अन्तर्वार्ता/विचारआइतबार, आषाढ २६, २०७३

सिनेमा मेरा लागि होइन जस्तो लाग्थ्योः दयाहाङ राई

हिमालखबर

दयाहाङ राई आदर्शभन्दा आम चरित्रमै रमाउन रुचाउने अभिनेता दयाहाङ राईले हालै राष्ट्रिय चलचित्र पुरस्कारमा ‘ह्याट्रिक’ गरेका छन् ।

राष्ट्रिय चलचित्र पुरस्कारमा ‘ह्याट्रिक’ गर्दा कस्तो महसूस भइरहेको छ ?
खुशी छु । जिम्मेवारी थपिएको महसूस भइरहेको छ । आफूले पाएको यो इज्जत म गुमाउन चाहन्न । ‘ह्याट्रिक’ शब्द चाहिं अलि व्यावसायिक सुनिने रहेछ, अलि अप्ठेरो पनि लागिरहेको छ ।

रंगमञ्चमा स्थापित तपाईंलाई चलचित्रबाटै यस्तो पुरस्कार बारम्बार पाइरहन्छु जस्तो लागेको थियो ?
मैले अभिनय शुरू गर्दा नाटकमै केन्द्रित हुन्छु भनी सोचेको थिएँ । सिनेमा हेर्थें तर, आफूजस्तो अनुहार कतै देख्तिनथें । सिनेमा मेरो लागि होइन भन्ने लाग्न थाल्यो । तर पनि सिनेमा हेर्न र बुझ्न छाडिनँ । अभिनय गर्न थालेपछि भने मेरो पनि ठाउँ रहेछ जस्तो लाग्यो । तर यसरी पुरस्कार नै पाउँछु भन्ने सोचेर चाहिं थिइनँ ।

अधिकांश समाजले आफ्नो आदर्शलाई नै नायक मान्छ । तर, तपाईंजस्तो आम अनुहारको मान्छे उत्कृष्ट नायक हुनुको कारण के हो ?
सही हो, समाजले आफ्नो आदर्शलाई नै नायक मान्छ । तर, मैले समाजले राम्ररी नदेखेको चरित्रलाई उतार्ने प्रयास गरेको छु । सिनेमामा हेर्दा कतै आफूले देखेजस्तो, चिनेजस्तो, संगत गरेजस्तो लागेमा दर्शकले ‘इन्जोय’ गर्छन् । त्यही भएर म आम अनुहार बन्दै गए हुँला ।

एउटा सफल अभिनेता बन्ने सूत्र के हो ?
अभिनयले मात्र सफल बनिन्छ जस्तो मलाई लाग्दैन । इमानदारिता सबैभन्दा प्रभावकारी सूत्र हो । आफूप्रति मात्र होइन, समाजसँग पनि उत्तिकै इमानदार हुनुपर्छ ।

रंगमञ्च र चलचित्रमा तपाईंका योजना के के छन् ? आउँदो पुस्ताले कस्तो अभिनेताका रूपमा सम्झिरहुन् जस्तो लाग्छ ?
म आफ्नो खुशीको लागि आफैंले रोजेको काम गरिरहेको छु । इमानदार भएर काम गरिरहनेछु । सधैं काम गरिरहनेवाहेक कुनै विशेष योजना बनाएको छैन ।
कुनै खास विशेषणले मलाई सम्झिउन् भन्ने मलाई लाग्दैन । तर, सम्झनलायक काममा गर्ने प्रयत्न भने जारी राख्नेछु । आउँदो पुस्ताले ‘सधैं कोशिश गरिरहने मान्छे’ भनी सम्झिदिए पुग्छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>