रमझमशनिबार, आषाढ २५, २०७३

चासोका बन्दी

आनन्द पी राई

bryanसन् १८२९ को मार्च वा अप्रिलमा रेजिडेन्ट एडवार्ड गार्डनरले काठमाडौं छाडेपछि ब्रायन हड्सनले सहायक रेजिडेन्टको रुपमा पहिलो पटक जनरल भीमसेन थापासँग आफैं ‘डिल’ गर्नुपर्‍यो।

उनले फिरिङ्गीप्रति घृणाले भरिएको भीमसेनको आँखामा आँखा जुधाएर आफू नेपाल दरबारलाई सहयोग गर्न तयार रहेको, तर त्यो पारस्परिक हुनुपर्ने बताए। शर्त मञ्जुर भएपछि नेपालका कर अधिकारीहरूलाई लुटेर इष्ट इण्डिया कम्पनी (जोन कम्पनी) अधीनस्थ क्षेत्रमा पसेका डाँकूहरू समातिए।

१८३३ को जनवरीमा रेजिडेन्ट नियुक्त भएपछि हड्सन र काठमाडौं दरबारका सर्वशक्तिमान भीमसेनबीच घृणा र आदरको सम्बन्ध विकसित भयो। हड्सनले भीमसेनको छलछाम, घृणा, निषेध, क्रूरता, महत्वाकांक्षा, नेतृत्व क्षमता सबैको सामना गरे।

एक–एकको नाडी छामेका रेजिडेन्ट दरबारलाई शान्त राखेर नेपालमा जोन कम्पनीको राजनीतिक–व्यापारिक स्वार्थ रक्षा गर्न चाहन्थे भने भीमसेन ‘जन कम्पनी बहादुर’ विरुद्ध अर्को युद्धको ताकमा रहन्थे। १८३८ मा तिनै भीमसेन जेलमा सेरिन बाध्य हुँदा हड्सन रोएको प्रसंग चार्ल्स एलेनको पछिल्लो पुस्तक दि प्रिजनर अफ काठमाण्डूः ब्रायन हड्सन इन काठमाण्डू १८२०–४३ मा छ।

हड्सनबारेको लम्बे खोज–अनुसन्धानबाट तयार भएको पुस्तकका अनुसार, भीमसेनले रेजिडेन्टलाई जेलबाट कुनै तरहले सन्देश पठाएर हस्तक्षेप गर्न भनेका थिए। हड्सनका नजरमा भीमसेन नेपालका एक्लो ‘स्टेट्स्मेन’ थिए, तर दरबारको भाँडभैलोबाट अलग रहन कलकत्तास्थित गभर्नर जनरलले दिएको कडा आदेशले उनलाई मूकदर्शक बन्न बाध्य पार्‍यो।

पुस्तक दि प्रिजनर अफ काठमाण्डू लेखक चार्ल्स एलेन प्रकाशक स्पिकिङ टाइगर, नयाँदिल्ली पृष्ठ २८८+२०, मूल्य रु.८००

पुस्तक: दि प्रिजनर अफ काठमाण्डू
लेखक: चार्ल्स एलेन
प्रकाशक: स्पिकिङ टाइगर, नयाँदिल्ली
पृष्ठ: २८८+२०,
मूल्य:  रु.८००

एलेनले १८३५ मै हड्सनले कलकत्तास्थित शुभचिन्तक लेडी डि’ओइलीलाई लेखेको ‘म भीरतिर ओइरिन उद्यत यी वीर तर मूर्खहरूलाई जोगाउन चाहन्छु’ भन्ने पत्रको उल्लेख गरेका छन्।

मकवानपुरसम्म आएर सुगौली सन्धि सदर गराएर फर्केको जन कम्पनी बहादुरको अर्को सैन्य अभियान नेपालले थेग्न सक्दैन भन्ने हड्सनको मूल्यांकन थियो। एलेनको किताबले नेपालप्रतिको अधिक चासोकै कारण रेजिडेन्ट हड्सन दुःखी र अपमानित अवस्थामा फेरि कहिल्यै फर्कन नसक्ने गरी काठमाडौंबाट बाहिरिएको बुझाउँछ।

