थप समाचारआइतबार, आषाढ २६, २०७३
डा केसीको आन्दोलन, सबै नेपालीको आन्दोलन हो: गगन थापा
विगतमै सरकारले पूरा गर्ने प्रतिवद्धता जनाएका माग राखेर डा. गोविन्द केसी फेरि एकपटक आमरण अनसनमा बस्नु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण छ ।
झट्ट हेर्दा उनको आन्दोलन चिकित्साशास्त्रसँग मात्र सम्बन्धित देखिए पनि यो कस्तो समाज र लोकतन्त्रको निर्माण गर्ने, विधिको शासन मान्ने कि नमान्ने जस्ता गहन विषयहरूसँग जोडिएको छ ।
तसर्थ डा. केसीका माग जनताका माग हुन् ।
मुलुकलाई पुन: संवैधानिक लिकमा फर्काउने नाममा हिजो प्रधानन्यायधीशको नेतृत्वमा सरकार बनाएर भएका अनेकन नियुक्तिका निर्णयहरूले अन्ततोगत्वा लोकतन्त्रलाई नै दुषित तुल्याएर देशमा विधिको शासन कमजोर बनाएको छ ।
त्यस्ता नियुक्तिलाई त्यसबेला हामीले रोक्न खोज्दा सबैको साथ पाएको भए अहिले शायद यो अवस्था बेहोर्नु पर्ने थिएन । तर एकचोटि फेरि डा. केसीले साहसपूर्वक त्यसलाई सच्याउने अवसर दिलाउनु भएको छ ।
त्यसैले यो एक्लो डा. केसीको मात्र संघर्ष होइन, हामी सबै सचेत नेपालीको आन्दोलन हो । उनका मागहरू पूरा गराउन हामी एक अर्कालाई बल पुर्याउँदै आ-आफ्नो स्थानबाट लड्नै पर्छ ।
(गगन थापाको फेसबुकबाट)