रमझमसोमबार, आषाढ २७, २०७३
‘ओटेयर’ कियोरोस्तामी
४ जुलाईमा इरानी चलचित्र निर्देशक अब्बास कियोरोस्तामी (७६) बितेको खबर सुन्नेबित्तिकै धेरैले कोकोर गाउँका बालक अहमद सम्झिएको हुनुपर्छ, जो भूलवश आफूसँग आइपुगेको साथीको नोटबूक फर्काउन चिन्तित छ । नोटबूक नभएकै कारण साथी कक्षाबाट निकालिने डरले सताइएको उसलाई साथीको घर भने थाहा छैन ।
‘ह्वेयर इज द फ्रेण्ड्स होम ?’ सन् १९८७ मा बनाएको यही चलचित्रले कियोरोस्तामीले बाँकी विश्वको ध्यान आफूतर्फ खिचेका थिए, र सँगसँगै इरानी फिल्मको हैसियत बताइदिएका थिए ।
सन् १९७९ मा आयोतुल्लाह खोमेनी नेतृत्वको इस्लामिक विद्रोहपछि इरान पूर्णतः धार्मिक देश बन्यो । लगत्तै शुरु भएको सांस्कृतिक क्रान्तिले चलचित्रलाई वेश्यावृत्तिको नजिक ठान्यो । राजनीतिक स्वतन्त्रतामा रमाइरहेका इरानका थुप्रै साहित्यकार, चलचित्रकर्मी र बौद्धिक पश्चिमी मुलुकतर्फ पलायन हुन थाले । तर, कियोरोस्तामी देशभित्रै बसे ।
धार्मिक अन्धवादमा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नु भगवानको निन्दा गर्नुसरह मानिन्छ । ‘बालमनोविज्ञानबाटै समाजका विषमता देखाउने’ रहर नभई सेन्सर छल्ने बाध्यताकै उपज थियो । त्यसैले कियोरोस्तामी मात्र होइन, ‘चिल्ड्रेन अफ हेभेन’ (मजिद मजिदी) को ‘अ सेपरेशन’ (असगर फरहादी) देखि नयाँ पुस्ता समेत यही पथमा हिंड्न बाध्य भए/छन् ।
तर राजनीतिक, धार्मिक, आर्थिक र सेन्सरलगायतका सीमितताबीच पनि इरानी चलचित्र किन विशेष लाग्छन् ? अधिकांश इरानी चलचित्र किन मुटु छुँदै जान्छन् ? के विशिष्ट सिर्जनाका लागि निरंकुशता आवश्यक छ ? यस्ता आम प्रश्नको उत्तर दिने जीवित आधिकारिक व्यक्ति कियोरोस्तामी नै थिए । किनकि आज विश्वमा इरानी चलचित्रको जुन सुवास फैलिएको छ, त्यसको पहिलो माली उनी नै थिए ।
व्याकरणप्रतिको विद्रोह
तेहरानमा जन्मिएका कियोरोस्तामीका बुबा पेन्टर थिए । त्यसैको प्रभावमा उनले फाइन आर्ट पढे । केही समय चित्रकला, ग्राफिक्स डिजाइनको काम पनि गरे । यो विधाले उनलाई टेलिभिजन विज्ञापनसम्म ल्यायो ।
सन् १९६० को दशकलाई इरानी फिल्मको ‘नयाँ लहर’ मानिन्छ । त्यही दशकको अन्त्यतिर १९६९ मा उनले इन्ष्टिच्यूट फर इन्टेलेक्चुअल डेभलपमेन्ट अफ चिल्ड्रेन एण्ड योङ अडल्ट्स खोले, जसको संरक्षक तत्कालीन इम्प्रेस् फराह थिइन् । यसबीचमा वृत्तचित्र र छोटा फिल्म बनाएका कियोरोस्तामीको पहिलो फिचर फिल्म भने ‘द रिपोर्ट’ (१९७७) थियो । यो फिल्ममा उनले कर अधिकृतमाथि लागेको घूसको आरोप र आत्महत्यालाई विषय बनाएका थिए ।