सन् १८०१ मा इङ्गल्याण्डको चेशायरमा जन्मेका हड्सन ऋणमा डुबेको परिवारलाई सघाउन जोन कम्पनीको वेंगाल सिभिल सर्भिसमा जागीरे बनेका थिए। त्यसकै लागि उतै इष्ट इण्डिया कलेज पढेर २० वर्षको उमेरमा कलकत्ताको फोर्ट विलियम कलेज आएका थिए।

कलकत्तामा पनि इङ्गल्याण्डमा जस्तै प्रथम भएपछि रोगी र खिनाउरो हड्सनलाई शीतल कुमाउमा ‘पोलिटिकल अफिसर’ बन्ने अवसर मिल्यो। त्यहाँबाट सहायक रेजिडेन्टको रुपमा काठमाडौं पसेका उनी १८३३ देखि १० वर्ष ब्रिटिश रेजिडेन्ट रहे।

शुरुमा आर्थिक–शारीरिक अवस्था कस्तो भने उपचारको लागि १८२२ नोभेम्बरमा कलकत्ता झारेर डेढ वर्ष रोकिनुपर्दा काठमाडौंमा अर्कै सहायक रेजिडेन्ट नियुक्त भएपछि पनि हड्सन घर फर्कन नसकी पोष्टमास्टरको पदमा काठमाडौं फर्किए। सुगौली सन्धिको चार वर्षपछि काठमाडौंमा कम्पनीको काम थालेका उनी दरबारको षड्यन्त्र र शक्ति संघर्ष कोत पर्व (१८४६) को उत्कर्षतिर पुग्दै गर्दा रेजिडेन्टबाट बर्खास्त भए।

गभर्नर जनरल एलेनबरो हड्सनप्रति दुराग्रही थिए। उनले नेपालप्रति कम्पनीभन्दा फरक धारणा राखेको भन्दै हड्सनलाई रेजिडेन्टबाट बर्खास्त गरेका थिए। हुन पनि, हड्सनले काशीनाथ व्यापारीको काण्डपछि विकसित परिस्थितिमा एलेनबरोको निर्देशन पालना गरेनन्। त्यसो त एलेनबरो आफैं पनि एकपछि अर्को गलत निर्णयका कारण आधा कार्यकाल नबिताउँदै फिर्ता बोलाइए। लेखकका अनुसार, इङ्गल्याण्डमा हड्सनले भव्य स्वागत पाए भने एलेनबरोले चर्को आलोचना।

नेपाल दरबारमा रेजिडेन्टलाई भेटेर सहयोग माग्ने अनि अरुबेला ‘हर्चन्या थारु मुसलमान फिरंगी’ भन्दै निन्दा गर्ने खलकहरूको प्रतिस्पर्धा थियो। उता कलकत्ताका गभर्नर भने रेजिडेन्टलाई दरबारमा हस्तक्षेप नगर्नु भन्दै नेपालमाथि हमलाको योजना बनाउँथे। रेजिडेन्टको रुपमा दुवै पक्षलाई बेखुशी बनाएका हड्सनलाई १८४५ जूनमा इङ्गल्याण्डबाट भारत फर्कंदा कलकत्तास्थित कम्पनीका पदाधिकारीहरूले नेपाल जान निरुत्साहित गरेका थिए।

