समाचारबुधबार, आषाढ २९, २०७३

हामी डा केसीका साथमा छौंः धरानका विद्यार्थीहरु

हिमालखबर

drkcबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अध्ययनरत विद्यार्थीहरुले अनशनरत डा केसीका माग चाँडै पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

विद्यार्थीहरुले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ बढ्दै गईरहेको मेडिकल क्षेत्रको व्यापारीकरण र खस्कदै गईरहेको गुणस्तरलाई सुधार गर्न ३ करोड नेपाली जनताको स्वास्थ्यमाथि भईरहेको खेलवाड, भ्रष्टाचार र अनियमिततालाई रोक्न, राजधानी बाहिर पहुँचभन्दा टाढा रहेका ग्रामीण ठाउँहरूमा पनि मेडिकल कलेज खोल्ने वातावरण बनाउन र मेडिकल शिक्षा ऐन तत्काल पारित गरी नेपालको मेडिकल शिक्षाको गुणस्तरलाई कायम राख्न हामी डा। केसी साथमा छौँ ’

‘हाम्रा यी तमाम मागहरूप्रति वेवास्ता गर्दै सरकार गैरजिम्मेबार बनिरहे यही आगोको झिल्को डढेलोको रुप लिनसक्ने समेत चेतावनी दिन चाहन्छौँ ।’– विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति जस्ताको तस्तै:

प्रा.डा. गोविन्द केसी सरको अनसनबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट जारी विज्ञप्ति

विज्ञप्ति

प्रा. डा. गोविन्द केसी सरको आन्दोलनमा हाम्रो ऐक्यबद्धता

पछिल्लो समय नेपालको मेडिकल क्षेत्रमा मौलाउँदै गएको विकृति अनि यससँगै उब्जदै गरेको मेडिकल शिक्षाको व्यापारीकरणलाई रोक्न प्रा. डा. गोविन्द के.सी. सरले थाल्नुभएको आठौँ आमरण अनसनमा हामी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको पूर्ण समर्थन एवं ऐक्यबद्धता रहेको छ ।

डा. केसीका पूर्व सत्याग्रहरूमा सरकारले गरेका सम्झौताहरूको पूर्ण कार्यन्वयन, माथेमा प्रतिवेदनको पूर्ण रुपमा कार्यन्वयन, चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गरी यही संसदको अधिवेशनबाट पारित गर्ने र अन्य चिकित्सा क्षेत्रका सुधारका बिभिन्न माग राख्दै सुरु भएको यो आन्दोलनलाई मूर्तरुप दिन हामी विद्यार्थी डा. के.सी.को साथमा छौँ ।

बढ्दै गईरहेको मेडिकल क्षेत्रको व्यापारीकरण र खस्कदै गईरहेको गुणस्तरलाई सुधार गर्न ३ करोड नेपाली जनताको स्वास्थ्यमाथि भईरहेको खेलवाड, भ्रष्टाचार र अनियमिततालाई रोक्न, राजधानी बाहिर पहुँचभन्दा टाढा रहेका ग्रामीण ठाउँहरूमा पनि मेडिकल कलेज खोल्ने वातावरण बनाउन र मेडिकल शिक्षा ऐन तत्काल पारित गरी नेपालको मेडिकल शिक्षाको गुणस्तरलाई कायम राख्न हामी डा. केसी साथमा छौँ ।

नेताहरू बिरामी हुँदा विदेशका महंगा अस्पतालमा पुग्लान् तर कर्णालीमा सिटामोल कहिले पुग्ने ? माफियाहरूको संजालबाट मेडिकल क्षेत्र मुक्त गर्न, गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न, माथेमा प्रतिवेदन र चिकित्सा शिक्षा ऐन कार्यन्वयनमा विलम्ब नगरी विश्वासिलो एवं गुणस्तरीय स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाको निम्ति हामी डा. केसी को साथमा छौँ ।

पैसाको विटोसँग साटिएका डाक्टरका सक्कली र नक्कली सर्टिफिकेट अनि भविष्यमा साटिने सर्वसाधारणको स्वास्थ्यलाई रोक्न लाग्नुभएका डा. के.सी. सरको अग्रसरतालाई हामी सबै विद्यार्थीहरू ऐक्यवद्धता एवं समर्थन जनाउन चाहन्छौँ ।

सरकारसँग भएका विभिन्न सम्झौताहरूको उल्लङ्गघन, यसको कार्यन्वयनको ढिलाई भएको कुराबाट हामी पनि अछुतो छैनौँ । सरकारको यस्तै गैरजिम्मेवारीपनका कारण डा. केसी आठौँ अनसन बस्न बाध्य हुनुभएको छ । प्रा. डा. के.सी.ले उठाउनु भएका मागहरूलाई सम्बन्धित निकायले यथाशीघ्र सम्बोधन गरुन् भन्ने हामी सबै बिद्यार्थीको चाहाना हो । यो हाम्रो सानो कदम आगोको सानो झिल्को नठानियोस् । यही झिल्कोलाई उज्यालो फैलाउन प्रयोग गर्ने कि आफ्नो माथमा डढेलो लगाउने, यो जिम्मा सरकारको काँधमा छ । हाम्रा यी तमाम मागहरूप्रति वेवास्ता गर्दै सरकार गैरजिम्मेबार बनिरहे यही आगोको झिल्को डढेलोको रुप लिनसक्ने समेत चेतावनी दिन चाहन्छौँ ।

प्रा.डा. गोविन्द केसी ऐक्यबद्धता समूह

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान ।।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>