समाचारसोमबार, आषाढ २७, २०७३
फ्रान्सलाई हराउँदै पोर्चुगल बन्यो यूरो कप च्याम्पियन
यूरो कप–२०१६ काे पेरिसमा भएको फाइनल खेलमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराएर उपाधि जितेको छ । पोर्चुगलले यो उपाधि पहिलो पटक जितेको हो ।
निर्धारित ९० मिनेटमा कुनै टिमले गोल गर्न सकेका थिएनन् । पोर्चुगलका खेलाडी एडरले ११० औं मिनेटमा २५ मिटरको दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
यो गोलसँगै स्टेडियममा ठूलो संख्यामा रहेका आयोजक फ्रान्सका प्रशंसक निराश भए भने पोर्चुगलका प्रशंकमा खुशी र उत्साह भरियो ।
खेलको समाप्तिसम्म फ्रान्सको टिमले गोल बराबरी गर्न नसक्दा पोर्चुगलले प्रतियोगिता १–० ले जित्यो ।
पोर्चुगलले करिब पूरै म्याच आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै खेल्यो । रोनाल्डो फ्रान्सका खेलाडी दिमित्री पायटसँग ठोक्किएपछि खेलबाट बाहिरिएका थिए ।
स्ट्रेचरमा खेल मैदानबाट बाहिरिंदै गर्दा उनका आँखा रसाइरहेका थिए ।
फ्रान्सको प्रदर्शन खेल अवधिभर राम्रो भए पनि बाजी भने पोर्चुगलले जित्यो । पोर्चुगलमाथि फ्रान्स हावी भइरहे पनि पाएका मौकाको उसले सदुपयोग गर्न सकेन ।