यी निर्देशकलाई अन्तर्राष्ट्रिय ख्याति दिलाउने कथा भने उही ‘कोकोर ट्रिलोजी’ नै थियो । ‘ह्वेर इज द फ्रेन्ड्स होम ?’ पनि यसैको पहिलो भाग थियो भने ‘लाइफ, एण्ड नथिङ मोर…’ र ‘थ्रु द ओलिभ ट्रिज’ मा कोकोरका कथा टुंगिएको थियो ।
कम्तीमा ३५ हजारको ज्यान जाने गरी १९९० मा इरानमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पको पृष्ठभूमिमा खिचिएका पछिल्ला दुई फिल्मले फिल्म निर्माणको स्थापित व्याकरणप्रति एकखाले विद्रोह नै गरेको थियो । कथावाचनमा तथ्य र कल्पनाशीलताको यस्तो गजबको संयोजन यसअघि चलचित्रमा देखिएकै थिएन ।
‘टेष्ट अफ चेरी’ (१९९७) बाट कान्स फिल्म फेस्टिभलमा पाल्मा डोर उपाधि जितेका कियोरोस्तामीले लगत्तै’ द विन्ड विल क्यारी अस्’ बाट प्रसिद्धी कमाए । ‘टेन’ (२००२) मार्फत महिला ट्याक्सी ड्राइभरको आँखाबाट इरानको समाज नियाल्ने उनको प्रयासलाई खास प्रयोग नै मानियो ।
तर, कियोरोस्तामी स्वयं भने आफूले केही नयाँ आविष्कार नगरेको बताउँथे । “म मानिसका दैनन्दिनका जीवनशैली हेर्छु र कथा बुन्छु”, उनी भन्थे । अध्यात्म, दर्शन र कविताबाट फिल्मका कथा र संवाद भन्न सक्ने कियोरोस्तामीको खूबी वास्तवमै अद्भुत थियो ।
एउटा बिडम्बना
खोमेनी शासनपछि पनि मुलुक छाडेर नजानु आफ्नो जीवनको अहम् निर्णय ठान्थे, कियोरोस्तामी । कारण खोतल्दा भन्थे– तपाईं रुखलाई अर्को जमीनमा सार्न त सक्नुहुन्छ, तर त्यो रुखबाट पहिलेकै जस्तो मीठो फल पाउन सक्नुहुन्न । यो प्रकृतिको नियम हो । मलाई लाग्छ, यदि मैले देश छाडेको भए म पनि त्यही रुखजस्तै हुनेथिएँ ।
पछिल्लो समय फ्रान्समा अस्थायी बसोबास थालेका कियोरोस्तामीका पछिल्ला दुई चलचित्र ‘सर्टिफाइड कपी’ (२०१०) र ‘लाइक समवन इन लभ’ (२०१२) को पूरै सूटिङ इटाली र जापानमा भयो । कलाकार, प्राविधिक मात्र होइन, कथा पनि उतैका भए । कियोरोस्तामीको नाम सुन्नेवित्तिकै आउने इरानी गाउँ र गल्लीको वास्ना यी चलचित्रमा पाइएन । ‘कियोरोस्तामी आफूले भनेजस्तै बसाइ सरेको रुख भए’, धेरैले आलोचना पनि गरे ।
तर, धर्ती छाडेर जानुभन्दा धेरै पहिल्यै कियोरोस्तामी विश्वकै सर्वकालीन कथावाचक बनिसकेका थिए । नत्र अकिरा कुरोसावाजस्ता महान चलचित्रकर्मीले सत्यजीत रे जस्तै अर्को प्रतिभा दिएकोमा भगवानलाई धन्यवाद भन्ने थिएनन् ।