समाचारबिहीबार, आषाढ ३०, २०७३

डा केसीको जीवन रक्षा गर

सञ्जीव शर्मा

DRGKC

सबै तस्वीर: सञ्जीव शर्मा

नेपालको चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रंदै गएको छ ।

सत्याग्रही केसीले आठौं पटक शुरु गरेको अनशन पाँचौं दिनमा पुग्दा उनको पिसाबमा ‘किटोन’ र ‘एसिटोन’ देखिएको छ । छाती दुख्ने र मांसपेशी बाउँडिने समस्याका साथै रगतमा चिनीको मात्रा निकै कम भएको छ ।

“मुटुको धड्कन एक्कासी बढ्ने–घटने भइरहेको छ, अक्सिजन स्याचुरेशन घट्दो छ,” शिक्षण अस्पताल महाराजगञ्जका एमबीबीएस छात्र नारायण कंडेलले भने, “यस्तो अवस्थामा पनि माथिको आदेश भन्दै अस्पतालले सिनियर डाक्टरलाई उपचारका लागि आउनबाट रोकेको छ ।”

tuth4डा केसीका यस अघिका अनशनमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको हुन्थ्यो । उस्तै माग राखेर थालिएको आठौं पटकको अनशनमा भने उपचारका लागि रेजिडेन्ट डाक्टर र एमबीबीएसका विद्यार्थी मात्रै छन् ।

“रेजिडेन्ट दाईहरु पनि सबै ड्युटीमै हुनुहुन्छ, ड्यूटी सकेर आउनुहुन्छ,” कंडेलले भने । डा केसीले आफ्नो अनशनका कारण विरामीको उपचारमा बाधा नपुगोस भनेकाले चिकित्साशास्त्र अध्ययन् संस्थानका विद्यार्थीहरुले पठनपाठन बन्द गरे पनि विरामी जाँच्न भने छाडेका छैनन ।

अस्पताल प्रशासन र डिनको कार्यालयले ‘माथिको आदेश’ भन्दै डा. केसीको समर्थन नगर्न र उनको उपचारमा नजान अमानवीय उर्दी जारी गरेको छ ।

अस्पताल प्रशासन र डिन कार्यालयको रवैयाको विरोधमा रेजिडेन्ट डाक्टर र अन्डरग्राजुयटहरुले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

चिकित्सा शिक्षा जस्तो मानवजीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा चुलिंदो बेथिति विरुद्ध भएका यसअघिका सातवटा अनशन सम्झौतामा टुंग्याएका केसीले ती सम्झौता कार्यान्वयन नभएपछि फेरि अनशन बस्नु परेको हो ।

त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले चिकित्सा शिक्षामा हस्तक्षेप गरी वेथितिलाई मलजल गरिरहेको भन्दै उनीमाथि महाभियोग लगाउनुपर्ने माग समेत डा. केसीले यसपटकको अनशनमा थपेका छन् । यस्तो अवस्थामा सरकार र व्यवस्थापिका–संसदको अनुदार व्यवहारले केसीको जीवनमाथि थप खतरा पैदा गरेको छ ।

डा केसी अनशनरत शिक्षण अस्पताल परिषरकै मूर्दाघरमा अन्त्येष्टि हुन नसकी बेवारिसे बनेको गोरखाका नन्दप्रसाद अधिकारीको शवले पनि हाम्रो राज्य कतिहदसम्म अनुदार हुनसक्छ भन्ने पुष्टि गरेको छ ।

यसपाली चाँडै गलेका छन्, डा केसी । अस्पतालमै अनशन बसेका वरिष्ठ चिकित्सकको उपचार नगर्नु भन्ने ‘माथि’को दबाब र अस्पताल प्रशासनको रवैया झनै भयानक र अमानवीय छ । अस्पतालले डा केसीका लागि ‘बेड’ समेत नदिएपछि विद्यार्थीहरुले कबाडमा फालेको बेड र स्ट्यान्ड मर्मत गरी उपयोगमा ल्याएका छन् ।

tuthयतिबेला डा केसीका समर्थक, शुभेच्छुक आम नेपालीहरुको आँखा व्यवस्थापिका संसदतर्फ सोझिएका छन् । सबै नेपालीले सर्वसुलभ स्वास्थ्य–सेवा पाउन्, गरीबका छोराछोरीले राम्रो शिक्षा हासिल गरुन् भन्ने मानवीय भावनाबाट प्रेरित सार्वजनिक सरोकारका माग राख्दै अनशन बसेका सत्याग्रही डा केसीको जीवन रक्षाका लागि जन–प्रतिनिधिहरुले बोल्न र तदनुरुप कदम चाल्न अबेर हुन थालिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>