रिपोर्टमंगलबार, आषाढ २८, २०७३
के भएको शशांकलाई ?
चमत्कारिक रूपमा पुनर्जीवन पाएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला मदिराको समस्याबाट छुटकारा पाउने उपचारमा थिए।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य स्थितिमा आएको सुधारलाई उपचारमा संलग्न चिकित्सकहरूले नै ‘चमत्कार’ भनेका छन्। २१ असार साँझ पेट फुलेर असहज महसूस भएपछि सामान्य अवस्थामै अस्पताल भर्ना भएका उनको स्वास्थ्य बिहान चार बजेपछि एकाएक ‘क्रिटिकल’ बनेको अस्पतालले जनाएको थियो।
बिहानपख अचेत अवस्थामा भेटिएका उनलाई तत्काल भेन्टिलेटरमा राखेर काठमाडौंमा उपलब्ध १५ जना वरिष्ठ चिकित्सकको टीम बनाएर उपचार शुरू गरिए पनि २४ घण्टासम्म कुनै सुधार आएन।
‘जे पनि हुन सक्ने’ चिकित्सकहरूको जनाउपछि भारतको अस्पताल लैजान गरिएको प्रयास पनि सफल भएन, भेन्टिलेटरबाट निकाल्न नमिलेका कारण। तर, २३ असारको बिहान डा. कोइरालाको स्वास्थ्य अवस्थामा एकाएक सुधार आयो। अवरुद्ध भएका अंग–प्रत्यंगले काम गर्न थाले र त्यही दिउँसोसम्म उनलाई भेन्टिलेटरबाट निकालियो। करीब ३४ घण्टासम्म चलेको यो प्रक्रियामाथि सिंगो देशले चासो जनाइरहेको थियो।
गत फागुनमा सम्पन्न तेह्रौं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि नेपाली कांग्रेसको भावी सभापतिका रूपमा हेर्न थालिएका र कांग्रेसमा कोइराला परिवारको विरासत समेत थाम्ने विश्वास गरिएका बीपीपुत्र शशांकको स्वास्थ्यलाई लिएर देशभर देखापरेको चिन्ता अस्वाभाविक थिएन। आखिर के भएको थियो, डा. शशांकलाई? कसरी यो अवस्थामा पुगे उनी?
‘डिटक्सिकेसन कोर्स’
महामन्त्रीमा निर्वाचित भएसँगै डा. शशांकको व्यस्तता बढ्न थालेको थियो। कोइराला परिवारको ‘लिगेसी’ कांग्रेसको उपल्लो तहमा पदार्पण गर्ने निर्णायक कारण बने पनि नेतृत्वमा स्थापित हुन पार्टी पंक्तिको भरोसा जित्नुपर्छ भन्ने बोध भएरै हुन सक्छ, उनी जिल्ला जिल्लामा पुग्न थालेका थिए।
केही दिनअघि मात्र उनी मध्यपश्चिमका दाङ, सल्यान, रुकुम र बाँकेमा आयोजित पार्टी कार्यक्रमहरूमा सहभागी भएर फर्केका थिए। यहीबीचमा उनी ओखलढुंगालगायतका पूर्वी पहाडका जिल्ला पुगे भने पार्टीनिकट सम्पर्क समितिको कार्यक्रममा भाग लिन दिल्ली पनि गए।
मध्यपश्चिमका जिल्ला घुम्दा सँगै रहेका बर्दिया कांग्रेसका पूर्वसभापति एवम् सांसद सञ्जय गौतम त्यसबेला महामन्त्री कोइराला धपेडीमा रहे पनि स्वास्थ्यमा समस्या भएजस्तो नलागेको बताउँछन्। तर, अस्पताल भर्ना हुनुभन्दा एक साता अघिदेखि नै डा. कोइराला संसद् बैठकमा आउन छाडेका थिए।
संसद्मा भेटिन छाडेपछि साथीहरूसँग सोध्दा उनलाई सञ्चो नभएको जानकारी पाएको गौतम बताउँछन्। “त्यसपछि घरमै जाँदा उहाँलाई बिसञ्चो रहेछ”, गौतम भन्छन्, “तर के भएको भनेर सोधिनँ, उहाँले पनि बताउनुभएन।”
के त्यो धपेडी नै थियो त, जसले उनलाई एक्कासि यो अवस्थामा पुर्यायो?