नेपाल नीतिमा कलकत्तास्थित आफ्ना प्रायः सबै हाकीमसँग रेजिडेन्ट हड्सनको ठ्याक नमिल्नुको एउटा कारण थियो– गोर्खा भर्ती सम्बन्धी धारणा। हड्सनले नेपालका खस, मगर र गुरुङ पर्वतेलाई ‘मार्सल रेस’ को रुपमा पहिचान गरेका थिए। उनी कम्पनीको वेंगाल आर्मीमा वैदिक हिन्दूहरूको ठाउँमा यी लडाकू पर्वतीयहरूलाई लिएर नेपाल दरबारसँग सम्बन्ध सामान्य बनाउनुपर्नेमा जोड दिन्थे। तर, भारत विजयसँगै पटकपटक विद्रोह पनि खेपिरहेको कलकत्ता भने पर्वतेहरूलाई त्यो तहको विश्वास गरेर संख्या बढाउने मनस्थितिमा थिएन।

१८५७ को सिपाही विद्रोह दमनमा भने पर्वते सेनाको प्रयोगमा हड्सनले गभर्नर जनरल लर्ड क्यानिङलाई मनाएरै छाडेको विवरण पुस्तकमा छ। त्यसका लागि जंगबहादुरको आग्रहमा दार्जीलिङबाट कलकत्ता झारेका उनले निकै दिन गभर्मेन्ट हाउसमा बसेर नेपाली फौजको प्रयोगमा कुनै जोखिम नभएको र त्यसबापत जंगले पश्चिम तराई फिर्ताको आशा राखेकोले जोखिम नभएकोमा गभर्नरलाई विश्वस्त पारेका थिए।

१८४५ मा नेपाल जान नपाएपछि हड्सन दार्जीलिङ गएर ‘ओरियन्टल स्टडिज’ लाई १२ वर्षसम्म निरन्तरता दिए। १८५८ मा दार्जीलिङ छाडेका उनी १८९४ मा लण्डनमा दिवंगत हुँदासम्म लगभग गुमनाम नै रहे। एलेनले हड्सनको त्यो अवस्था चित्रण गर्न इटालीका भाषाशास्त्री एन्जेलो डे गुबरनाटिसलाई उद्धृत गरेका छन्– “हाम्रा वरदान, बौद्ध अध्ययनका संस्थापक– यतिका वर्ष नरहेतुल्य भएछन्!”

हड्सनलाई आज विश्वले पक्षीशास्त्र, मानवशास्त्र, इतिहास, भाषाशास्त्र, प्रकृतिशास्त्र, समाजशास्त्रलगायतका विद्याका अग्रणी, बौद्ध अध्ययनका संस्थापक र सच्चा ‘ओरियन्टलिष्ट’ को रुपमा चिन्छ। लेखक एलेनका अनुसार, खासमा, ६ करोड भारतीयमाथि शासन गर्न आएका चारसयभन्दा कम अंग्रेजमध्येका एक हड्सनलाई समय काट्न कुनै सोख पाल्नुपर्ने परिस्थितिले काठमाडौंको बन्दी र मसहुर ओरियन्टलिष्ट बनाएको थियो।

शाक्यमुनि बुद्ध, सम्राट अशोक, पुरातत्वविद् फुहरर र साहित्यकार रुड्यार्ड किप्लिङमाथि ‘आधिकारिक’ पुस्तकहरू लेखिसकेका एलेनले हड्सनलाई प्रेमभावले भरिएका, अनेक अपमान–हण्डर खाएका र परिवार छिन्नभिन्न भएका असाधारण अध्येताको रुपमा चिनाएका छन्, स्वभाव, कमजोरी र गल्तीहरू पनि औंल्याउँदै। पुस्तकले हड्सनले सम्भवतः मुस्लिम श्रीमती र कान्छी छोरीलाई कहिल्यै नभेट्ने गरी काठमाडौंमै छोडेर हिंडेको उल्लेख छ। उनकी एउटी छोरी हल्याण्ड र छोरा दार्जीलिङमा बितेका थिए।

उबेलाको लिथोस्केच, चित्र, नक्शालगायत हड्सनकै उद्गारबाट बनाइएका ११ शीर्षकको आलेखले हड्सनबारे अलि फरक बुझाइ भएका नेपाली पाठकलाई १९औं शताब्दीको नेपाल, भारतमा जन कम्पनी बहादुरको सजिलो–अप्ठ्यारो आदिबारे नयाँ सूचनाहरू दिन्छ। यसले हड्सनले नेपालमा धेरै बिमाख गरेको संकेत पनि गर्छ।

