रिपोर्टबिहीबार, आषाढ ३०, २०७३

कोइरालाको खानपान र उपचारमा हेलचेक्र्याइँ

रामु सापकोटा

खानपान र स्वास्थ्य उपचारमा भएको हेलचेक्र्याइँले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य नाजुक बन्न पुग्यो।

कांग्रेस महामन्त्री डा. शशांक कोइराला पेट दुख्ने समस्या लिएर २१ असारमा चाबहिलस्थित ओम अस्पताल भर्ना भए। साँझ् साढे सात बजे टोखास्थित घरबाट कारमा चढेर अस्पताल पुग्दा उनीसँग थिए, स्वकीय सचिव (पीए) भरत तिवारी। तिवारीका अनुसार, पेट हल्का दुखेको, सुक्खा खोकी लागेको र श्वासप्रश्वासमा सामान्य समस्या भएपछि कोइरालालाई अस्पताल भर्ना गरेर साढे आठ बजेतिर स्लाइन चढाउनुका साथै एक डोज निद्रा लाग्ने औषधि खुवाइएको थियो। त्यसपछि उनलाई अस्पतालमै पिज्जा र जूस खुवाइएको थियो।

 भेन्टिलेटरबाट निकालिएपछि अस्पतालको आईसीयूमा उपचाररत डा. शशांक कोइराला।


भेन्टिलेटरबाट निकालिएपछि अस्पतालको आईसीयूमा उपचाररत डा. शशांक कोइराला।

‘स्लिपिङ ट्याब्लेट’ को भर
त्यो रात शशांक कोइरालाको उपचारमा संलग्न डा. दीपक पाण्डेले निद्रा लाग्ने औषधिका साथमा सामान्य एन्टिबायोटिक पनि दिइएको बताए। आठ बजे नै विशेषज्ञ चिकित्सकहरूको छुट्टी हुने भएकाले त्यतिबेला अस्पतालमा एमबीबीएसका डाक्टर र नर्सहरू मात्र थिए। पहिल्यैबाट शशांकको उपचार गरिरहेका मुटु रोग विशेषज्ञ लवनरसिंह जोशी फोनबाटै उनको अवस्थाबारे जानकारी लिएको बताउँछन्।

त्यो बेलुका डा. शशांकको अरू कुनै परीक्षण भएन। पेट दुख्ने र श्वासप्रश्वासमा समस्या लिएर अस्पताल भर्ना भएका बिरामीको एक्सरे लगायतको जाँच हुनुपर्ने चिकित्सकहरू बताउँछन्। तर, त्यसो नगरी निद्रा लाग्ने औषधि दिइएका कोइराला सहयोगीहरूसँग कुरा गर्दै बसेका थिए। त्यसबेला क्याबिनमा पीए तिवारी बाहेक अरू चार जना सहयोगी पनि आएका थिए। साढे ११ बजे अरूलाई घर पठाएर आफू र सुरज नामका कार्यकर्ता शशांकसँग बसेको तिवारी बताउँछन्। “राति दुई बजेसम्म उहाँ घुरेर सुतिरहनुभएको थियो”, उनी भन्छन्, “त्यसपछि हामी पनि सुत्यौं।”

बिहान साढे पाँच बजे क्याबिनमा पसेकी नर्सले कोइरालालाई अचेत अवस्थामा भेटेपछि वरिष्ठ चिकित्सकहरूलाई खबर गरियो। त्यसपछि भेन्टिलेटरमा राखिएको शशांकको छातीको एक्सरे गरेर हेर्दा ‘एस्पिरेसन निमोनिया’ भएको पत्ता लाग्यो। इन्टरनल भमिटिङ (मुख बाहिर नआएको वान्ता) भएर उनको श्वासनली नै बन्द भएको थियो। “वान्ता फोक्सोसम्म पुगेपछि उहाँलाई ‘एस्पिरेसन निमोनिया’ भयो”, उपचारमा संलग्न डा. जोशी भन्छन्, “त्यसबाट भित्री अंगहरूमा ‘सेप्टिक शक’ भयो।”