आँखा रोग विशेषज्ञ समेत रहेका कोइराला करीब १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका थिए। ओम अस्पताल एण्ड रिसर्च सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लवनरसिंह जोशीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएकाले उनी त्यहीं पुग्ने गर्थे। त्यसबाहेक वरिष्ठ स्त्रीरोग विशेषज्ञ रहेकी शशांकपत्नी डा. सुपात्रा कोइराला पनि ओममै कार्यरत छिन्। तर, हिमाल लाई प्राप्त जानकारी अनुसार ओममा डा. कोइरालाको अर्को उपचार पनि चलिरहेको थियो। त्यो थियो– मदिराको लत र त्यसका साइड इफेक्टहरूबाट छुटकारा पाउने उपचार।
परिवारका सदस्य र अस्पतालले यसबारे जानकारी दिन इन्कार गरे पनि कोइराला परिवारका भित्रियामध्येका एक कांग्रेस नेताले यसलाई लुकाएनन्। उनले शशांकलाई यो उपचारका लागि राजी गराउन पनि धेरै मिहिनेत गर्नुपरेको बताए। रगतबाट टक्सिक निकाल्ने (डिटक्सिकेसन) को उपचार चलिरहेको बताउँदै ती नेता भन्छन्, “त्यसका लागि उनी महीनामा दुई या तीनपटक अस्पतालमै बस्थे।”
कान्तिपुर अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ डा. नगेन कटुवालका अनुसार, मदिराको लतमा फँसेका व्यक्तिलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने प्रारम्भिक उपचार पद्धति हो, ‘अल्कोहोलिक डिटक्सिकेसन (डिटक्सिफिकेसन)’।
यो उपचार पद्धतिमा शुरूमा एक सातादेखि १० दिनसम्म अस्पतालमै राखेर बेन्जोडाइजोपिन, टोपिरामिड, नाटि्रकसासिन जस्ता औषधिहरू दिइन्छ। यस्तो उपचार पद्धति आवश्यक पर्ने चरणमा पुगेका मदिराको लतमा परेका व्यक्तिलाई पेट पोल्ने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिन्छन्। यस्तै लक्षण देखिएपछि डा. कोइराला २१ असारमा ओम अस्पताल भर्ना भएका थिए।
डिटक्सिकेसन उपचार पद्धतिको असर–प्रभाव हेर्न बिरामीलाई नियमित परीक्षण गरिन्छ। त्यसकै लागि डा. कोइराला ओम अस्पताल पुगिरहन्थे। अस्पतालमै बस्नुपर्ने हुनाले प्रायः उनी साँझ्मा जान्थे। डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीले हाइपरटेन्सनको बिरामी रहेकाले उनी महीनामा एक दुईपटक स्वास्थ्य परीक्षणका लागि ओम अस्पताल जाने गरेको बताए। तिवारीले योभन्दा बढी जानकारी दिन नचाहेकाले डा. कोइरालाको ‘डिटक्सिकेसन’ उपचार कहिलेदेखि चलिरहेको थियो भन्ने यकिन भएन।
गत फागुनको पार्टी महाधिवेशनमा डा. कोइराला महामन्त्रीको उम्मेदवार बनेपछि विपक्षीहरूले उनीमाथि मदिराको कुलतमा परेको भन्दै आलोचना गरेका थिए। त्यसबेला उनका निकटस्थहरू ‘उहाँले मदिरा छाडेको एक वर्ष भइसक्यो’ भन्थे।
त्यो भनाइबाट उनको उपचार एक वर्षदेखि चलिरहेको बुझ्न सकिन्छ। उपचार चलिरहेकै बेला स्वास्थ्यमा यत्रो समस्या किन आयो? उपचार पद्धतिको साइड इफेक्ट थियो? या उनले यहीबीचमा मदिरा सेवन गरे? “पार्टीका कार्यक्रममा जिल्ला दौडाहा शुरू भएसँगै धपेडीमा उनले मदिरा सेवन शुरू गरे”, नाम उल्लेख गर्न नचाहने अर्का एक नेता भन्छन्, “अनि उनको स्वास्थ्यमा यत्रो समस्या आयो।”
उपचारका क्रममा उनको कलेजोमा ‘इन्जाइम’ बढेको भेटिएको छ भने मिर्गौलामा पनि समस्या देखिएको छ। डा. कोइरालाको मदिराप्रेमबारे परिवारका सदस्य र पार्टीका नेता–कार्यकर्तादेखि उनलाई चिन्नेसम्म जानकार छन्। पारिवारिक जीवनमा धेरै असर परेपछि उनले कैयौं पटक मदिरा त्याग्ने प्रयास पनि गरे। केही समय छाड्ने र फेरि शुरू गर्ने ‘रुटिन’ जस्तै बनेको थियो।