उनले नेपालको राजनीतिमा धेरै हस्तक्षेप गरेको मात्र नभई धोक्रोका धोक्रो अमूल्य चिजहरू लगेको बुझाइ छ। एलेनको किताबले त्यो किन, कसरी र कहिले भयो भन्ने बताउँछ।

हड्सनले कूटनीतिक–राजनीतिक लाभका लागि नेपाल दरबारमा राजा र मुख्तियारदेखि बिचारीसम्मलाई आफ्नो बनाएका थिए भने बौद्धिक अध्ययनका लागि अमृतानन्द बज्राचार्य र राजमानसिंहदेखि तिब्बतका आम्ता र तासी लामासम्मलाई हात लिएका थिए। आम्ता काठमाडौंदेखि उत्तरी तिब्बतको तेजेदासम्म जोडिएको व्यापारिक मार्गका चल्तापुर्जा थिए भने तासी बौद्ध विद्वान्।

हड्सनले नेपालमा अभिलेख र वंशावलीदेखि वन बिरालोदेखि मानव खप्परसम्म संकलन गरे। उनले शिकारीहरू नियुक्त गरेका थिए। रेजिडेन्सीमा उनले बनाएको खोरमा भीमसेन थापाले उपहार दिएका झारल, नाउर, रतुवा, ब्वाँसो, जंगली कुकुर आदि थिए।

उनले दरबारमा ९ वर्षका राजा राजेन्द्रको लागि बनाइएको खोरमा पहिलो पटक एक सिंगे गैंडा देखेका थिए। तिनै गैंडाको अध्ययन गरेर उनले गैंडा नौ महीनामा नभई १८ महीनामा ब्याउँछ भन्दै पश्चिमा जुलोजिष्टहरूको मान्यतालाई चुनौती दिएका थिए।

१८३२ मा डा. क्याम्पवेल रेजिडेन्सीमा आएपछि एनाटोमीमा पनि उनको रुचि बढ्यो। हड्सनले काठमाडौंमा खोजी निकालेका विलक्षण तर निरक्षर चित्रकार राजमानसिंह उनका लागि जुलोजिकल, आर्किटेक्चुरल, रेलिजियस जस्ता विषयमा चित्रकारी गर्थे।

अक्टोबर १८३३ मा बहिनीलाई लेखेका चिठीमा हड्सनले यस्ता दुई हजार चित्र तयार भइसकेको जनाएका थिए। एलेनले राजमानलाई नेपालको पहिलो आधुनिक चित्रकार मान्नुपर्ने आधारहरू पनि दिएका छन्। हड्सनले राजमानलाई दार्जीलिङमा पनि काम लगाएका थिए।

नेपाललाई सन् १९६६–६७ देखि चिन्न थालेका एलेनले २३ वर्ष नेपाललाई कर्मथलो बनाएका हड्सनबारे उपलब्ध सबै स्रोतको उपयोग गरेका छन्। औपन्यासिकताले किताबलाई सरस बनाएको छ। बहिनी फेनीलाई लेखेको चिठीमा हड्सन ३२ वर्षसम्म पनि महिलाको मुख हेर्न नपाएको र एकान्तबासले परिवार पनि बिरानो भएको भन्दै आतेश पनि व्यक्त गर्छन्।

भारतमा जन्मेका अंगे्रजले लेखेको यो पुस्तकले हड्सनलाई मुख्यतः उनकै परिवेश, पत्र र उनले कलकत्ता पठाएका रिपोर्टहरूको आधारमा चित्रण गरिएको छ। हड्सनलाई काठमाडौंको इतिहास पढेर चिनेकाहरूलाई यो पुस्तक निकै चाखलाग्दो छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>