थप समाचारआइतबार, आषाढ २६, २०७३
डा. केसीको आठौं अनशन शुरु
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आठौं पटक आमरण अनसन शुरु गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिषरमा अनशन शुरु हुनअघि उनले पत्रकार सम्मलेन गरी आफ्ना मागहरुबारेमा सञ्चारकर्मीलाई प्रष्ट्याएका थिए ।
उनले चिकित्सा शिक्षा क्षेत्रमा रहेको वेथितिविरुद्ध आफूले पटकपटक अनशन गर्नु परेको र आफूसँग भएका सम्झौताहरु सरकारले कार्यान्वयन नगर्दा यस्तो अवस्था आएको बताए ।
आफ्ना चारवटा माग पूरा नहुँदासम्म अनशन नतोड्ने उनले बताए । केसीको यो आठौं अनशन हो ।
केसीले अनशन शुरु गर्नुअघि उनका प्रतिनिधिहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले डा केसीका मागहरु पूरा गर्न पहल गर्ने बताए पनि वार्ता ठोस निष्कर्षमा पुग्न नसकेको उनका प्रतिनिधि डा जीवन क्षेत्रीले जानकारी दिए ।
केसीका मागहरु:
१. चिकित्सा शिक्षा ऐनको मस्यौदामा निम्न सुधारहरु गरेर संसदको यही अधिवेशनबाट पारित गरियोस्
• सरकारी शिक्षण संस्थाहरुको सबै सिट नि:शुल्क गर्ने
• सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्यारउने
• काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने
• अधिकतम शुल्क र सीट यो वर्ष झै व्यवस्था गर्ने
• केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने
२. आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टाचारमा लिप्त तथा कार्यक्षेत्र नाघेर प्रतिशोधपूर्वक काम गर्दै आएका अदुअआ प्रमुख लोकमानसिंह कार्की र आयुक्त राज नारायण पाठकमाथि तत्काल संसदले महाअभियोगको प्रक्रिया अघि बढोइयोस् ।
३. माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्माक विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस्। साथै चिकित्सा शिक्षा नीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर निहित स्वार्थको लागि सो प्रतिस्ठान विधेयक पारित गर्न खोज्ने सांसदहरुमाथि समेत कानुनी प्रक्रिया बमोजिम छानविन र कारबाहीको प्रक्रिया अघि बढाइयोस् ।
४. विगतमा भएका निम्न लिखित सम्झौतालगायत सबै सम्झौता अविलम्ब कार्यान्वयन गरियोस्।
• आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने
• फ्रि पिजीपछि अनिवार्य करारको अवधि दुई वर्ष कायम गर्दै कार्यविधिमा सुधार गरियोस्
• मेरिटमा आधारित भर्ना, शुल्क र सीट सीमालगायतका बुँदाहरु कडाइका साथ कार्यान्वयन हुने व्यवस्था गरियोस्
• विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा अन्त गर्न शिक्षा मन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञको नेतृत्वमा सर्च कमिटी बनाउने कानुनी व्यवस्था गरियोस्
• अनियमितता र भ्रष्ट्राचारमा मुछिएका आइओएम र र त्रिविका पूर्व-पदाधिकारीहरुमाथि तत्काल छानविन र कारबाही गरियोस् ।
डा केसीले अनशन शुरु गर्दै गर्दा उनी अनशन बसेको भवन बाहिर मनमोहन अस्पतालका डा रामकुमार अधिकारीको नेतृत्वमा आएका उक्त अस्पतालका कर्मचारी र चिकित्सकको करिब १० जनाको समूहले ‘अस्पतालमा अनशन बस्न पाइँदैन’ भन्ने ब्यानर सहित धर्ना दिएका थिए ।
अस्पताल परिषर बाहिर भने विवेकशील नेपालीले डा केसीको समर्थनमा प्रदर्शन गरिरहेको छ ।