दुवै पक्षको हेलचेक्र्याइँ
फोक्सोबाट मुटु, कलेजो, मिर्गौला, मस्तिष्क जस्ता शरीरका प्रमुख भित्री अंगहरूसम्म संक्रमण (सेप्टिक शक) फैलाउने वान्ता पछि अचेत भएका शशांकले तत्काल उपचार पाएनन्। उनी कति बेला त्यो अवस्थामा पुगे भन्ने पनि थाहा भएन। त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहँदा शशांकलाई चिनेका ओमका नाक, कान घाँटी रोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार उनलाई ‘ग्याष्ट्राइटिस’ को समस्या पनि भएको र, त्यसै कारण पेट दुखेको थियो।डा. झाले जस्तोसुकै अवस्थामा पनि पेटमा ग्याँस भरिने समस्या हुने तर शशांकलाई के कारणले वान्ता भयो, त्यो चाहिं परीक्षण विना भन्न नसकिने बताए।

तर, कांग्रेस महामन्त्री डा. कोइरालाको उपचारमा हेलचेक्र्याइँ गरेको तत्कालीन स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सार्वजनिक नगर्नुले पुष्टि गरेको छ। कांग्रेसका नेता–कार्यकर्ताले भर्ना भएको रात उपचार नहुनुको कारण सोध्दा पनि अस्पतालले चित्तबुझदो जवाफ दिनसकेको छैन। तर कोइराला निकट स्रोतले हिमाल लाई दिएको जानकारी अनुसार घरमै अत्यधिक मद्यपान सेवनका कारण उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

Cover_1.inddडा. जोशीले अचेत भएका शशांकको पेट दुख्ने र वान्ता हुनुको कारण पत्ता लगाउने चेकजाँच गर्नेतिर नभई उनलाई बचाउनतिर लागेको बताए। उनले उपचारका क्रममा शशांकको ‘लिभर इन्जाइम’ बढेको र मिर्गौलामा पनि समस्या देखिएको बताए। चिकित्सकहरू अत्यधिक मद्यपानले ‘लिभर इन्जाइम’ बढाउने बताउँछन्। तर, शशांकको उपचारमा संलग्न डा. जोशी भर्ना भएको दिन कुनै परीक्षण नभएकोले मदिरा सेवन गरेको भन्न नसकिने बताउँछन्। तर, नाम उल्लेख गर्न नचाहने शशांकका पुराना चिकित्सक साथी भन्छन्, “एस्पिरेस्नल निमोनिया र लिभर इन्जाइमको कारण अत्यधिक मद्यपान हो। उनले खानपानमा हेलचेक्र्याइँ गर्दा यो समस्या निम्तियो।”

अस्पतालका अनुसार, शशांक बेहोश भएपछिको उपचारका क्रममा मेरोमपेनम, क्लिन्डामाइसिन, टिल्लोपाल्नामिन जस्ता ‘ब्लड स्केप्टिक’ एन्टिबायोटिक औषधिहरू चलाइयो। त्यसक्रममा ‘क्रिटिकल केयर’ का नरएड्रिनलिन, भेजोप्रसेसिन, डोपामिन जस्ता औषधिहरू पनि चलाउनु परेको थियो। श्वासप्रश्वास सुधार्न आस्थालिन नेबुलाइजर पनि दिएको डा. जोशीले बताए। उनका अनुसार, शशांकको मुटुलाई चलायमान बनाउन कार्डियो पल्मुनरी रिजस्सिटेशन (सीपीआर), इनोट्रोपिक भेसोप्रेसर सपोर्ट र थेरापेटिक हाइपोथर्मिया (शरीरलाई चिस्याएर गरिने उपचार) विधिका साथ कडा संक्रमणबाट जोगाउने ब्रोडस्पेक्ट्रम एन्टिबायोटिक औषधि पनि दिइयो।

विशेषज्ञ चिकित्सकहरूको निरन्तर प्रयासपछि करीब ३४ घण्टापछि २३ असारको अपराह्नमा शशांक होशमा आए। अस्पतालद्वारा २४ असार साँझ् ६ बजे जारी विज्ञप्तिमा भेन्टिलेटरबाट निकालिएका उनको स्वास्थ्यमा सुधार आए पनि खतरामुक्त भइनसकेको जनाइएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>