सम्पादकीयआइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
चिकित्सकहरूको करीब ३४ घण्टाको निरन्तर प्रयासपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला खतरामुक्त अवस्थामा स्वास्थ्योपचारमा छन् ।
‘श्वासप्रश्वास र पेटको समस्या’ निदानका लागि राजधानीको ओम अस्पतालमा रहेका डा. कोइरालालाई २२ असार बिहान साढे पाँचबजे बेडमै अचेत अवस्थामा पाइएपछि ‘एड्भान्स लाइफ सपोर्ट– एएलएस’ दिएर उपचार गरियो । ‘एस्पिरेसन निमोनिया’ बाट शरीरभर संक्रमण (सेप्टिक शक) फैलिएको र ‘मल्टी अर्गन डिस्फङ्सन’ भएर कोइरालाको अवस्था ‘अत्यन्तै गम्भीर’ बन्न पुगेको चिकित्सकहरूले जनाएका थिए ।
त्यो समाचार सार्वजनिक हुनेवित्तिकै देशको बृहत्तर राजनीतिक परिदृश्य चिन्तित देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका प्रमुख दलका मुख्य नेताहरू अस्पताल पुगेर कोइरालाको स्वास्थ्योपचारबारे जानकारी लिए, एअर एम्बुलेन्सबाट विदेश लगेर उपचार गर्न चिकित्सकहरूसँग आग्रह गरे ।
तर, काठमाडौंका सबैजसो वरिष्ठ चिकित्सक संलग्न टोलीले कोइरालाको जीवनका लागि अस्पतालदेखि एअरपोर्टसम्मको दूरी पनि खतरनाक हुनसक्ने भएकोले आईसीयूबाट निकाल्ने अवस्था नरहेको जनायो । त्यही कारण २३ असार बेलुकी भेन्टिलेटरबाट ननिकालुञ्जेलसम्मै डा. कोइरालाको जीवनलाई लिएर शुभेच्छुकहरू ‘चमत्कार’ को पर्खाइमा बस्नुपर्यो । र, चमत्कार भयो पनि । चिकित्सकहरूले चलाएको औषधिहरूलाई डा. कोइरालाको शरीरले ‘रेस्पोण्ड’ ग¥यो, उनी खतरामुक्त भए । यो लेखिरहँदा उनी बोल्न र खान सक्ने अवस्थामा पुगेका छन् ।
कांग्रेस महामन्त्री कोइरालाले गर्नुपरेको ३४ घण्टे जीवनसंघर्षले माथिल्ला तहका नेपाली नेताहरूको बरव्यवहार र हाम्रो चिकित्सा प्रणालीमा गम्भीर प्रश्नहरू उठाएको छ । श्वासप्रश्वास र पेटको समस्या लिएर अस्पताल पुगेका कोइरालालाई कुन अवस्थामा भर्ना गरिएको थियो ?
प्रारम्भिक डाइग्नोसिस के हो ? बेलुका ८ बजे भर्ना भएका बिरामीलाई अचेत अवस्थामा पाइनु अगाडिसम्म के–कस्तो उपचार गरियो ? व्यवस्थापिका–संसद्को सबभन्दा ठूलो दलको महामन्त्री अचेत हुँदासम्म उनीसँग किन कोही भएन ? आईसीयूसँगैको केबिनमा अक्सिजन मास्क फुकालेको र बेडमै आन्तरिक बान्ता भएको किन कसैले चाल पाएन ? कोइराला सम्साँझै अस्पताल भर्ना भएको कुरा किन पार्टी नेतृत्व र सरकारले थाहा पाएन ?
