समाचारमंगलबार, आषाढ २८, २०७३
माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, दाहाल आफ्नै नेतृत्वमा सरकार गठनको तयारीमा
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
२८ असारमा पत्रकार सम्मेलन गरी माओवादीले आफू सरकारबाट बाहिरिएको र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी गराएको हो ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता पम्फा भूषालले एमालेसँग भएका विगतका सहमतिहरु कार्यान्वयन नभएका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइन् ।
माओवादी नेता कृष्णबहादुर महरा र भूषाल सहभागी सम्मेलनमा सरकारबाट आफूहरु बाहिरिएको बारे नेपाली कांग्रेसलाई जानकारी गराइसकिएको र कांग्रेसले पनि पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउने जानकारी गराइसकेको महराले बताए ।
केपी ओली नेतृत्वको सरकार हटाएर आन्दोलनरत मधेश केन्द्रित दलहरु समेत सम्मिलित सरकार गठनबारे यसअघि नै कांग्रेस र माओवादी बीच पटकपटक वार्ता भइसकेको छ ।
हिजो, २७ असारमा समेत माओवादी र कांग्रेसबीच भएको वार्तामा नयाँ सरकार गठन गर्ने सहमति भए पनि माओवादीले सरकार नछोड्दासम्म सहमति बाहिर नल्याउने सहमति भएको थियो ।
अहिले दाहालको नेतृत्वमा सरकार बन्ने र त्यसले स्थानीय निकायको निर्वाचन गराउने त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार गठन भई प्रदेशको र आम निर्वाचन गराउने सहमति भएको महराले बताए ।
नयाँ सरकार गठनका लागि थप के कस्ता सहमति भएका छन् भन्ने चाहीं नेताहरुले खुलाएका छैनन् । महराले सरकारको स्वरुप लगायत विषयमा काँग्रेससँग थप छलफल गरेर अगाडि बढिने र त्यसबारे काँग्रेसले सार्वजनिक रुपमा नै जानकारी गराउने बताए । सञ्चारकर्मीको जिज्ञासामा उनले सङ्क्रमणकालीन न्याय, संविधान कार्यान्वयन एवम् पुनःनिर्माण लगायत विषयमा सबै दल मिलेर नै अगाडि बढिने भन्दै कोही आत्तिने र कोही मात्तिनु जरुरी नभएको बताएका थिए ।
वर्तमान सरकारले आवश्यक विश्वासको मत जुटाउन सकेन भने नयाँ सरकार गठनका लागि कम्तिमा एक महीनाको समय लाग्ने छ ।
एमाले नेताहरुले एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि संसदमा अविश्वासको मतको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।
अविश्वासको मतको सामना नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरे भने पनि नयाँ सरकारका लागि कम्तिमा १५ दिन लाग्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