मद्यपानको लत
बनारस हिन्दू विश्वविद्यालयबाट एमबीबीएस र विशेषज्ञ (एमडी) गरेका आँखाका अब्बल चिकित्सक शशांक कोइरालाले २०४१ सालदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘प्राक्टिस’ शुरू गरेका थिए। त्यही बेलादेखि राजनीतिमा संलग्न हुनथालेका उनले काका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि आफ्नो दायरा बढाउँदै लगे।
त्यही बेलादेखि मद्यपानको लत शुरू भएको नेविसंघको राजनीति गरेका शिक्षण अस्पतालका एक चिकित्सक बताउँछन्। नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, “व्यावसायिक र राजनीतिक गतिविधिको तनाव घटाउन मदिराको सहारा लिने क्रममा उहाँ अल्कोहोलिक हुनुभयो।”
२०६० सालमा चिकित्सा पेशा छाडेर राजनीतिमै सक्रिय बनेपछि उनको मद्यपान पनि बढ्यो। खराब आचरण भएका कतिपय कार्यकर्ताको संगतले जीवनशैली थप बिग्रिंदै गएको उनका निकटस्थहरू बताउँछन्।
पैसा र पहुँचको बोलवाला बढेको अस्वस्थ राजनीतिद्वारा सिर्जित भद्रगोलमा नेताहरूको तनाव र जीवनशैली दुवै बिग्रिएको उनीहरू बताउँछन्। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला भन्छन्, “नेता मात्र नभएर सामान्य मानिसहरू पनि जीवनशैलीमा ध्यान नदिंदा विभिन्न नसर्ने रोगबाट पीडित बन्नुपरेको छ।”
पिता बीपी जस्तै सबैसँग सरल र मिजासिला व्यवहार गर्ने डा. शशांक कोइराला मदिराको लतका कारण पथबाट विचलित भइएला कि भन्ने चिन्ता प्रकट गरिरहन्थे। कोइराला परिवारनिकट कांग्रेसका एक नेता डा. कोइरालाले ‘मदिराको लतबाट मुक्त हुन चाहन्छु तर कति कोशिश गर्दा पनि सकिरहेको छैन’ भन्दै आँशु झारेको आफूले देखेको बताउँछन्। उनी भन्छन्, “अहिले चलिरहेको उपचार त्यही प्रयास थियो।”
चिकित्सा पेशा छाडेर सक्रिय राजनीतिमा आएको १२ वर्षमै पार्टीको महामन्त्री बनेका शशांक राजनीतिक भविष्यलाई लिएर चिन्तित हुन थालेको र त्यहीकारण मदिराको लतमा फर्केको हुनसक्ने उनको आकलन छ।
भविष्यको तनाव
नेपाली कांग्रेसको १३औं महाधिवेशनको पूर्वसन्ध्यामा डा. शशांक कोइरालाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न उठाए। महाधिवेशनमा महामन्त्री निर्वाचित भएपछि उनी यी मुद्दामा थप खुलेर आए।
उनले ‘८० प्रतिशत हिन्दू भएको देश धर्मनिरपेक्ष हुन नसक्ने’ भन्दै यसको छिनोफानो जनमतसंग्रहबाट गरिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिए। मुलुकले अंगीकार गरिसकेको र नयाँ संविधानले संस्थागत गरेको परिवर्तन विरुद्ध दिएको यस्तो अभिव्यक्ति उनको अस्वीकृति या रणनीतिक ‘मूभ’ मध्ये के हो, खुल्न बाँकी छ।
नेपालको राजनीतिक इतिहासमा कोइराला परिवार नै त्यस्तो परिवार हो, जो धर्मको सवालमा सधैं उदार रह्यो। बीपीले ‘कसैले हिन्दू राष्ट्रको कुरा गर्छ भने त्यो झेली हो, नेपाली कांग्रेसका कार्यकर्ता यसबाट मुक्त हुनैपर्छ’ भनेका थिए।
त्यस्तो परिवारमा हुर्केका डा. शशांक कोइरालाले धर्मनिरपेक्षताविरुद्ध किन बोले? राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल यसलाई राजनीतिमा स्थापित हुने रणनीतिक ‘मूभ’ मान्छन्। “हिन्दू राष्ट्रको कुरा न बीपीले स्थापित–स्वीकार गरेको मान्यता हो, न नेपाली कांग्रेसको घोषणापत्रले नै स्वीकार गर्छ” प्रा. पोखरेल भन्छन्, “संघर्षबाट नभई विरासत लिएर राजनीतिमा आएका शशांकले स्थापित हुन यस्तो बोलेका हुन्।”