यी प्रश्नहरू हुन्, जसको जवाफ डा. कोइरालाको पार्टी पंक्ति र शुभेच्छुकहरूका लागि मात्र नभएर मुलुकको लोकतान्त्रिक प्रणालीको अविचलित यात्राका लागि पनि अपेक्षित छ ।
प्रथमतः उनको प्रारम्भिक स्वास्थ्य समस्या र उपचार प्रक्रियाबारे साधिएको मौनताले हाम्रो चिकित्सा प्रणाली र अस्पताल व्यवस्थापनमाथि प्रश्न उठाएको छ । दोस्रो, डा. कोइराला मुलुकको सम्भावित सत्ता सञ्चालकमध्येका हुन् । उनको प्रारम्भिक ‘कम्प्लेन’ र एएलएसमा रहेर स्वास्थ्योपचार गराउनुपर्ने असंगत अवस्थाबारे आजको जागरुक समाज उत्सुक हुन्छ नै ।
हाम्रो बुझाइमा, दुई दशकयता अधिकांश नेपाली राजनीतिक नेतृत्वले अपनाएको ‘कभर–अप’ जीवनशैलीको उत्कर्ष थियो– २१ असारको साँझ् ८ बजे, जतिबेला डा. कोइराला कनिष्ठ सहयोगीहरूसहित ओम अस्पताल पुगे ।
त्यही ‘कभर–अप’ जीवनशैलीलाई ढाकछोप गर्दै गरिएको ‘उपचार प्रक्रिया’ को दुष्परिणाम थियो, ४ लाख ७० हजार क्रियाशील सदस्य रहेको पार्टीका महामन्त्री अचेत भएको कसैलाई थाहा नहुनु ।
‘कभर–अप’– त्यस्तो जीवनशैली, जसमा व्यक्ति जानाजान सामाजिकीकरणबाट टाढिन्छ र खानपान, सर–संगतदेखि बर–व्यवहारसम्मका कुराहरू ढाकछोप हुन्छ । त्यस्तो ‘कभर–अप’ जसमा सार्वजनिक व्यक्तित्वको चर्यालाई समाजको नजरबाट जोगाइन्छ ।
काम, चरित्र र सामाजिक प्रतिष्ठाका हिसाबले राजनीतिक नेतृत्वतह सार्वजनिक जीवनको केन्द्रमा हुन्छन् । सार्वजनिकता नै उसको स्वीकार्यताको आयतन हुन्छ । त्यसबाट उसले देश र जनताका लागि गर्ने संभाव्य ‘डेलिभरी’ र कार्यशैलीको आकलन हुन्छ । राजनीतिमा आदर्श वाक्य छ– ‘राजनीतिक नेतृृत्वको निजी जीवन हुँदैन ।’ नेताहरूले ‘मेरो सम्पूर्ण जीवन देश र जनताको लागि’ भन्छन् पनि ।
विडम्बना, हाम्रा अधिकांश राजनीतिक नेतृत्व ‘कभर–अप’ जीवनशैली मनपराउन थालेका छन् । उनीहरूको भेटघाट, खानपान, सरसंगत सर्वत्र ‘कभर–अप’ हुँदैछ ।
माओवादीको हिंसात्मक विद्रोहसँगै विथोलिएको मुलुकको राजनीतिमा पन्पिएको ‘कभर–अप’ जीवनशैलीले राजनीतिक नेतृत्वहरूको सार्वजनिक जीवनलाई संकुचित बनाइसकेको छ । समाजमा राजनीतिक नेतृत्वको घट्दो घुलमिलले लोकतन्त्रको प्रमुख विशेषता पारदर्शितालाई क्रमशः धुमिल बनाउँदो र सिन्डिकेट–राजलाई प्रश्रय दिंदो छ ।
हो, व्यक्तिको स्वास्थ्योपचार नितान्त निजी कुरा भएकोले सम्बन्धित चिकित्सक र बिरामीबीच सीमित रहन्छ । यस्तो गोप्यता बिरामीको अधिकार र चिकित्सकको नैतिकता हो । स्वास्थ्योपचारको विषय बिरामी आफैंले सार्वजनिक गर्नु एउटा कुरा हो, तर चिकित्सक र अस्पतालले गोप्यता पालना गर्छ, गर्नुपर्छ ।
तर, जब राजनीतिक नेतृत्व– जसले कुनै पनि बेला मुलुकको बागडोर सम्हाल्ने अपेक्षा रहन्छ– उसको स्वास्थ्य सदैव सार्वजनिक चासोको विषय बन्छ । त्यस्ता व्यक्तिको स्वास्थ्य विवरण कम्तीमा राज्यको कुनै तहमा संग्रहित हुनुपर्छ, जसबाट उसले लिएका निर्णयहरूको लेखाजोखा हुनसकोस् ।
र, यसको शुरूआत आफ्नो राजनीतिको मात्र नभई जीवनकै दोस्रो पारी सम्हाल्दै गरेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला– जसले सार्वजनिक जीवनयापनको पारिवारिक विरासत नै पाएका छन्– बाट होस् । सुस्वास्थ्यको कामना !