलन छ।
जमीनबाट आउने पानी घट्न थालेपछि महानगरपालिकाले ६ वर्षदेखि आकाशेपानी संकलन गरी पोखरीमा हाल्न थालेको छ। यसका लागि त्रिचन्द्र क्याम्पसमा पानी संकलन गरी पोखरीमा जाने व्यवस्था गरिएको छ।
यसबाहेक काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरीत धाराबाट पनि रानीपोखरीमा पानी हाल्ने गरिएको सूचना अधिकारी कार्की बताउँछन्। “पोखरीमा ७ वटा इनार रहेको सुनिएको छ, अब बल्ल तथ्य थाहा हुनेछ”, उनी भन्छन्।
पानी सुकाएर हिलो निकाल्न थालेसँगै रानीपोखरीका माछा र हाँस सार्ने क्रम शुरु भएको छ। पोखरीका एक हजार बढी माछा ड्रम तथा पानी ट्यांकीमा राखेर बालाजु पार्कमा सारिएको हो। केही माछा टौदहमा पनि छाडिएको छ।
सूचना अधिकारी कार्की पोखरीका माछा व्यवस्थापनका लागि मात्रै महानगरपालिकालाई एक साता लागेको बताउँछन्।
बौद्ध धर्मावलम्बीहरूले आफन्तको सम्झना र मनोकामना पूरा होस् भनी पोखरीमा माछा छाड्ने चलन छ। माछा छाड्नेमध्ये कतिपय औंसी, पूर्णिमा तथा अन्य पर्वमा चारो खुवाउन पोखरी पुग्ने पनि गरेका छन्। पोखरीमा जुँगे प्रजातिको ठूलो माछा बढी पाइएका छन्।
पोखरीमा रहेका ६ वटा साना र १६ वटा राजहाँसलाई रत्नपार्कमा सारिएको छ। ती हाँस पनि केही महानगरपालिकाले तथा केही श्रद्धालुले पोखरीमा छाडेका थिए।