पार्टीको महामन्त्री बन्नुअघि विरलै जिल्ला जाने शशांकले महामन्त्री निर्वाचित भएपछि एकपछि अर्को दौडाहा थालेका थिए। उनको भाषण र कुरा सुन्ने कार्यकर्ताले उनमा बीपीको अनुहार खोज्न थालेका थिए। मनमौजी स्वभावका उनमा नेतृत्व क्षमता र आत्मविश्वास पनि देखापर्दै थियो। जिल्लाहरूमा उनी भन्ने गर्थे– “यस्तो तालले हुँदैन, अब पार्टीको संगठन नयाँ ढंगबाट निर्माण र विस्तार गर्नुपर्छ।”
आफूलाई नेताका रूपमा उभ्याउँदै गएका डा. कोइराला धपेडी र व्यस्ततासँगै राजनीतिक भविष्यलाई लिएर तनावमा परेका हुन सक्छन्। संभवतः यही तनावबाट मुक्तिका लागि उनले कनिष्ठ सहयोगीहरूका बीच मदिराको सहारा लिए।
कोइराला परिवारनिकट एक नेता यसबाट निम्तिएको स्वास्थ्य समस्याले डा. शशांकको राजनीतिक क्रियाशीलतामा असर नपारी नछाड्ने बताउँछन्। “बीपी सधैं मपछिका कोइराला फाइभ स्टार छन्, राजनीतिमा गरिखाँदैनन् भन्नुहुन्थ्यो” शशांकलाई नजिकबाट चिनेका विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “शशांकले फाइभ स्टार राजनीति गर्ने हो भने अब राजनीति नै छोड्नु राम्रो हुन्छ।”
कसरी जोगाउने नेता?
नेताको स्वास्थ्यका लागि राजनीति संक्रमणबाट स्थिरताको लिकमा आउनुपर्यो, यसबारे राजनीतिकर्मीले नै गम्भीर भएर सोच्नुपर्यो।
प्रा. कृष्ण पोखरेल
नेपाली कांग्रेसको भावी सभापतिका रूपमा हेरिएका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य स्थितिले एउटा जबर्दस्त प्रश्न खडा गरिदिएको छ– देशकै स्वास्थ्यसँग जोडिएको नेताहरूको स्वास्थ्य जोगाउने कसरी? यो प्रश्न त्यसबेला खडा भएको छ, जतिखेर सामान्य स्वास्थ्य समस्या आउँदा पनि विदेशका अस्पताल पुगेर राज्यकोष खर्च गर्ने नेताप्रति नागरिकमा वितृष्णा चुलिएको छ। त्यसको मारमा परेको छ– आहार–बिहारमा ध्यान दिन नपाउने/नसक्ने नेताहरूको स्वास्थ्य।
जनतासँग बढी सम्पर्कमा रहनुपर्ने ‘मास लिडर’ हरूको जीवन त्यसै पनि बढ्ता तनावपूर्ण हुन्छ। जनता तथा कार्यकर्ताको अपेक्षा अनुसार चल्नुपर्ने बाध्यता र आफैंले थालेको हरेकका गुनासा–आकांक्षा आफैं सुन्ने विकृत अभ्यासले नेताहरूलाई आहारबिहार र जीवनशैलीमा ध्यान पुर्याउन नसक्ने अवस्थामा पुर्याएको छ। अमेरिकामा राष्ट्रपति विदा बस्छन्, परिवार र घुमघामलाई समय दिन्छन्, हामीकहाँ नेता विदा बस्नुलाई अस्वाभाविक मानिन्छ।
“कतिपय नेताको स्वास्थ्य बिग्रिनुमा वंशाणुगत कारण होला, कतिपयलाई दुर्भाग्यवश जटिल रोग लागेको होला”, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, “तर, धेरैजसोको जीवनशैली नै विमार किसिमको देखिन्छ, त्यसलाई परिवर्तन गर्नुपर्छ।”
दिवंगत प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइराला हुन् या वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अरु प्रमुख नेताहरू, सबैको स्वास्थ्य जर्जर छ। उनीहरू दबाईको बलमा दौडिरहेका छन्। त्यसको कारण जीवनशैलीसँगै जोडिएको छ। नेताहरू पार्टीभित्रको संघर्ष, अन्तर पार्टी प्रतिस्पर्धा र जनतामाझ लोकप्रिय बन्नुपर्ने दबाबमा छन्।
प्रा. पोखरेल यसबाट नेताहरूलाई जोगाउन राजनीतिमा स्थिरता हुनुपर्ने बताउँछन्। तर, यसबारे राजनीतिकर्मी नै गम्भीर हुनुपर्ने उनको भनाइ छ। “अब अभियन्ताहरूले पनि यसबारे अध्ययन–अनुसन्धान र बहस गर्नुपर्यो” प्रा. पोखरेल भन्छन्।